• २०८१ बैशाख ७ शुक्रबार

सरकारी स्रोत दुरुपयोग गरेको अभियोगमा मुद्दा

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका व्यक्तिको नाममा गलत कागजात बनाई सरकारबाट प्राप्त राहत रकम दिलाउन सहयोग गरेको अभियोगमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

तत्कालीन बदालकोट गाविस सचिव पदमा कार्यरत हाल दैलेख भैरवी गाँउपालिका–३ को वडा सचिव खरिदार गणेशप्रसाद रिजाल र गलत कागजात बनाई सरकारी राहत रकम लिने स्थानीय कुलबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

हाल खाडाचक्र नगरपालिका ११ बस्ने शाहीले एकै व्यक्ति निजको छोरी किस्मताकुमारी शाहीको विगत द्वन्द्वकालमा मृत्यु भएकोमा फरक फरक नामबाट सिफारिश बनाई राहत लिएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार शाहीलाई मृतक र सुनिता शाहीलाई बेपत्ता नागरिक भनी एकै व्यक्तिलाई दुई जना बनाएर झुठ्ठा नाता प्रमाणित गरी राहत रकम लिएको पाइएको छ । 

गलत कागजात बनाउन तत्कालीन गाविस सचिव रिजालको हात रहेको पाइएको आयोगले जनाएको छ । आयोगले  आरोपीद्वयलाई रु दश लाख बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई रु नौ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

सडक स्तरोन्नतिका लागि सम्झौता भई काम शुरु गर्नका लागि पेश्की निकासा गरेबापत जीएसआर निर्माण सेवा कास्कीका सञ्चालकसँग घुस माग्दै गरेको अवस्थामा डिभिजन सडक कार्यालयको सरकारी निवासबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुलाई बिहीबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । आरोपीहरुको अनुसन्धान भइरहेको छ । यस्तै आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई रु छ लाख ७५ हजार घुससहित पक्राउ गरिएको छ ।

सो विश्वविद्यालयअन्तर्गत काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्यामा समाधान गरिदिने भन्दै घुस माग्दै गरेको अवस्थामा आयोगले शेर्पा मलबाट पक्राउ गरेको हो । आरोपी कोइरालालाई बिहीबार पक्राउ गरिएको आयोगले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै