• २०८१ बैशाख ५ बुधबार

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग

kharibot

काठमाडौँ । धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज सिंहदरबारमा भएको छलफलमा उनीहरुले मुआब्जा निर्धारण भएको क्षेत्रका वितरण प्रक्रियालाई तीव्र पार्न आग्रह गरेका थिए । 

धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । स्थानीयवासीको माग र सरकारले उपलब्ध गराउने मुआब्जाको विषयमा तालमेल हुन नसक्दा जिल्ला प्रशासन कार्यालयले मुआब्जा तोक्न सकेको छैन । 

धादिङ र गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले मुआब्जा निर्धारण गरिसकेको भए पनि सार्वजनिक हुन सकेको छैन । यस्तै निर्धारण भएको क्षेत्रको समेत वितरण प्रक्रियाले गति लिन सकेको छैन । 

पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा बाबुराम भट्टराई, सांसद हरिराज अधिकारी, राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डे, प्रदेशसभा सदस्य जगत सिंखडालगायतले मन्त्री पुनको ध्यानकर्षण गराएका थिए । उनीहरुको ध्यानाकर्षण पछि मन्त्री पुनले मुआब्जा निर्धारण गर्ने विषयमा मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए ।

विगतमा पनि मन्त्रालयले नै सहजीकरण गरेर मुआब्जा निर्धारण र वितरणको काम भएको स्मरण गर्दै मन्त्री पुनले आयोजना प्रभावित क्षेत्रको निर्धारण हुन बाँकी क्षेत्रमा जति सक्दो चाँडो निर्धारण गर्ने प्रयत्न जारी रहेको उल्लेख गरे । 

मन्त्रालयका सहसचिव एवम् आयोजनाका लागि मन्त्रालयका ‘फोकल पर्सन’ दिलीपकुमार सडौलाले आयोजनाको समग्र विषयमा छलफल भएको जानकारी दिँदै मुआब्जा निर्धारणको प्रक्रिया र विधिका बारेमा तत्काल आवश्यक निर्णय गर्नेमा मन्त्रालय तयार रहेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै