• २०८१ बैशाख ८ शनिबार

तलब नपाएर अलपत्र शोभाको यूएईबाट उद्धार

kharibot

भद्रपुर । वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनासम्म तलब नपाएर संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र झापा कनकाई नगरपालिका–४ सुरुङ्गाकी शोभा न्यौपानेको उद्धार गरिएको छ । न्यौपाने आज स्वदेश आइपुग्नु भएको छ ।

यूएईको उत्तरी राज्य रासलखेमामा स्थित रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत ३४ वर्षीया न्यौपानेलाई झापाली समाज यूएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो । उनी काठमाडौँ आइपुग्नु भएको उनका पति दिलबहादुरले जानकारी दिए । 

उनी कार्यरत कम्पनीले तलब सुविधा रोकेको र अलपत्र बनाएको बारेमा पतिले झापाली समाज यूएईलाई जानकारी गराएपछि अबुधाबीस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको झापाली समाज यूएईमा आवद्ध रामप्रसाद ढुङ्गेलले टेलिफोन सम्पर्कमा बताए । 

पीडित न्यौपाने एक वर्षअघि काठमाडौँस्थित पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि नामक म्यानपावर कम्पनीमार्फत क्लिनरको काममा यूएई जानुभएको थियो । आफू कार्यरत कम्पनीले तलब नदिएर अलपत्र बनाएपछि उहाँले अर्को कम्पनीमा कार्यरत झापाली दिदीबहिनीसँग र दूतावासमा शरण लिएकी थिइन् ।

ढुङ्गेलका अनुसार नेपाली दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाएर न्यौपानेलाई नेपाल पठाएको र त्यस प्रक्रियामा आवश्यक पर्ने १५ सय दिराम (करिब ४५ हजार रुपैयाँ) सम्बन्धित म्यानपावर कम्पनीलाई व्यहोर्न लगाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै