काठमाडौँ । इङलिश प्रिमियर लिग शुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई सजिलै पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले नर्विचमाथि ४-१ को जित हासिल गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाह, भार्गिल भान डाइक र डिभोक ओरिगीले एक एक गोल गरेका थिए भने एक गोल नर्विचका ग्रान्ट हानलेले आत्मघाती गोल गरेका थिए । त्यस्तै नर्विचका लागि एक गोल टीमु पुक्कीले गरेका थिए ।
लिभरपुलले खेल जितेपनि आफ्ना ब्राजिलियन गोलकिपरलाई इन्जुरीका कारण केहि समयक लागि भने गुमाएको छ । गोलकिपर एलिसन घाइते भएपछि खेलको ३९औ मिनेटमा मैदान छोडेका थिए । उनले अगष्ट १४ मा हुने चेल्सीविरुद्धको युइएफए सुपर कपको फाइनल गुमाउने भएका छन् ।
त्यस्तै प्रिमियर लिगको इतिहासमा दोस्रो पटक पहिलो गोल आत्मघाती गोल भएको छ । यस अघि सन् २०१५-१६ मा प्रिमियर लिगको पहिलो गोल कीले वाल्करले हानेका थिए । यस खेलमा पनि खेलको सातौ मिनेटमा नर्विचका हानेलले आत्मघाती गोल गर्दै यस सिजनको पहिलो गोल गरेका थिए ।