काठमाडौँ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादलाई अफगानिस्तान क्रिकेट बोर्डले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तानको क्रिकेट बोर्डले शनिबार शाहजादले बोर्डको खेलाडी आचारसंहिता उलंघन गरेको आरोप लगाउदै राष्ट्रिय टिमको कन्ट्रयाकबाट अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
बोर्डले बोर्डको नियम अनुसार कुनै पनि खेलाडी देश बाहिर जादा बोर्डको अनुमति लिनुपर्नेमा शाहजादले सो नियम उलंघन गरेको आरोप लगाएको छ ।
साथै बोर्डले शाहजादले बोर्डको नियम उलंघन गरेको पहिलो पटक नभएको बताउदै यस अघि पनि पटक पटक नियम उलंघन गरेको बताएको छ । ३२ बर्षिय शाहजादले अघिल्लो महिना विश्वकपको घटना सम्बन्धमा बोर्डको अनुशासन समितिले बयानका लागि बोलाउदा समेत उनी अनुपस्थित भएको जनाएको छ ।
शाहजादलाई विश्वकपकै बीचमा इन्जुरी भएको भन्दै देश फर्काएको थियो । तर अफगानिस्तान आएपछि शाहजादले आफु फिट भएको तर बोर्डले जबर्जस्ती इन्जुरी भएको भन्दै टिमबाट बाहिर निकालेको आरोप लगाएका थिए ।