• २०८१ बैशाख ४ मंगलबार

अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व आयोजना

kharibot

लमजुङ । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व (वाटरफल फेस्टिबल) २०७६ सञ्चालन गरेको छ ।

शनिबार महोत्सव हामखोला व्यवस्थापन समिति भुलभुलेद्वारा सो पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा सो पर्व (फेस्टिबल) को आयोजना गरिएको हो । 

यस पर्वको उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस महोत्सवले गाउँपालिकासँगै पूरै जिल्लाको प्रचारप्रसार भएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

आगामी दिनमा यस झरनालाई थप व्यवस्थित बनाउँदै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको उनको भनाइ छ । गाउँपालिकाभित्र अन्नपूर्ण पदमार्ग रहेकाले पनि बाह्य तथा आन्तरिक पर्यटक आउने हुँदा विभिन्न पर्यटकीयस्थल निर्माण गर्ने उनले बताए । हामखोला झरना महोत्सव उपसमितिका संयोजक प्रमोद घलेले भने, “भम्रण वर्ष सफल बनाउन र पर्यटकीय सम्भावना गाउँपालिकाका रुपमा चिनाउनका लागि सो महोत्सव आयोजना गरिएको छ ।” गाउँपालिकाको रु एक लाख सहयोगमा यस महोत्सव आयोजना गरिएको समितिका सचिव रवि थापाले बताए । 

महोत्सवमा डिजे डेकिङको विशेष प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारलेसमेत सांस्कृतिक प्रस्तुति देखाएको थियो । सो महोत्सव तथा झरना हेर्नका लागि जिल्ला र जिल्ला बाहिरका पर्यटककोसमेत बाक्लो उपस्थित थियो ।

करीब ७० मिटर माथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन वटा स्वीमिङ पुलसमेत बनाउन थालिएको छ । गत वर्ष गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करीब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै