कोशी टप्पुमा मरेका पशुमा प्राणघातक एन्थ्रेक्स फेला

खरीबोट

फाइल तस्बीर

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो ।

४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको जीवाणु फेला परेकाको प्रयोगशालाका प्रमुख डा सञ्जयकुमार यादवले जानकारी दिए । उनले शत्प्रतिशत एन्थे्रक्स नै भएको ल्याब परीक्षणमा देखिएको भन्दै आशङ्का निवारणका लागि मात्रै केन्द्रीय प्रयोगशालामा पठाएको बताए ।

एन्थ्रेक्सविरुद्धको खोप आफूहरुसँग नभएकाले केन्द्रमा जानकारी गराइसकिएको बताउँदै डा यादवले खोप आए पनि लगाउन जोखिम भएको जानकारी दिए । उनले भने, “भ्याक्सिन लगाउन पनि जोखिम छ । पशुमा भ्याक्सिन लगाउँदा सिरिञ्चबाट सर्छ । सुई लगाउनेलार्ई पनि यो जीवाणु सर्ने सम्भावना हुन्छ ।” यादवले यो जीवाणु माटोमा हुने भएकाले यसलाई पहिचान गरेर उपचार गर्न कठिन हुने भन्दै एकै पटक चारदेखि ५०० स्वास्थ्य प्राविधिकलाई परिचालन गरेर उपचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका पशु चिकित्सक डा मनोजकुमार महतोले प्रयोगशालाको प्रतिवेदन ‘पोजेटिभ’ देखिएकाले एन्थ्रेक्सको थप पुष्टिका लागि मरेका चौपायाबाट सङ्कलन गरिएको रगतको नमूना र प्रयोगशालाको प्रतिवेदन केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाइएको जानकारी दिए ।

महतोले विराटनगरस्थित अन्वेषण केन्द्रको ल्याब क्षेत्रीय प्रयोगशालामध्ये उत्कृष्टमा पर्ने भएकाले समेत ‘पोजेटिभ’ पाइएको प्रतिवेदनको सवालमा केन्द्रीय ल्याबको आधिकारिक पुष्टिको पखाइमा रहेको बताए ।

बराहक्षेत्र नगरपालिका–९ रहेको आरक्षसँग जोडिएको घाँसेमैदानमा एकसाथ २८ गाई र १६ वटा गोरु मृत भेटिएपछि पशु चिकित्सकले यसअघि नै मरेका चौपायामा एन्थ्रेक्स रोगको सङ्क्रमण रहेको आशङ्का गरिएको थियो । आरक्षभित्रको जङ्गल क्षेत्रमा एन्थ्रेक्सको जीवाणु भेटिएसँगै अर्नासहितका संरक्षित जनावरको अस्तित्वसमेत सङ्कटमा पर्ने देखिएको छ ।

एन्थ्रेक्सको जीवाणु माटोमा लामो समयसम्म रहने भएकाले समेत जोखिम थप बढ्दो अवस्थामा पुगेको चिकित्सकको भनाइ छ । घाँस खाने क्रममा झारपातको तल्लो भागसम्म खाने पशु तथा जनावरमा सङ्क्रमण फैलिने सम्भावना प्रबल रहने डा महतोले बताए । घाँससँगै माटो खाँदा त्यसमा रहेको जीवाणु शरीरमा प्रवेश गरी फैलिने र जनावरको तत्काल मृत्यु हुने महतोले जानकारी दिए । 

पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुुख, कान र मलद्वारबाट रगत निस्कने गर्छ । डा महतोका अनुसार केही पशुमा भने सङ्क्रमणपश्चात् तापक्रम बढ्ने तथा र्याल निस्कने हुन्छ । एन्थ्रेक्स आरक्षका जनावरसँगै आसपासका बस्तीका मानिस तथा चौपाया चराउन आरक्ष पुग्ने गोठालाहरुसमेत प्रभावित हुने देखिएको छ । पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार जनावरमा जमीनको माटोयुक्त घाँस खाने क्रममा जीवाणु फैलन्छ भने मानवमा श्वास लिँदा नाकबाट र सागपात तथा फलफूल खाँदा जीवाणु सहजै मावन शरीरमा पुग्ने गर्छ । 

रोगका बारेमा बेलैमा जानकारी नहुँदा र उपचार छिटो नभए रोगले ज्यानसमेत लिन सक्ने पशु चिकित्सक महतोले बताए । पशु सेवा विज्ञ केन्द्र इनरुवाका अनुसार आरक्ष क्षेत्रमा पशुलाई भ्याक्सिन लगाउने तयारी शुरु गरिएको छ । थप चिकित्सकसहितको टोेली आइतबार सुनसरी आइपुग्नेछ । कार्यालयले आरक्षमा खुला चरिचरन नगराउन भनेको छ । जीवाणु नष्ट गर्र्न उचित मात्रामा औषधि छर्कनेदेखि सो क्षेत्रको चरन जलाउनु पर्नेसम्मको अवस्था आउन सक्ने बताएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले अहिलेसम्म औपचारिक रुपमा पशु मर्नाका कारण एन्थ्रेक्स नै भएको जानकारी प्राप्त नभएको बताउँदै आधिकारिक जानकारी आएपछि नियन्त्रण र उपचारका लागि आरक्षको सम्पूर्ण टोली परिचालन गर्ने बताए । उनले एन्थ्रेक्स भएको हो भने त्यसले आरक्षमा संरक्षित जनावरसँगै मध्यवर्ती क्षेत्रका पशु र मानवका लागि पनि खतरा हुने भन्दै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 

प्रजिअ कृष्णबहादुर राउतले आरक्ष छेउमा मरेका पशुमा एन्थ्रेक्सको जीवाणु देखिएको जानकारी प्राप्त भएको बताउँदै त्यसलाई नियन्त्रण गरेर थप क्षति हुन नदिन आसपासका स्थानीय तह, पशु चिकित्सक र सरोकारवालाहरुलाई समेटेर सचेतनासहित नियन्त्रणका सबैखाले उपचारका लागि परिचालनको तयारी भइरहेको जानकारी दिए ।
–––
 

सम्बन्धित समाचार

कोशी टप्पुमा 'एन्थ्रेक्स' पुष्टि भएपछि सावधानीको प्रयास

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा ‘एन्थ्रेक्स’ को जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई सूचीत गरेको छ  । बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बरको सिमानामा पर्ने आरक्षसँगै

कोशी टप्पुमा मरेका पशुमा प्राणघातक एन्थ्रेक्स फेला

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो

इनरुवा ।  अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ ।  सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना


z