• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसले सहमतिमै संघीय तहहरुमा अन्तरिम संरचना बनाउने

kharibot

काठमाडौं । नेपाली काँग्रेसले सहमतिकै आधारमा संघीय तहहरुमा अन्तरिम संरचना बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पास गरेको छ । 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ ।'   

काँग्रेसले देश संघियतामा गएको लामो समयपछि संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना निर्माण गर्न थालेको हो ।

एक काँग्रेस केन्द्रीय सदस्यका नुसार अहिले एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन्, यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुने छ ।

त्यस्तै स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।

यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चयन गर्ने सहमति भएको छ । आजको बैठकले आगामी भदौ २० सम्म अन्तरिम संरचना बनाइसक्ने निर्णय गरेको समेत बताइएको छ ।

काँग्रेसले आगामी भदौ २४ गते देखि दोस्रो चरणको जागरण अभियान संचालन गर्न लागेको छ ।

आजको बैठकले इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा शुभकामना प्रकट गरेको छ भने विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यस्तै काँग्रेस बैठकले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठक गहिरो दुःख व्यक्त गरेको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले ले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै