• २०८१ बैशाख ८ शनिबार

हुवावेले गूगललाई दियो झट्का, अपरेटिङ सिस्टम हार्मोनी सार्वजनिक 

kharibot

चीन । निकै लामो समयदेखि चर्चामा रहेको हुवावेको अपरेटिङ सिस्टम (ओएस) सार्वजनिक भएको छ । कम्पनीले चीनमा होङमेङ नामको ओएस सार्वजनिक गरेको हो ।

यसको ग्लोबल भर्जनको नाम भने हार्मोनी ओएस राखिएको छ । नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्ने कार्यक्रममा कम्पनीका कार्यकारी अधिकृत रिचर्ड यूले भने, ‘अपरेटिङ सिस्टम स्मार्टफोन, स्मार्ट स्पीकर तथा सेन्सरमा पनि प्रयोगयोग्य छ । यो इन्टरनेट अफ थिङ्सकै एक अंश हो ।’

सबैभन्दा पहिला स्मार्टस्क्रिन प्रोडक्टको लागि उपलब्ध हुने 

हार्मोनी अपरेटिङ सिस्टम सबैभन्दा पहिला स्मार्ट स्क्रिन प्रोडक्ट जस्तै, टीभी, स्मार्टफोन आदिमा प्रयोग गरिनेछ । आगामी तीन वर्षमा कम्पनीले अन्य डिभाइस जस्तै, वेयरेबल र कार हेड युनिटको लागि पनि ओएस उपलब्ध गराउने बताएको छ । कम्पनीले यो ओएस हाल चीनमा मात्रै सार्वजनिक गरेको छ । आगामी दिनमा विश्वभर यो ओएस सार्वजनिक गर्ने कम्पनीको उद्देश्य छ । 

एप डेभलपरहरुलाई लोभ्याउँदै कम्पनी 

हुवावेको हार्मोनी ओएस ओपन सोर्स हो । अर्थात् विश्वका कुनै पनि स्मार्टफोन कम्पनीले यो अपरेटिङ सिस्टमको प्रयोग गर्न सक्छन् । हुवावेले यो ओएसलाई आफ्नो सोर्सको रुपमा उपलब्ध गराउँदै विश्वभरका एप डेभलपरहरुलाई ओएसका लागि कम्प्याटिबल एप बनाउन पनि प्रेरित गर्ने भएको छ ।

अपरेटिङ सिस्टमलाई सफल बनाउन धेरैभन्दा धेरै कम्प्याटिबल एपको आवश्यकता पर्ने भएकाले यसका लागि आफूले खुला रुपमा डेभलपरहरुलाई आह्वान गरेको हुवावेको भनाइ छ । 

साना हार्डवेयर भएका डिभाइसमा पनि काम गर्ने 

रिचर्ड यूका अनुसार विश्वभर सबैभन्दा बढी प्रयोग गरिने एन्ड्रोइड र आई ओएस धेरै मात्रामा इन्टरनेटमा कनेक्ट हुने डिभाइसलाई सपोर्ट गर्दैनन् । तर, हार्मोनी ओएस निर्माणको उद्देश्य सिंगल सफ्टवेयर क्रिएट गर्नु पनि हो । धेरै मेमोरी र पावर भएका स्मार्टफोन, ल्यापटपका साथै अन्य साना हार्डवेयर प्रयोग हुने डिभाइसमा पनि काम गर्नका लागि हार्मोनीको निर्माण गरिएको बताइएको छ ।

ओएसमा स्विच गर्न निकै सहज 

कम्पनीका सीईओ यूका अनुसार हुवावेले आफ्नो ओएस स्मार्टफोन र ल्यापटपहरुका लागि यो ओएस चीनमा यो वर्षको अन्त्यसम्म सार्वजनिक गर्नेछन् । त्यस्तै, विश्वबजारमा भने यो ओएस सन् २०२० को मध्यसम्ममा सार्वजनिक गर्ने कम्पनीको योजना छ । 

तर, गूगलको एन्ड्रोइड र माइक्रोसफ्टको विन्डोज आफूले नपाएको अवस्थामा मात्रै उक्त ओएस प्रयोगमा ल्याइने हुवावेको भनाइ छ । 
हुवावेको स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टमलाई नै प्राथमिकता दिने यूको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै