• २०८१ बैशाख ४ मंगलबार

टोपी (लघुकथा)

kharibot

लेखक : रवीन्द्र तिमसेना

“अर्काको शिरको टोपी अनुमति नलिई झिक्न हुँदैन भन्छन्, मैले त झिकेँ,” यति भनेर जेन्टलम्यानले काशीलालले लगाएको टोपी निकाले । उनले आफ्नो ह्याट खोलेर काशीलाललाई दिए र काशीलालको टोपी आफुले लगाए । काशीलाल अक्क न बक्क भएर ती जेन्टलम्यानको ह्याट समातेर उभिइरह्यो । जेन्टलम्यानले गोजीबाट मोबाइल झिकेर तीनचारवटा सेल्फी खिचे । 

“ल्याउनुहोस्, म खिच्दिन्छु,” काशीलालले बफादार बन्न खोज्दै जेन्टलम्यानको मोबाइल माग्यो । “अरे चलेगा यार,” जेन्टलम्यानले आभारयुक्त शैलीमा काशीलाललाई हिन्दीमा जबाफ फर्काए । “ल यार तिम्रो टोपी तिमी नै लगाऊ,” जेन्टलम्यानले काशीलालको टोपी अघिकै जसरी उसको टाउकोमा घुसारिदिए र भने, “यो टोपीमा त तिमी दुलाहाजस्तै देखिन्छौ यार ।” तारिफ सुनेर काशीलाल खुसी भयो र नाक फुलायो । जेन्टलम्यानले काशीलालको हातबाट आफ्नो ह्याट ताने र टाउकोमा उनेर आफ्नो बाटो लागे ।

एकैछिनमा ती जेन्टलम्यानले टोपीको महत्व देशको राष्ट्रियतासँग जोडिएको उल्लेख गर्दै अघिको सेल्फीसहित टोपी दिवसको शुभकामना सामाजिक सञ्जालमा पोस्ट गरे । जेन्टलम्यानलाई आएका लाइक र कमेन्ट देखेर काशीलाल खुसीले गदगद भयो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै