• २०८१ बैशाख ७ शुक्रबार

नेकपाको सचिवालय बैठक बुधबार बस्ने : स्कुल बिभाग अझै विवादमा

kharibot

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको लागि तोकिएको बैठक बुधबारका लागि सारिएको छ ।

पार्टी एकताको प्रक्रिया टुंगाउने क्रममा नेकपामा अहिले पार्टीका विभागको नेतृत्वको विषय टुंगाउन बाँकी रहेको छ । यसअघि साउन १३ गते बसेको बैठक आज बस्ने गरि बिना निष्कर्ष सकिएको थियो । 

यस बिचमा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्किएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि दुबईको छोटो निजि भ्रमण गरेर फर्किएका छन् ।   

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले छलफलका लागि भन्दै बैठक बुधबारका लागि सारेका हुन् । प्रधानमन्त्रीले विशेष गरि विभागको नेतृत्वका बारेमा जिम्मेवारी दिने विषयमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरुसँग छलफल समेत गरिरहेका छन् । 

नेकपाका ३३ मध्ये १८  पूर्वएमाले र  १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि अन्य विभागको नेतृत्वपनि निर्णय गरिएको छैन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादले पटक पटक बसेका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन् 

को को छन् दाबेदार ?

नेकपाको विचारको नेतृत्व गर्ने स्कुल बिभागमा अहिले प्रमुख रुपमा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल तथा हाल पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबेदारी रहेको छ । पोखरेल र श्रेष्ठको दाबेदारी सतहमा आएपछि अब स्कुल बिभागमा घनश्याम भुसाल, बेदुराम भुसाल, झलनाथ खनाल युवराज ज्ञवालीलगायतका नेताहरुले पनि आफ्नो दाबेदारी पेश गरेका छन् ।

सार्वजनिक रुपमा पोखरेल र श्रेष्ठले आफ्नो दाबेदारीका विषयमा कुरा नगरेपनि पछिल्लो सचिवालय बैठकमा दुवैले आफुले स्कुल बिभाग पाउनु पर्ने दाबि गरेका थिए ।

के हो स्कुल बिभाग ? 

नेकपामा स्कुल विभाग एउटा महत्वपूर्ण बिभाग मानिन्छ । अझ अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले यसको महत्व झन् बढेको छ । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिने र आम कार्यकर्ता तह सम्म पार्टीको विचार स्पष्ट गर्ने महत्वपूर्ण काम यस बिभागले गर्दछ । 

नेकपाको नियमावलीमा विभागका पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने गरी ७ काम तोकिएको छ ।

त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभाग जिम्मेवारीमा रहेको छ ।

किन भयो विवाद ?

अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले स्कुल विभागमा विवाद देखिएको हो । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । अर्को पक्षबाट विश्लेषण गर्दा अहिले नेकपाभित्रको शक्ति संघर्षको परिणाम पनि हो स्कुल बिभाग विवाद ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहेका इश्वर पोखरेल मदन भण्डारीको जनताको बहुदलीय जनवादको खुला रुपमा नै वकालत गर्दै आएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको समेत साथ रहेको छ । पोखरेलले खुला रुपमा बहुदली जनवादको वकालत गरेकोले तत्कालिन माओवादी समुह उनलाई अहिले कुनै पनि हालतमा स्कुल बिभागमा ल्याउन नहुने अडानमा रहेको छ ।

पार्टी एकता हुदा जनताको जनवादको लाइनमा अगाडी बढ्ने सहमति भएकाले पार्टिको वैचारिक कार्यदिशा सोहि अनुसार हुनुपर्ने अडानमा खासगरी पुर्व माओवादी र पुर्व एमालेका माधव नेपाल पक्षधर रहेको देखिन्छ । अहिले नेकपामा अध्यक्ष ओलीको विपक्षमा रहेका नेताहरुले स्कुल बिभागलाई प्रतिष्ठाको विषय बनाएर आफ्नो पक्षमा पार्ने रणनिति समेत बनाएको घटनाक्रमले देखाएको छ ।

यसलाई दिर्घकालमा पार्टी कब्जा गर्ने रणनीतिका रुपमा पनि प्रचण्ड र नेपाल इतरका नेतारुले लिएको नेकपाका नेताले खरीबोटलाई बताए । उनले एक किसिमले यो सामान्य विवाद देखिए पनि दिर्घकालमा पार्टीको वैचारिक लाइन तय गर्न स्कुल बिभागको भूमिका दुवै पक्षले बुझेकाले अहिले विवाद सतहमा आएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै