• २०८१ बैशाख ८ शनिबार

चीन र इथियोपियाबीच ३० करोड डलरको औद्योगिक क्षेत्र निर्माणका लागि सहमति

kharibot

फाइल तस्वीर

इथियोपिया । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ ।

इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए ।

लिऊका अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक रकममध्ये ८५ प्रतिशत चीनले इथियोपियालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । बाँकी १५ प्रतिशत इथियोपिया सरकारले व्यहोर्ने छ ।

यस औद्योगिक क्षेत्रमा खासगरी विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने कारखाना रहनेछन् । लिऊका अनुसार जमिनको व्यवस्था गर्ने तथा लगानीसँग सम्बन्धित कार्यविधि टुङ्गो लागिसकेको छ ।

अदामा शहरमा यो दोस्रो औद्योगिक क्षेत्र हो । चिनियाँ लगानी र दक्षता प्रयोग भइरहेको अदामा पछिल्ला केही वर्षदेखि प्रमुख व्यापारिक केन्द्र बन्दै गएको छ ।

अदामा शहरमा यसअघि निर्माण गरिएको पहिलो औद्योगिक क्षेत्र पनि चिनियाँ सहयोगमै तयार भएको हो । इथियोपियाली प्रधानमन्त्री अबिए अहमदले गत वर्ष अक्टोबरमा यस औद्योगिक क्षेत्रको उदघाटन गरेका थिए । यो औद्योगिक क्षेत्र १४ करोड ६० लाख डलरको लागतमा निर्माण भएको थियो ।

हाल निर्माणको क्रममा रहेको दोस्रो औद्योगिक क्षेत्र करिब १०० हेक्टरमा फैलिएको छ । यस औद्योगिक क्षेत्रमा करिब २५ हजार इथियोपियाली नागरिकले रोजगारी प्राप्त गर्न सक्नेछन् । सन् २०२५ सम्ममा इथियोपियालाई औद्योगिक राष्ट्र बनाउने अभियानलाई यस परियोजनाले ठूलो मद्दत गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै