• २०८१ बैशाख १३ बिहीबार

बैतडीमा मुहान क्षतिग्रस्त भएपछि खानेपानी अभाव

kharibot

बैतडी । बाढीपहिराले खानेपानी वितरण गरिने पाइप बगाउँदा बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पिउने पानीको समस्या भएको छ ।

पानी वितरण गर्ने पाइप लाइन र मुहान पहिराले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको हो । खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन् । “खोलाको धमिलो पानी पिउनुपरेको छ”, स्थानीयवासी प्रेम बोहराले भने, “बाढीपहिराले पानीको मुहान बगाएकाले पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले पहिरोपीडितलाई सताएको उनको भनाइ छ ।

“पहिराले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको हो”, स्थानीय भानबहादुर बोहराले भने, “आधा घण्टाको दूरीमा रहेको खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । खोलाबाट ल्याएको पानी पिउनाले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको छ ।”

पहिराले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन् । पहिराले करिब १० वटा पानी घट्टको कुलो बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन् । सतबाँझ श्रीभावर सडकअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकले ६ घरपरिवारलाई विस्थापित गरेको छ भने २५ परिवार पहिरोको जोखिममा छन् ।

पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिराको उच्च जोखिममा रहेका पाँच परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

घर नजिकै सडक भत्किँदा पहिरो खसेपछि उच्च जोखिममा रहेका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका– ८ का अध्यक्ष आनन्दसिंह बोहराले बताए ।

अध्यक्ष बोहराका अनुसार सुर्नयाकै वडा नम्बर ६ मा रहेको शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो । अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बोहराले जानकारी दिए । 

सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकमा पहिरा खस्दा २३ परिवार अझै जोखिममा रहेका वडाध्यक्ष बोहराले बताए । भिरालो जमीन भएकाले सडकमा खनिएको माटो र पहिराका कारण बस्तीमा समस्या निम्त्याएको हो । पानी पर्ने बित्तिकै फेरि क्षति पुग्ने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराको भनाइ छ । पहिराले स्थानीयवासीको खेतबारीमा नोक्सानी पु¥याएको छ ।

पहिरापीडितलाई राहत वितरण

पहिरापीडित बैतडीको सुर्नया गाउँपालिका–८ को मल्लोढोलेका स्थानीयवासीलाई आइतबार राहत वितरण गरिएको छ । सडकबाट खसेको पहिराले विस्थापित भएका पाँच परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले तत्कालिक राहत वितरण गरेको हो । 

अम्मरसिंह बोहरा, धौलसिंह बोहरा, लालबहादुर बोहरा, महावीर बोहरा र डम्मर बोहराको परिवारलाई राहत वितरण गरिएको  रेडक्रस बैतडीका मन्त्री रमेश भण्डारीले जानकारी दिए । प्रभावित परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडालगायत गैरखाद्य राहत वितरण गरिएको हो ।

पहिराले घरमा क्षति पु¥याएपछि पाँचै परिवार अहिले छिमेकीको घरमा बसिरहेका छन् । पहिराबाट रमेश बोहराको परिवार पनि प्रभावित भएकाले उहाँको परिवारलाई पनि राहतका लागि पहल गर्ने रेडक्रस बैतडीले जनाएको छ । 

यसैबीच पहिरा प्रभावित मल्लोढोलेमा गाउँपालिका, प्रहरी र रेडक्रसको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ । सतबाँझ–श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्मको सडकका कारण खसेको पहिराले ६ परिवारलाई विस्थापित गरेको र अन्य २३ भन्दा बढी परिवार पहिराको जोखिममा रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । सडककै कारण ६ परिवार प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने अध्यक्ष विष्टको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै