• २०८१ बैशाख ६ बिहीबार

फेरी साधारण सभा स्थगितपछि मर्माहित भयौं – रेडक्रस सोसाइटी 

kharibot

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी साउन २८ बिहान ९ बजेदेखि काभ्रेपलाञ्चोक, बनेपास्थित नेरेसोको तालिम केन्द्रमा बस्ने गरी बोलाइएको केन्द्रीय बार्षिक साधारण सभाको कार्यक्रम अकस्मात स्थगित गर्नुपर्दा सोसाइटीको सिँगो परिवार मर्माहित भएको जनाएको छ ।  

सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको नेरेसोको सर्वोच्च निकायको रूपमा रहेको महाधिवेशन र बार्षिक साधारण सभा श्रृंखलाबद्ध रूपले स्थगन भएको बताउदै रेडक्रस सोसाइटीले यसअघि पनि देशभरका रेडक्रसकर्मीहरू धरानमा आइसकेको अवस्थामा आकस्मिक रूपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनात्मक पत्र आइपुगी विधिसम्मत रूपले २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको ४८ औँ महाधिवेशन र निर्वाचन स्थगित गर्नु परेको बताएको छ । 

संस्थाको बार्षिक बजेट तथा कार्यक्रम, रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने गरी आयोजित वार्षिक साधारण सभा  रोकिनु पर्ने अवस्था आश्चर्यजनक भएको बताएको छ । 

संस्थाको नियमित महाधिवेशनले गरेको विधानको १७ औं संशोधनलाई ठाडो निर्देशनमार्फत् संशोधनको प्रयत्न हुनु, नियमित गर्नु पर्ने जिल्ला र प्रदेश तहका निर्वाचनहरू स्थगित हुन पुग्नु जस्ता अवस्थामा २०७५ फागुन १८ र १९ गते केन्द्रीय सभाको विशेष महाधिवेशन आयोजना गरी वैधानिक तवरबाट नै हामीले उपयुक्त निकास लिएका थियौँ भन्दै नेपाल सरकारको निकायले स्वामित्व लिएको विधानलाई अपनत्व ग्रहण गरी कार्यान्वयनतर्फ लम्केका बेला फेरी साधारण सभा स्थगित भएको जनाएको छ ।

यस क्रममा बाधाका बीच संस्थामाथि अन्याय भएको महसुस गरेकाले कानुनी बाटो लिने निर्णय गरिएअनुसार वैधानिक माध्यमबाट निर्वाचन गराइपाउनका लागि यस अघि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दिएको र तत्पश्चात् अदालतमा सुनुवाई हुने क्रममा रहेको अवस्थामा निर्वाचित निकायलाई भंग गरी तदर्थ समिति बनाएको रेडक्रसले बताएको छ । पुनः सर्वोच्च अदालतमा पुनर्वहालीको रिट निवेदन सहित न्यायको लागि ढोका ढकढक्याएपछि अन्तरिम आदेशबमोजिम नेरेसो केन्द्रीय कार्यसमिति विधिवत ढंगले चलेको छ पहिलेकै अवस्थाबमोजिम निर्वाचित यो समितिले कार्य गरिरहेको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस पटक पठाएको निर्देशनात्मक पत्रबमोजिम २४ घण्टा भित्र साधारण सभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको साथै, संस्था दर्ता ऐनको दफा  १२ बमोजिम कारबाही किन नगर्ने भनी उल्लेख भएकोमा हामी अझबढी संवेदनशील भएको रेडक्रसले बताउदै निम्न बुदामा थप स्पष्ट गराउन चाहेको बताएको छ ।  

१. धरान र बनेपामा दुवै पटक आयोजना गर्ने गरी सम्पूर्ण तयारी भइसकेको अवस्थामा पनि हामीले संयमित भई अधिवेशन, निर्वाचन र साधारण सभा स्थगित गरेका छौँ । यसले हामी राज्यको सामान्य कानुनलाई सम्मान गरेको स्पष्ट छ ।  

२. मुलुकको सामान्य नियम र रेडक्रसको अन्तर्राष्ट्रिय प्रचलनबमोजिम चलिरहेको संस्थालाई जीवन्त राख्न नयाँ नेतृत्व चयन गर्न अपरिहार्य थियो । निर्वाचन स्थगित भए पनि विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई निरन्तरता दिन, वार्षिक साधारण सभामार्फत् कार्यक्रम वजेट पारित गरी संस्थालाई अनिर्णयको बन्धक नबनाऊनका साथै संस्थाको लागि अपरिहार्य उपयुक्त कानुनको विषयमा छलफल गर्न  यस पटकको साधारण सभा बोलाइएको थियो । यस पटक निर्वाचनको कार्यक्रम थिएन । बजेट कार्यक्रम पारित नभएसम्म प्रशासनिक तथा संस्थाको उद्देश्य बमोजिम गर्नुपर्ने राहत, उद्धार र विपद, रक्त सञ्चारलगायतको सेवा कार्यहरू प्रभावित हुने भएकोले यो साधारण सभा अत्यावश्यक थियो ।  

३. परिस्थितिको मूल्यांकन गरी नियमित हुनुपर्ने निर्वाचन हुन वाधा भएकोले बाध्यताबस वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल २०७६ चैत्रसम्मको लागि नेरेसोको विधान अनुकुल नै थप गरेका थियौँ । कार्य अवधि वाँकी रहेको कुरा स्पष्ट नै छ । 

४. संस्थाको दीर्घकालीन निकास एवं विकासको निमित्त रेडक्रस कानुन निर्माणको लागि प्रयास भैरहेको छ । ऐनमार्फत् नेपाल रेडक्रसले मान्यता र पहिचान पाउने गरी सरकारमार्फत् संसदमा कानुनको मस्यौदा लैजानको लागि प्रस्ताव पुनः पेश गरिने कार्यक्रम रहेको छ ।

५. रेडक्रस माथि निरन्तर हस्तक्षेपले कानुनी प्रश्न मात्र नउठाई गम्भीर रूपमा व्यवस्थापन र संस्थाको छविमा असर प¥याएको छ ।  समयमै कार्यक्रम योजना सक्न चुनौती छ । विपद् जुनसुकै बेला आइपर्न सक्ने भएकोले अहिलेको अलमल लामो अवधिसम्म रहनु हामी आफै, लाभग्राही र मुलुक कसैको लागि पनि हितकर छैन ।

६. उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अध्ययन भइरहेको सन्दर्भले मात्र मानवीय क्षेत्रमा सरकारको सहयोगीको भूमिकामा रहेको, नेपाल सरकारको प्रतिवद्धताबमोजिम अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको र सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको संस्थाको महत्वपूर्ण साधारण सभा फेरि स्थगित गर्नको लागि निर्देशन जारी भएकाले संस्थाले अन्याय भएको महसुस गरेको छ । र, संस्थाका नियमित गतिविधिहरू गर्न पाऊन हामीले बाध्यभई कानुनी उपचारमा फेरि जान पर्ने अवस्था आइपरेको छ । 

वार्षिक २५ लाख मानिसलाई सेवा पु¥याइरहेको र समुदायमा भिजेर मानवीय सेवामा अहोरात्र सेवा दिइरहेको र विश्वमा एउटा सफल उदाहरणीय काम गरिआएको प्रतिवद्ध समाजसेवी संस्थालाई अप्ठ्यारो परेको यस परिस्थितिमा सम्पूर्ण रेडक्रसप्रेमी नेपाली दाजुभाई, दिदीबहिनीहरू तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवाला सम्पूर्ण संघ संस्था, नागरिक समाज र सञ्चार जगतलाई यथार्थ कुराहरू मनन गर्न र मानवीय सेवाको लागि बनेको यस संस्थाको सफल जीवनको लागि नेपाल रेडक्रसले अपनाउने समन्वय र पहलमा सदा झै आवश्यक सहयोग र सदभावको प्रवर्धन गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ । 

नेपाल रेडक्रसका हाल ७ वटा प्रदेश समितिहरू, ७७ जिल्ला शाखा, १५३७ उपशाखा, ६ हजार २ सय ५५ जुनियर तथा युवा सर्कल गरी ८ हजार भन्दा वढी स्थानीय निकायहरूमा आवद्ध १० लाख ७६ हजार सदस्य तथा स्वयंसेवकहरू परिचालित भैरहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै