• २०८१ बैशाख ७ शुक्रबार

आवरणः आडम्बरको अनावरण गर्ने पुस्तक

kharibot

अर्काको टोपी लगाएर सेल्फी खिच्ने व्यक्ति सामाजिक सञ्जालमा सेल्फीसहित टोपीको महत्व देशको राष्ट्रियतासँग जोडिएको स्टाटस पोस्ट गर्दछ ।

स्वास्नीलाई घर छोड्न बाध्य पार्ने व्यक्ति स्वास्नीको फोटोसहित भ्यालेन्टाइन डेको शुभकामना पोस्ट गर्छ । छिर्के हानेर लडाउन खोज्दा खोज्दै पनि कसैले सफलता प्राप्त गरेपछि लडाउन खोज्ने व्यक्ति स्वयं बधाई दिन तम्सिन्छ । सामाजिक सञ्जालमार्फत अरूलाई बधाई र शुभकामना पोस्ट गर्दा पनि मान्छे आफ्ना नयाँ वस्त्र र आभूषण देखाउने अवसर खोजिरहेको हुन्छ ।

कथाकार रवीन्द्र तिमसेनाको हालै बजारमा आएको लघुकथा सङ्ग्रह ‘आवरण’ मार्फत यी र यस्तै मानवीय आडम्बरमाथि व्यङ्ग्यात्मक चित्रण गरिएको छ । वास्तविक सामाजिक परिवेश नियाल्ने हो भने पनि जातीय विभेदको विरोध गर्ने मान्छे छोइछिटो बार्दछ । लैङ्गिक समानताका कुरा गर्ने मान्छे चुलोचौकोमा कहिल्यै पस्दैन । अनि पितृदेवो भवः भन्दै आफ्ना वृद्ध मातापितालाई लगेर वृद्धाश्रममा राख्दछ । अर्काको घरअगाडि लगेर फोहोर फाल्ने मान्छे पनि कुचो लगाउँदै गरेको फोटोसहित ‘टोल सफा राखौँ’ भनेर सामाजिक सञ्जालमा स्टटस पोस्ट गर्दछ । आवरणमा बाँच्न रुचाउने मानवीय स्वभाव भएकोले देखावटी गर्न खोज्ने मानवीय गतिविधिका यस्ता सूची लामै बनाउन सकिन्छ ।

‘आवरण’ का लेखक तिमसेना स्वयंले पनि पुस्तकको नाम ‘आवरण’ जुराउनुपछिको कारण प्रस्तुत गर्दै लेख्छन्, “विश्वव्यापीकरण र आधुनिकतासँगै जटिल बन्दै गएको समाजमा आफूलाई दुनियाँभन्दा अब्बल रूपमा प्रस्तुत गर्न मानिसले विभिन्न यत्न गर्दछ र दुनियाँसामु असल आवरणमा प्रस्तुत हुन खोज्दछ । यसो गर्दा मान्छेको भनाइ र गराइबिच तालमेल नमिल्ने स्थिति आउँछ । व्यक्तिपिच्छे एकनास नभए पनि आवरणमा बाँच्न रुचाउने आममान्छेको स्वभाव हो ।”

समिक्षक : अर्जुन पौडेल 

त्यसैले त आवरणमा बाँच्ने रुचाउने प्रवृत्तिलाई निसाना बनाएर कथाकारले त्यस्तो प्रवृत्तिको चिरफार गरेका छन् । बिमा असुल्न हस्पिटलमा बस्न खोज्ने बिरामी, दाइजोमा लोभिने दाइजोविरोधी अभियन्ता र समावेशिताको नाममा अनावश्यक विरोध र हस्तक्षेप गर्ने प्रवृत्तिलाई मात्र होइन शारीरिक श्रम नगर्ने तर स्वास्थ्यलाई सन्तुलित राख्नका लागि भन्दै मर्निङ–वाक गर्न सहतिने, आयातित संस्कृतिको अवलम्बन गर्ने तर मौलिक संस्कृतिबारे भाषण छाँट्ने तथा प्रतिबद्धता व्यक्त गर्ने तर पूरा गर्न चासो नदेखाउने राजनीतिक प्रवृत्तिमाथि पनि कथाकारले निर्मम व्यङ्य गरेका छन् । 

पाठकलाई अन्त्यसम्म कौतूहलमा राखेर कथाको व्यङ्ग्य र सन्देशबारे पाठकलाई झ्वाट्ट थाहा दिएर एकछिन सोच्न बाध्य तुल्याउने कुरामा लेखक साँच्चै नै सफल भएका छन् । जस्तो कि नियति शीर्षकको कथाको पात्र फेक इन्काउन्टरमा मारिएको कुरा पाठकले कथाको अन्त्यमा मात्र थाहा पाउँछन् । यही शैलीमार्फत योजना शीर्षकको कथामा आपूm केही नगर्ने र अरूको प्रगतिमा जल्ने एक जना पात्रलाई व्यङ्ग्य गरिएको छ । अनिकाल शीर्षकको कथामा एउटी आमाको ममतालाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ भने श्रद्धा शीर्षकको कथामार्पmत पनि आफ्ना जन्मदातालाई बाँचुन्जेल श्रद्धा गर्नुपर्ने सन्देश दिइएको छ । 

पुस्तकमा समाविष्ट ५० ओटै कथामा चित्र समावेश गरिएकोले पुस्तक आकर्षक बन्न पुगेको छ । आकर्षक शब्द संयोजनबाट लेखकले आफ्ना लघुकथालाई भद्दा हुनबाट जोगाएका छन् । त्यसैले त कुल ५० मध्ये ४९ ओटा कथा चित्रसहित बढीमा दुई पृष्ठमा अटाएका छन् । पुस्तकको अर्को विशेषता हो, एउटै शब्दका शीर्षक । यस्ता आकर्षक शीर्षकले साँच्चै नै कथाको सुनमा सुगन्ध थपेका छन् । मकालु प्रकाशन गृहले प्रकाशन गरेको ११२ पृष्ठको यस पुस्तकको मूल्य १७५ रुपियाँ रहेको छ । 

पुस्तकमा शुभकामना दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नै लेखेका छन्, “एकै शब्दका आकर्षक शीर्षक रहेका, एकल पात्रका क्रियाकलापहरूको सूत्रात्मक प्रस्तुति र त्यस्ता प्रस्तुतिको स्पष्ट विम्बमा आफुले भन्न चाहेका कुराको चित्रात्मक अभिव्यक्ति बोकेका यस सङ्ग्रहका हरेक कथाले सबै प्रकारका पाठकलाई एक प्रकारको अनुभूतिको स्थायी प्रभाव दिन सकेका छन् । त्यसैले पहिलो कृतिमा नै तिमसेना एकजना आसलाग्दा स्रष्टाको पहिचानसहित नेपाली साहित्यमा उपस्थित हुन सकेका छन् ।” 

कथाकारका बारेमा म चाहिँ यत्ति भन्छु – लामो साहित्यिक दौडमा निस्किएका लेखक तिमसेनाका यस्तै रोचक र पठनीय कृतिहरू आगामी दिनमा पनि पढ्दै जान पाइयोस् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै