काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न तेस्रो खेलमा भारत डक-वर्थ लुइस नियम अनुसार ६ विकेटले विजयी हुदै एकदिवसीय सिरिज जितेको हो ।
बर्षाले प्रभावित खेलमा वेस्टइन्डिजले ३५ ओभरमा २४० रन बनाउदा खेल बर्षाले रोकिएपछि ओभर घाटाएर ३५ ओभरमा झार्दा भारतले ३५ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो ।
२५५ रनको लक्ष्य पाएको भारतले ३२,३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान विराट कोहलीले लगातार शतक प्रहार गरेका छन् । कोहलीले ९९ बलमा ११४ रन अविजित बनाएका थिए । आफ्नो पारीमा विराटले १४ चौका प्रहार गरेका थिए ।
त्यस्तै श्रेयस अय्यरले पनि ४१ बलमा ६५ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै शिखर धवनले ३६, केदार जादभले अविजित १९ र रोहित शर्माले १० रन बनाएका थिए । त्यस्तै विकेटकिपर ब्याट्सम्यान रिषव पन्त गोल्डेन डकमा आउट भएका थिए ।
वेस्टइन्डिजका बलर फाबियन एलेनले २ विकेट लिए भने केमार रोचले एक विकेट लिएका थिए ।
यस अघि वेस्टइन्डिजले ३५ ओभरमा ७ विकेट गुमाउदै २४० रन बनाउदा खेल बर्षाले रोकिएको थियो । वेस्टइन्डिजका लागि आफ्नो क्यारियरको अन्तिम खेल खेलेका क्रिस गेलले ४१ बलमा ७२ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै एविन लुइसले २९ बलमा ४३ रन बनाएका थिए । त्यसै गरि निकोलस पुरनले ३०, शिमरन हेटमायरले २५, साइ होपले २४, कार्लोस ब्रेथवेटले १६ र जासन होल्डरले १४ रनको योगदान गरेका थिए ।
त्यस्तै भारतीय बलर खलिल अहमदले ३ विकेट लिए भने मोहमद सामीले २ विकेट लिएका थिए । त्यस्तै युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
यस खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज भारतीय कप्तान विराट कोहली बनेका छन् ।
यसका साथ तीन खेलको एकदिवसीय सिरिजमा भारतले २-० ले कब्जा गरेको छ । यस अघि खेलेको टी-२० सिरिजमा पनि भारत ३-० ले विजयी भएको थियो ।
भारतले अब वेस्टइन्डिजविरुद्ध २ टेस्ट खेल खेल्ने छ । पहिलो टेस्ट आगामी २२ अगस्टदेखि सुरु हुने छ ।