काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।
लामिछाने पक्राउ परेको न्युज २४ को उच्च व्यवस्थापनले खरीबोटलाई पुष्टि गरेको छ ।
यहि साउन २१ गते चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका थिए । उनको साथबाट भेटिएको मोबाइलको भिडियोमा पुडासैनीले लामिछानेका कारण आफुले आत्महत्या गरेको उल्लेख गरेकोले उनलाई पक्राउ गरिएको बुझिएको छ ।
प्रहरीले पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि विहिबार नै अपराहन्न पक्राउ गरिसकेको छ ।