काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो एक बर्षका लागि जर्मनी क्लब बायर्न म्युनिख जाने भएका छन् ।
बायर्न र बार्सिलोना कोटिन्होलाई एक बर्षका लागि लोनमा ट्रान्सफर गर्न सहमत भएको बार्सिलोनाले पुष्टि गरेको छ ।
दुवै क्लबबीच सैद्धान्तिक सहमति भएको र छिट्टै यसको औपचारिक घोषणा हुने बार्सिलोनाका निर्देशक गुइल्लेरमो आमोरले जानकारी दिएका छन् ।
सहमति अनुसार कोटिन्हो एक बर्ष बायर्नबाट खेल्ने छन् । २०१८ को जनवरीमा लिभरपुलबाट बार्सिलोना गएका कोटिन्होले आफ्नो क्षमता अनुसारको खेल देखाउन असफल भएका थिए । उनी खेल्ने मिडफिल्डमा अहिले बार्सिलोनाले नेदरल्याण्डसका फ्र्यांकी डिजंग र ब्राजिलकै अर्थर तथा क्रोसियाका इभान राकिटिकलाई प्राथमिकता दिने भएपछि कोटिन्होलाई बेच्ने निर्णय गरेको हो ।
यस अघि कोटिन्हो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनल जाने चर्चा चलेपनि सो प्रयास असफल भएको थियो । साथै कोटिन्होलाई पिएसजीसँग नेइमारको डिलमा पठाउने भनिएको भएपनि पिएसजीसँग ठोस रुपमा सहमत हुन नसकेपछि बार्सिलोनाले कोटिन्होलाई बायर्न म्युनिख पठाएको हो ।
बायर्नले कोटिन्होलाई एक बर्षकालागि लोनमा र त्यसपछि किन्न सक्ने गरि सहमत गरेको बताइएको छ । बायर्नले पनि कोटिन्होलाई लोनमा भित्र्याउने सैद्धान्तिक सहमति भएको जानकारी दिएको छ ।
कोटिन्होले बार्सिलोनामा कुल ७६ खेल खेल्दै २१ गोल गरेका छन् ।