• २०८१ बैशाख ८ शनिबार

बामदेवको कमब्याक !

kharibot

काठमाडौँ । भनिन्छ राजनीतिमा असम्भव केहि हुदैन । सत्ताबाट बाहिरिनु र फेरी सत्तामा आउनु राजनीतिकर्मीका लागि नियमित भइरहने घटना जस्तै हुन् । यसै क्रममा सत्तारुढ दल नेकपा भित्रका एक महत्वपूर्ण नेता बामदेव गौतमको अहिले नेकपामा कमब्याक भएको बुझिएको छ ।

पार्टीमा सशक्त नेताका रुपमा चिनिने बामदेव गत निर्वाचनमा पराजित भएपछि ब्याकफुटमा रहेका थिए, जिम्मेवारी विहिन जस्तै थिए । उनको समर्थन र सहयोग बिना नेकपामा कोहि नत अध्यक्ष बन्न सक्ने नत प्रधानमन्त्री नै बन्न सक्ने अवस्था विगतमा पनि थियो र अहिले पनि सो फेरी साबित भएको छ । दुई अध्यक्षबीचको अन्तरसंघर्षका बीच बामदेवको नेकपामा शानदार कमब्याक भएको देखिएको हो ।

शुक्रबार बसेको सचिवालय बैठकले बामदेवलाई नेकपाको संगठन विभागको प्रमुख बनायो । त्यति मात्र होइन बामदेवलाई अब पार्टीको उपाध्यक्षका लागि समेत प्रस्ताव गरिएको छ । दुवै अध्यक्षले बामदेवलाई पार्टीको उपाध्यक्षका लागि प्रस्ताव गरेपछि अब यो प्रस्ताव स्थायी कमिटिमा जाने भएको छ । नेकपाको महत्वपूर्ण संघ किसान महासंघको अध्यक्ष समेत रहेका गौतम अब उपाध्यक्ष, संगठन बिभागको प्रमुखको जिम्मेवारीमा समेत हुनेछन् । 

यति मात्र होइन बामदेवलाई अब कास्की-२ मा खालि रहेको संसदीय सिटबाट उम्मदेवार बनेर संसदमा आउन समेत प्रस्ताव गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले बामदेवलाई कास्कीबाट उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

गत निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग भिड्ने मुडमा थिए । ओलीको विरोधमा गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति : एक जिम्मेवारी’ हुनुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर उनले ओलीसँग आमने सामने भएका थिए । त्यति मात्र होइन काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने बामदेवको चाहनामा पनि ओलीनै भिलेन बनेको उनको बुझाई थियो ।

बामदेवले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर ओलीलाई घेर्ने रणनिति बनाएका थिए । सोहि रणनिति अनुसार बामदेवले बिभिन्न बैठक गर्ने र नेकपामा ओलीलाई कमजोर बनाउने रणनितिमा लागेका थिए । यसका लागि बामदेवले प्रचण्ड र नेपालसँग सहकार्य समेत गरेका थिए ।  

तर घटनाक्रम यसरी बदलियो कि अब फेरी नेकपामा बामदेवलाई अध्यक्ष ओलीले महत्वका साथ स्थान दिन तयार भए । यसबाट नेकपा भित्रको पुरै समीकरण नै बदलिएको छ । यसरी समिकरण बदलिनुमा प्रधानमन्त्री ओलीले बामदेवको महत्व फेरी एक पटक बुझ्नुलाई लिइएको छ ।

निर्वाचन पछि ओलीले बामदेवलाई खासै महत्व नदिदा नै पार्टी एकीकरणसहित सरकारको काममा समेत असर पुगेको बुझाई ओलीको रहेको नेकपाका नेताहरु बताउछन् । प्रधानमन्त्री बनेको डेढ बर्षमै विकल्पका बारेमा चर्चा सुरु हुनु, सरकार अलोकप्रिय हुदै जानु, ठोस कार्यक्रम गरेर जनअपेक्षा पुरा गर्न असफल हुनुले ओली आफै ब्याकफुटमा रहेका थिए । यस राजनीतिक असहजतालाई चिर्न उनले प्रचण्ड, नेपाल भन्दा बामदेव गौतमसँग हात मिलाएको नेकपामा चर्चा रहेको छ ।  

बामदेव र ओलीको सहकार्य हुनासाथ अब अन्य समुहको अस्तित्व नै खतरामा पर्ने देखिएको हो । बामदेव र ओली एक ठाउमा आएपछि अर्का अध्यक्ष प्रचण्ड र नेपाल ब्याकफुटमा आएको नेकपाका नेताहरु बताउछन् । खरीबोटसँग कुरा गर्दै एक स्थायी समिति सदस्यले बामदेव र अध्यक्ष ओली एक ठाउमा आएपछि अब अन्य गुटलाई उठ्न त्यति सजिलो नहुने बताए ।

बाहिरबाट विश्लेषण गर्दा पनि यो कुरा प्रष्ट बुझ्न सकिन्छ । बामदेव हिजो पनि निर्णायक थिए र अहिले पनि पार्टीमा फेरी निर्णायक भएका छन् ।

अब बामदेव कास्कीबाट उम्मेदवार भए भने पनि कुनै आश्चर्य नहुने भएको छ । नेकपाको एकीकरणका प्रमुख सूत्राधार बामदेवको निर्वाचनमा पराजयलाई ठुलो षड्यन्त्रको रुपमा लिइएको थियो । तर अब फेरी अध्यक्ष ओलीसँगको सहकार्य पछि बामदेवलाई संसदमा आउन अब रोक्ने कोहि देखिदैन ।

अबको पार्टी भित्रको राजनीतिक समीकरणमा अध्यक्ष ओलीले प्रचण्ड र नेपाललाई साइजमा राख्न बामदेवलाई प्रयोग गर्ने प्रष्ट देखिएको छ । बामदेवलाई संसदमा ल्याएर सरकारमा नल्याए पनि ओलीको विकल्प पार्टीमा कसैले खोजेको बेला बामदेव अगाडी सर्दा प्रचण्ड र नेपाललाई मुश्किल हुने अवस्था सिर्जना हुने देखिएको छ ।

एकर्षभन्दा लामो एकीकरण प्रयास र अनेकौ गुट-उपगुटमा रहेको नेकपामा अन्तत: एकीकरणका सूत्राधार बामदेव विजेता बनेर निस्केको नेकपाका कार्यकर्ता पंक्तिमा चर्चा रहेको छ । कुसल संगठक मानिने बामदेव र ओलीको यो पुनर्मिलनले नेकपामा आउदो महाधिवेशनबाट प्रचण्ड अध्यक्ष हुने र साढे दुई बर्षमा प्रचण्ड प्रधानमन्त्री बन्ने एकीकरणको सम्झौतामा ब्रेक लाग्ने घटनाको रुपमा पनि लिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै