• २०८१ बैशाख ७ शुक्रबार

म तिमीलाई सरकार मान्दिन (कविता) 

kharibot

निलिशा प्रधान 

अहँ! म तिमीलाई सरकार मान्दिन ।

मैले कविता लेख्दै गर्दा मेरो कलमको मसि सकिन्छ अनि कलम किन्न जाँदा ७ रुपैँयाको कलममा कर लागेर १० रुपैयाँ हुन्छ भने
म तिमीलाई सरकार मान्दिन ।

म जस्तै जनताहरुले हेर्ने अनि तिमीले हेर्ने आँखाको पावर मिल्दैन भने 
म तिमीलाई सरकार मान्दिन ।

जाउ बरु आँखा जाँच गराउन अमेरिका
तर म जस्तै जनताहरुले हेर्ने, अनि तिमीले हेर्ने आँखाको पावर मिल्दैन भने
म तिमीलाई सरकार मान्दिन ।

वाहियात कुरामा जनता उर्लिन्छन् अनि बिनसित्तिमा तिम्रो सातो जान्छ भने
म तिमीलाई सरकार मान्दिन ।

मैले घर बाट बाहिर पाइला टेक्दा बित्तिकै केटाहरु मलाई जिस्क्याउछन् अनि उनिहरुलाई मेरो त परै जाओस्, कानुनको पनि डर लाग्दैन भने
म तिमीलाई सरकार मान्दिन ।

यहाँ १०० रुपैयाँ चुराउने चोर समातेर कुटिन्छ अनि १० करोड लिने भ्रष्टाचारी छुपिन्छ भने
म तिमीलाई सरकार मान्दिन ।

अनि त्यही भ्रष्टाचारीलाई एक झापड हानेर अगाडि ल्याउनु अघि मेरा हातहरु काँप्छन् भने
म तिमीलाई सरकार मान्दिन ।

तिमी १०-१२ वटा गाडिहरु अगाडि पछाडी लिएर हिँड्ने त्यो सडकको छेउमा माग्न बसेका तिम्रा जनताहरुलाई देखेर तिम्रा आँखा बाट आँसु झर्दैनन् भने 
म तिमीलाई सरकार मान्दिन ।

तिम्रो सवारी हुँदा तिमीलाई 'तिमी' बनाउने जनता कुराएर तिमी चिल्लो,कालो, सेतो प्लेट भएको गाडिमा सरररर…… जान्छै भने
म तिमीलाई सरकार मान्दिन ।

अरे! तिमीलाई लाजको अर्थ थाहा छैन?
पक्कै थाहा छैन
त्यसैले त म तिमीलाई सरकार मान्दिन ।

तिमीसँग केही कुराको सरोकार छैन जस्तो लाग्छ
त्यसैले म तिमीलाई सरकार मान्दिन ।

निर्मलको दोषी को रहेछ त ?
भन न ! लुकाउनु पर्दैन
म तिमीलाई सरकारै मान्दिन ।

कति जनताको चिच्याहट सुन्दा पनि तिम्रा कानका जाली फुटेनन् ?
हिसाब गर! भयो छोड !
म तिमीलाई सरकारै मान्दिन ।

कति वटा देश्को कठपुतली बनेर देश र जनता लुटिरहेका छौ ?
भन्न सक्छौ ?
म तिमीलाई सरकारै मान्दिन ।

अरे! तिम्रा आँखाहरुले दिनहुँ युवाहरू विदेश पलायन भएको देख्दैनन् ?
तिम्रा कानहरुले पिडित जनताको चिच्याहट सुन्दैनन् ?
बस्! तिम्रो मुखले ठुला ठुला भाषण गर्न जान्दछ
अनि तिम्रो नाकले ५ तारे होटलको गन्ध सुँघ्न जान्दछ
त्यसैले त म तिमीलाई सरकार मान्दिन ।

सबै कुरा सँग सरोकार राख्ने गर
अनि म तिमीलाई सरकार मान्छु ।

अर्को पटक कविता लेख्ने दुस्साहस गर्दा गर्दै कलमको मसि सकिएछ भने ७ रुपैयाँको कलम अठै रुपैयाँमा किन्न पाउँ
अनि म तिमीलाई सरकार मान्छु कि !!

भिडियोमा :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै