• २०८१ बैशाख १३ बिहीबार

हेटौँडा सिमेन्ट उद्योगको घाटा साढे तीन करोड

kharibot

चुरियामाई । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा  रु ४८ लाख घाटा हुने गरेको छ । 

भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि शुक्रबारबाट भट्टी तताउन शुरु गरिएको र विस्तारै उत्पादन शुरु भएको उद्योगका नायब महाप्रबन्धक कामेश्वर मण्डलले जानकारी दिए । करीब रु २० लाखको लगानीमा फायर ब्रिक्स लाइनिङ गरिएको उद्योगले जनाएको छ । एउटा ब्रिक्स्को तौल साढे १० किलोको हुने उद्योगले जनाएको छ । 

उद्योगमा यसपटक दुई हजार छ सय वटा ब्रिक्स लाइनिङ गरिएको मण्डलले बताउनुभयो । एउटा ब्रिक्सकै मूल्य रु ७०० पर्ने बताइएको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक औसत आठ हजार बोरा मात्र सिमेन्ट उत्पादन गरिरहेको छ । 

करीब ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले गत आर्थिक वर्षमा २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन महाशाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए । 

विभिन्न समयमा उद्योग बन्द हुँदा आव २०७४÷७५ को तुलनामा झण्डै आठ लाख बोरा सिमेन्ट उत्पादन घटेको उद्योगले जनाएको छ । 

उद्योगको यन्त्रमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताए । धेरै यन्त्रहरु अघिल्लो आवमा बनाइएकाले चालू आवमा भने उत्पादन बढ्न सक्ने कोइरालाको अनुमान छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै