• २०८१ बैशाख १४ शुक्रबार

नेकपाले टुंगायो थप कार्यविभाजन :  जनसङ्गठनका इञ्चार्जसहित उपत्यकाको नेतृत्व चयन 

kharibot

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबारको बैठकले थप केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको वरीयताक्रम हेरफेर गर्नुका साथै जनसङ्गठनका इञ्चार्ज र उपत्यका र सम्पर्क विशेषमा तोकिए इन्चार्ज र अध्यक्ष समेत तोकेको छ ।

यसअघि दुई अध्यक्षपछिको वरीयताक्रममा रहेका नेपाल अब चौथो क्रममा पुगेका छन् भने खनाल चौथोबाट तेस्रोमा उक्लिएका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठकले शीर्ष नेताको वरीयताक्रम हेरफेर गरेको हो ।

गत वर्ष पार्टी एकताको समय आफू चीन भ्रमणमा रहेका वेला अन्याय हुने गरी वरीयतामा तल पारिएको भन्दै खनालले आपत्ति जनाएका थिए । खनालले त्यतिवेलै पार्टीमा उजुरी पनि गरेका थिए । तर, आइतबारको बैठकले वरीयता परिवर्तन गरेको छ । ‘वरिष्ठ नेताहरूको नयाँ मर्यादाक्रम निर्धारण भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअनुसार तेस्रो वरीयतामा झलनाथ खनाल र चौथो वरीयतामा माधवकुमार नेपाल रहनुहुनेछ ।’ 

उपत्यका र सम्पर्क विशेषमा तोकिए इन्चार्ज र अध्यक्ष 

उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेललाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी, पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम तय हुन बाँकी, सचिव चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ । बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ ।

जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम, सुनील मानन्धर, र अध्यक्ष परिवर्तन गरी हरि पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको छ । हालसम्म महासङ्घको अध्यक्ष नेता गौतम थिए । गौतमले यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने गरी सो प्रस्ताव स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यस्तै अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की, पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ । इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ ।

नेपालको कटाक्ष :

उता नेता नेपालले भने खनाललाई आफूभन्दा माथिल्लो वरीयतामा राख्ने प्रस्तावको विरोध नगरेपनि निर्णय गर्ने प्रक्रियाको विरोध गरेको बताइएको छ । नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्दै गल्ती भएको स्विकारेर आत्मालोचना गर्न आग्रह गरेका थिए ।

नेपालले बैठकमा आफ्नो धारणा राख्दै भने,‘पार्टी एकीकरणका वेला तपाईं जेएनलाई वरिष्ठ नेता पनि नबनाउने पक्षमा हुनुहुन्थ्यो । नबनाऊँ भनेर प्रस्तावै गर्नुभयो । त्यतिवेला मेरो मायाले होइन, जेएनलाई बदला लिन मलाई माथिल्लो वरीयतामा राख्ने निर्णय गराउनुभयो । त्यसवेला मैले नै उहाँ (जेएन)लाई वरिष्ठ नेता राख्नैपर्छ भनेर जोड गरेको थिएँ । अहिले मलाई अपमान गर्न र बदला लिन जेएनलाई माथि राख्ने प्रस्ताव गर्नुभएको छ । उहाँ मभन्दा माथि हो, यो कुरा त्यतिवेलै निर्णय भएको भए पनि स्वीकार गर्थेँ, अहिले पनि वैधानिक हिसाबले उहाँको माथिल्लो वरीयतालाई स्वीकार गर्छु । तर, केपी कमरेड, तपाईंले त्यतिवेला र अहिले दुईपटक गरेको गल्ती बैठकमा स्वीकार गरेर आत्मालोचना गर्नुहुन्छ कि गर्नुहुन्न ?’

बैठकमा आफ्ना धारणा राखेपछि नेपाल बैठक छोडेर बाहिरिएका थिए  । 

बैठकमा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनसम्बन्धी विधि र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको स्रोतले बतायो । साबिक एमालेबाट वरीयताका आधारमा तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पुनः उपाध्यक्षमा प्रस्ताव गरेर अरूलाई सचिवालयबाटै बाहिर पारिएकोमा नेपालले आपत्ति जनाएका थिए ।

नेपालले साबिक एमालेबाट सबैभन्दा बढी मतका साथ विजयी तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलसहित अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गर्नुपर्ने मत दर्ज गराएका छन् । तर, उनको प्रस्तावमा केन्द्रित रहेर छलफल भने भएन । 

त्यस्तै, नेपालले पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय अध्यक्षदेखि सबै नेता–कार्यकर्ताको हकमा ‘एक व्यक्ति : एक पद’ लागू गर्नुपर्ने, पार्टी र सरकार सञ्चालन आलोपालो प्रणालीअनुसार गर्ने एकीकरणको स्पिरिटअनुसार दुई अध्यक्षको कार्यविभाजन हुनुपर्ने पनि बताएका थिए । तर, यो विषयमा पनि बैठकमा केही छलफल भएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै