• २०८१ बैशाख ७ शुक्रबार

अजय सुमार्गीको नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

kharibot

काठमाडौँ । अजयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज भएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबार नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गर्ने निर्णय भएको जानकारी दिए । ‘अब उसले ३५ दिन भित्र अनुमति पत्र खारेजीको निर्णय विरुद्ध उजुरी हाल्न सक्छ,’ उनले भने,‘हामीले दिएको म्यादमा बक्यौता नतिरेपछि खारेजीको निर्णय गरिएको हो ।’

उसले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको हो ।

प्राधिकरणले गत चैतमा बक्यौता बाँकी रहेको दुरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।

असार मसान्तसम्म बक्यौता नबुझाउनेलाई प्राधिकरणले १० दिने म्याद दिएर स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले साउन ६ गते नेपाल स्याटेलाइटलाई अनुमति पत्र किन खारेज नगर्ने भनेर स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ दिंदै नेपाल स्याटेलाइटले काठमाडौंमा सेवा विस्तारको अनुमति दिए मात्रै बक्यौता तिर्ने शर्त तेर्स्याएको थियो ।

साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिना भित्र बाँकी रकम तिर्न म्याद दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै