• २०८१ बैशाख ७ शुक्रबार

राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा बढ्यो : चित्रबहादुर केसी

kharibot

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याई छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिकोबारेमा मूल्यांकन गरेकोबारे निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो खतरा औंल्याईएको हो । 

पार्टीले जारी गरेको विज्ञप्तीमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्मनिरपेक्षताको विरोध गरेको कुरा उल्लेख गरिएको छ । 

विज्ञप्तीमा भनिएको छ,‘यदि धर्मनिरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’

वर्तमान नेकपा नेतृत्वको सरकारले पनि सही प्रकारले काम गर्न नसकेको अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाए । केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा औंल्याए । अध्यक्ष केसीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘कतिपय कार्यमा त्यो असफल पनि भएको छ । सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भवाना छ ।’

कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको विश्वास छ । उसले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ ।

भ्रष्टाचार, नागरिकता समस्या, महँगी, करवृद्धि, तराईमा भएको शोषण, उत्पीडन, मजदुर, किसान, महिला, जनजाति, उत्पीडित जातिलगायत विभिन्न जनवर्ग र समूदायका समस्याहरु पनि विकराल बन्दै गएको उसको ठम्याई छ । विज्ञप्तीमा भनिएको छ,‘देशको अर्थतन्त्र झन–झन बिग्रदै गएको छ । सामाजिक न्याय पनि छैन् । अतः गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि र भ्रष्टाचार, महँगी, विभिन्न जनवर्ग तथा समूदायहरुको हकहितका लागि संघर्ष गर्नुपर्ने राष्ट्रिय आवश्यकत्ता भएको छ ।’

पार्टीले लिएका नीतिहरु सही रहेको अध्यक्ष केसीले बताए । उनले भने,‘त्यसअनुसार देशको राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न पार्टीको संगठनात्मक अवस्थालाई अरु बढि सवल बनाउन आवश्यक छ । हाम्रो पार्टीप्रति जनताको ठूलो अपेक्षा र सहानुभुति रहेको छ । त्यसलाई हामीले संगठनात्मक र राजनीतिक शक्तिका रुपमा बदल्नुपर्छ । हामीले संगठन विस्तारका कार्यक्रमहरु बनाएका छौं ।’

पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता, युवक मोर्चाले नागरिकता समस्या र भ्रष्टाचार, विद्यार्थी मोर्चाले संघीयता, महँगी र करवृद्धि, किसान मोर्चाले कृषि, भूमिसुधार र तराईका जनतामाथि भइरहेका शोषण, उत्पीडन तथा डुवानका समस्या, मजदुर मोर्चाले मजदुरका समस्या, महिला मोर्चाले निर्मला पन्तको बलात्कार र हत्यासहित महिला हिंसा तथा अन्य महिला समस्या, जनजाति मोर्चाले जातीय तथा जनजातिका समस्या, समता मोर्चाले सामाजिक भेदभाव र छुवाछुतसमेतका समस्याका बारेमा संघर्ष गर्ने पनि जनाईएको छ ।

त्यस्तै, पार्टीले प्रचार, संगठन र संघर्षका कार्यक्रमहरु आजैबाट सुरु भई चैत्र मसान्तसम्म समापन हुनेपनि जनाएको छ । विज्ञप्तीमा जनाईएअनुसार भदौ महिनामा सबै प्रदेश समन्वय समिति र जिल्ला समितिहरुको बैठक बस्ने, असोज १० गते ७ वटै प्रदेशहरुमा प्रदेशस्तरका सभाहरु आयोजना गर्ने, असोज ११ गतेदेखि कार्तिक महिनाभर प्रचारात्मक कार्यहरु गर्ने, मंसिर महिनाभरि संघर्षको तयारी सम्बन्धी काम र उपनिर्वाचन हुने ठाउँमा निर्वाचनसम्बन्धी काम गर्ने, पुष महिनाभरि घनिभूत संघर्षका कार्यक्रमहरु गर्ने, माघ महिनाभरि संगठनात्मक तयारीका कार्यहरु गर्ने, फागुन महिनाभर पार्टीको संगनात्मक अभियानका कार्यक्रम सञ्चालन गर्ने र चैत्र महिनाभर अखिल नेपाल किसान महासंघको संगठनात्मक अभियानका कार्यक्रमलाई सहयोग गर्ने रहेका छन् ।

अध्यक्ष केसीले संघीयता अहिले सबैलाई भालुको कंचड भएको बताउँदै आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने स्पष्ट पारे । ‘संघीयता विद्यार्थीको भरमा भएको हुँदा हामीले विरोधको तयारीका लागि विद्यार्थीहरुलाई मुख्य रुपमा जोड दिएका छौ, तर संविधानको विरोधमा हामी छैनौ’–उनले भने ।

संघीयताको आवरणमा नेपाललाई धर्मनिरपेक्ष बनाउने र हिन्दुराज्य बनाउने बहानामा फेरी राजसंस्था फर्काउने कार्य भएकोले यसको विरुद्ध आफूहरुको विरोधका कार्यक्रम जारी रहेको प्रस्ट पारे । हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा पनि गणतन्त्रमाथि कालो बादल मडारिएको र धर्म निरपेक्षतामाथि शंका भएको कुरा नेताहरुले आँकलन गरेको समेत उनले ठोकुवा गरे ।

नेपाललाई हिन्दुराज्य बनाउने बाहानामा धर्मनिरपेक्ष बनाउने र गणतन्त्र सिध्याउने कुरामा बाह्य शक्तिको चलखेल भएको हुँदा यसमा नेपाली जनता सतर्क हुनुपर्ने कुरामा समेत उनले जोड दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रिय सदस्यद्धय घनश्याम न्यौपाने र लालबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै