गीत चलेर नाम नचलेका गायक : यज्ञराज उपाध्याय

खरीबोट

गायक यज्ञराज उपाध्यायको नाम धेरैले सुनेका हाेलान् तर  उनी ‘राइझुमा’ का गायक तथा संकलक हुन् भन्ने कमैलमर्इ थाहा हाेला । उनले ‘राइझुमा’ गीतको पहिलो गीतिसंग्रह २०५० सालमा रेकर्ड गराए । त्यसपछि भाग—२ निकाले २०६२ सालमा । दोस्रो भागमा ‘राइझुमा’को युगल गायनमा उनलाई गायिका कोमल ओलीले साथ दिइन् ।

दोस्रो भागमा पनि गीत सबैले मन पराए, गीतमा नारी आवाज भर्ने कोमल ओलीलाई सबैले चिने । उनी राइझुमाबाट झनै चर्चाको शिखरमा पुगिन् तर उनीसँगै गीत गाएका उपाध्याय भने चिप्लिए । उनलाई गीत सुन्ने धेरैले सायद चिनेनन् । यसको कारणबारे उपाध्याय आफैँ पनि अनभिज्ञ छन् । उनी भन्छन्, ‘मिडियाले कभर नगरेको भनौँ भने केही राष्ट्रिय मिडियाले स्थान पनि दिएका थिए, गीत मिडियामा पनि थुप्रै बजेको हो ।’

देउडाका सारथि उपाध्याय अछाम जिल्लाको गोयलपानीमा २०२३ साल असार १८ गते जन्मिए । प्रवेशिका परीक्षा अछाममै दिए, त्यसपछि प्रवीणतापत्र तह नेपालगञ्जबाट पूरा गरे र बाँकी शिक्षा पूरा गर्न काठमाडौं आए । उनी सानैदेखि ‘न्याउल्या’ अर्थात् देउडा खेलेरै हुर्किए । ‘बाल्यकालमा प्रत्येक दिन पटकानी अर्थात् सार्वजनिक स्थलमा जम्मा भएर न्याउल्या खेलिन्थ्यो’, उनले भने, ‘डेढ स्टेपमा खुट्टाको चाल हुने भएर पछि यसलाई देउडा भन्न थालियो ।’

जुन बेला उनी कक्षा चारमा पढ्दै थिए, अछाममा जिल्लास्तरीय लोकगीत प्रतियोगिता भयो, त्यसमा उनले पनि भाग लिए र सबैलाई पछि पार्दै प्रथम उपाधि हात पार्न सफल भए । ‘राइझुमा’ हामीले हाम्रो गाउँठाउँमा निकै पहिलेदेखि सुन्दै आएको भाका हो’, उपाध्यायले भने, ‘त्यसलाई मैले फरकपन दिँदै उक्त गीत रेकर्ड गराएँ। गाउँघरमा गाइने राइझुमाको लयमा परिमार्जन गर्दै प्रस्तुत गरिएको नयाँ बान्की दिएकोले यस गीतलाई झनै मिठो बनायो ।’

परम्परागत शैलीकै पुरानै ढर्राको ‘राइझुमा’ उनले पस्किएका भए त्यो त्यति रुचिकर नहुन सक्ने डर उनमा थियो । किनकि त्यसमा संगीतलाई मिठास दिन आवश्यक तत्वहरुको नै कमी हुने उनको भनाइ छ । उनी २०४४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए । अध्ययनसँगै उनीले हिमालयन कल्चरल सेन्टरमा शास्त्रीय संगीत पनि सिके र २०४५ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिए । उनले स्वर परीक्षा पनि ‘राइझुमा’ गीतबाटै दिएका थिए ।

त्यसपछि लगातार १४ वटा एल्वम निकाले उनले । विभिन्न ठाउँहरुमा एकल सांगीतिक कार्यक्रमहरु सञ्चालन गरे ।युवाहरुमाझ पनि उत्तिकै लोकप्रिय ‘राइझुमा’ एक सामाजिक विषयवस्तुमा आधारित गीत हो । सुदूरपश्चिममा देउकी प्रथा प्रचलनमा थियो र अझै पनि केही देउकीहरु जीवित छन् । आफ्ना मनोकामना पूरा गर्न भगवानसँग विभिन्न भाकल (वाचा) गरेकाहरुले युवतीलाई किनेर देवालयहरुमा चढाउने युवतीहरु नै देउकी हुन् । देवालयमा चढाएकी युवतीहरुले बिहे गर्न पाउँदैनन् भन्ने मान्यता थियो । मन्दिरमै चढाएका फलफूल, अन्न खाएर जीवन गुजार्नुपथ्र्यो । सो परम्परा आँखाले देखेका उपाध्यायले ‘राइझुमा’ गीतमार्फत उक्त भावनालाई पस्केका छन् ।

गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्या कोही छैन जीवनको साथी हृदय बुझाउन्या….’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउनुपर्ने अवस्थालाई चित्रण गरेकोे छ । ‘ती देउकी युवतीको मनमा पनि घरजाम गरेर बस्ने सपना हुँदो हो, आफ्नै संसार बसाउने सपना हुँदो हो तर संस्कृतिको नाममा हामीले एउटा युवतीलाई पिँजडामा कैद गरेर राखेका थियौँ’, उनले भने ।

साथै गीतको अर्को अन्तरामा ‘तराईका चारकोसे झाडी न्याउली बासला कि दुःखीको विरही दिल कैल्यै हाँसला कि ….’ तथा ‘फूलफूली पर्इरनुभर्इन माथि हिमालैमा हात नपुछी दाग बसिग राता रुमालैमा… ’ अन्तराले देउकीको उजाडलाग्दो जिन्दगीलाई दर्शाउन खोजेको छ । ‘देउकीको जीवन फूल फुलेर ओइलाएजस्तै थियो’, उनले भने, ‘फूलको महत्व तब हुन्छ, जब टिपेर कपालमा सिउइरिन्छौँ तर हाम्रो संस्कृतिले फुलेको फूल सिउरिने अवसर नै नदिँदा ओइलिएर झर्छ ।’

 

गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्या कोही छैन जीवनको साथी हृदय बुझाउन्या….’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउनुपर्ने अवस्थालाई चित्रण गरेकोे छ ।

‘राइझुमा’ गीतलाई सबैले मन पराए । त्यो समयमा एल्बम बिक्री हुन्थ्यो । एउटा एल्बमको एक रुपैयाँ रोयल्टी उपाध्याय पाउँथे । उक्त गीति एल्बम करिब ५० हजारभन्दा बढी बिक्री भयो । ‘सिग्नेचर (हस्ताक्षर) गरेको एल्बम मात्रै बिक्री गर्थे वितरकले । त्यसैले सिग्नेचर गर्दा गर्दा हैरान भइन्थ्यो’, उनले भने । ‘एल्बमको कपी पनि खुब हुँदोरहेछ’, उनले हौसिँदै भने, ‘एक जना भारतमा काम गर्ने नेपाली भाइले मलाई सुनाएको थियो कि उसलाई राइझुमाको कपी गर्दा फुर्सद हुँदैनथ्यो रे !’

करिब २५० बढी गीतमा स्वर दिएका र १४ वटा एल्बम पस्किसकेका उपाध्यायले हाल नयाँ एल्बम निकाल्ने तयारी गरिरहेका छन् । गीतमा मात्रै होइन, उनको भावना कवितामा पनि पोखिएको छ । उनले एउटा कवितासंग्रह निकालेका छन्, बिहानीको पाना । छन्दमा लेखिने कविता लोप हुँदै गएको अवस्थामा उनी छन्दमा कविता लेख्छन् ।

यसैगरी उद्घोषण र सामाजिक काममा उनले आफ्नो समय व्यतित गरिरहेका छन् । लोकगीत संगीतमा भुलिँदा उनले ढिलो विवाह गरे । अहिले छोरा ६ कक्षामा पढ्छ भने श्रीमती गृहिणी छिन् । त्यसो त, गीत गाउँदागाउँदै प्रेम भएर विवाह हुने कुरा पनि निकै सुनेका छौं हामीले । तर उनलाई भने प्रेम गर्ने फुर्सद मिलेनछ । उपाध्यायले लजाउँदै भने, ‘मेरो गीत सुन्न युवतीहरु खाँदै गरेको चिया छाडेर आउँथे तर प्रेम गर्ने फुर्सद नै मिलेन ।’ उनले अझै थपे, ‘प्रेम गर्नतिर लागेको भए म लोकगीत लोकसंस्कृतिका लागि धेरै काम गर्न पाउने थिइन कि ! अथवा प्रेम गरेर विवाह गर्ने भाग्य मेरो रहेनछ होला ।

उनी लोकवार्ता परिषद्का महासचिव हुन् । यसमा लोकले जानेका सबै विषयमा खोज अनुसन्धान हुने गरेको उनले बताए । त्यसैगरी उपाध्याय सुदूरपश्चिमका पहिलो लाेकगीतका प्राज्ञ परिषद् सदस्य पनि हुन् ।

सम्बन्धित समाचार

गीत चलेर नाम नचलेका गायक : यज्ञराज उपाध्याय

गायक यज्ञराज उपाध्यायको नाम धेरैले सुनेका हाेलान् तर  उनी ‘राइझुमा’ का गायक तथा संकलक हुन् भन्ने कमैलमर्इ थाहा हाेला । उनले ‘राइझुमा’ गीतको पहिलो गीतिसंग्रह २०५० सालमा रेकर्ड गराए ।


z