• २०८१ बैशाख ६ बिहीबार

भारत सरकारद्वारा पुनःनिर्माणका लागि दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण

kharibot

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ ।

भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । 
यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि रु ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको छ । 

नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।  

भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक सुरु भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुग्नेगरी गहन विचारविमर्श भइरहेको छ । 

तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । बैठकको सहअध्यक्षतासहित दुवै देशका विदेशमन्त्रीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

पैँतीस सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख, गृह, रक्षा, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी बैठकमा सहभागी छन् ।

आजै विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै