• २०८१ बैशाख ८ शनिबार

वेस्टइन्डिजविरुद्धको टेस्टमा विराटमाथि सबैको नजर, टुट्न सक्छन् यी रेकर्ड

kharibot

काठमाडौँ । वेस्टइन्डिज टुरमा रहेको भारतीय क्रिकेट टिमले आजदेखि पहिलो टेस्ट खेल्दै छ । टेस्ट च्याम्पियनसिपमा दुवै देशको यो पहिलो खेल हो ।

यस अघि भएको टी-२० र एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको भारत टेस्ट सिरिज पनि जित्ने अपेक्षा गरिएको छ । तर टेस्ट क्रिकेटमा वेस्टइन्डिजले पनि कडा चुनौती दिने अनुमान गरिएको छ ।

टेस्ट खेलको पुर्वसन्ध्यामा खासगरी भारतीय कप्तान विराट कोहलीको प्रदर्शनलाई विश्व क्रिकेटका फ्यानहरुले विशेष रुपमा हेरेका छन् । दुई एकदिवसीय खेलमा लगातार शतक बनाएर कैयौ रेकर्ड तोडेका विराटले यस टेस्ट सिरिजमा समेत कैयौ रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

यस सिरिजमा विराटले अस्ट्रेलियाका महान खेलाडी सर डन ब्रेडम्यान, अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ र भारतीय पुर्वकप्तान महेन्द्र सिंह धोनीका कैयौ रेकर्ड तोड्न सक्ने देखिएको छ ।

विराट टेस्ट क्रिकेटमा २५ शतक बनाउदै धेरै शतक बनाउने खेलाडीको सुचिमा २०औ नम्बरमा रहेका छन् । उनी ब्रेडम्यानको टेस्ट शतक भन्दा ४ शतक मात्र पछाडी छन् ।

त्यस्तै विराट वेस्टइन्डिजका गार्फिल्ड सोबर्सभन्दा एक शतक पछाडी छन् भने अस्ट्रेलियाका एलन बोर्डर र दक्षिण अफ्रिकाका ग्रीम स्मिथभन्दा दुई शतक पछाडि रहेका छन् ।  त्यस्तै अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्क र दक्षिण अफ्रिकाका हसिम अमलाभन्दा तीन शतक पछाडी रहेका छन् ।

त्यस्तै विराटले टेस्ट क्रिकेटमा कप्तानको रुपमा अस्ट्रेलियाका पुर्वकप्तान रिक्की पोन्टिङको १९ शतकको बराबरी र उनलाई जित्ने मौका समेत रहेको छ । पोन्टिङको कप्तानको रुपमा टेस्टमा १९ शतक छ भने विराटको १८ शतक रहेको छ । कप्तानको रुपमा टेस्ट क्रिकेटमा धेरै शतक बनाउने खेलाडी भने दक्षिण अफ्रीकाका ग्रीम स्मिथ हुन् । उनले २५ शतक बनाउदै सो रेकर्ड बनाएका छन् ।

त्यस्तै विराट पुर्व कप्तान महेन्द्र सिंह धोनीको टेस्ट क्रिकेटको रेकर्ड समेत तोड्ने क्रममा रहेका छन् । ६० टेस्ट क्रिकेटमा कप्तानी गरेका धोनीले २७ खेलमा भारतलाई जित दिलाएका छन् भने विराटले ४६ खेल खेल्दै २६ खेलमा भारतलाई विजयी बनाएका छन् । उनले वेस्टइन्डिजलाइ दुवै खेलमा पराजित गरेमा टेस्ट क्रिकेटमा भारतका अहिलेसम्मका सबै भन्दा बढी सफल कप्तान बन्ने छन् ।

भारतका लागि टेस्ट क्रिकेटमा कप्तान सौरभ गांगुलीले ४९ खेलमा २१, मोहमद अजहरुद्धीनले २७ खेलमा १४, सुनिल गावस्करले ४७ खेलमा ९ र मन्सुर अली खानले ४० खेलमा ९ खेलमा जित दिलाएको रेकर्ड रहेको छ ।

टेस्ट क्रिकेटमा २५ र एकदिवसीय क्रिकेटमा ४३ शतक बनाएका विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म कुल ६८ शतक बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतक सचिन तेन्दुलकरले बनाएको सय शतकको रेकर्ड विराटले तोड्न सक्ने अनुमान सबैले गरेका छन् ।

एकदिवसीय क्रिकेटमा सचिनको ४९ शतक भन्दा अब केबल ६ शतक टाढा रहेका विराट टेस्ट क्रिकेटमा भने सचिनको ५१ शतकभन्दा अझै २६ शतक टाढा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै