• २०८१ बैशाख ७ शुक्रबार

नेपाल–भारत संयुक्त आयोगको बैठक एकै दिनमा सकियो : विभिन्न ८० बुँदामा हस्ताक्षर

kharibot

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार सम्पन्न भएको छ । नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गर्दै बैठक सकिएको हो ।

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जाहेर गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ । दुई पक्षबीच रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ । यस्तै खाद्य गुणस्तर र सुरक्षामा सहकार्यसम्बन्धी सहमति भएको छ । नेपालले हवाई मार्ग प्रवेशका लागि भारतसँग थप रुट माग्ने भएको छ ।

दुईदिने भनिएको बैठक एकै दिनमा सफलतापूर्वक सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरेका थिए ।

बैठकमा नेपाल र भारतबीच पाँच फरकफरक ‘क्ल्सटर’ बनाएर तीन दर्जनभन्दा बढी संयन्त्रले तयार पारेको विभिन्न विषयमा छलफल भएको थियो ।

बैठकमा राजनीति, सीमा सुरक्षा/सीमांकन, व्यापार/पारवहन, ऊर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुईपक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ । बैठकमा १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा पनि छलफल भएको थियो ।

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन ईपीजीकै सचिवालयमार्फत दुवै देशका प्रधानमन्त्रीलाई तत्काल बुझाइने भएको छ ।

बैठकमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, चौथो चरणको हुलाकी राजमार्ग र भूकम्प पुनर्निर्माणमा भएका प्रगतिबारे दुवै देशका उच्च अधिकारीले खुसी व्यक्त गरेका थिए । साथै कोसी उच्च बाँध र सुनकोसी कमला डाइभर्सन विवादलाई विज्ञ टोली गठन गरेर भए पनि समाधान गर्ने विषयमा छलफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै