• २०८१ बैशाख ४ मंगलबार

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण : खराब छबी सुधार्न कति सफल ?

kharibot

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर दुई दिने भ्रमण पुरा गरी आज स्वदेश फर्किदै छन् ।

बुधबार अपराहन्न बंगलादेशबाट काठमाडौँ ओर्लिएका जयशंकरको दैनिकी व्यस्त रह्यो । जयशंकरले काठमाडौँ आउनासाथ प्रधानमन्त्री ओलीलाई भेट गरे । प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा एक्लै भेटेका जयशंकरले त्यसपछि उनले भारतीय प्रतिनिधिमंडलसहित प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशंकरले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगतरुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताएका थिए ।

सहयोग हस्तान्तरण :

नेपाल-बह्रत संयुक्त आयोगको बैठकको अवसरमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ ।

भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । 
यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि रु ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । 

त्यस्तै नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

के के भयो संयुक्त आयोगको बैठकमा ?

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारत विदेशमन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकमा दुवै देशका विदेशमन्त्रीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

बैठकमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत क्षेत्रका साथै संस्कृति र शिक्षामा केन्द्रित रहेर छलफल गरेका थिए ।

बितेका दुई वर्षमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणपछि नेपाल–भारत सम्बन्धका सबै पक्षले गति लिएकामा संयुक्त आयोगले खुशी व्यक्त गरेको छ । बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदानप्रदान गर्नेबारेमा पनि गहन छलफल भएको थियो ।

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन, हुलाकी राजमार्गका चारखण्ड निर्माणमा भएको प्रगति, भूकम्पपछि नुवाकोट र गोरखा जिल्लामा सर्वसाधाराणका आवास निर्माण सम्पन्न भएकामा आयोगको बैठकमा प्रशन्नता प्रकट भएको थियो । साथै बैठकमा जयनगर–जनकपुर, जोगमनी –विराटनगर, सीमा पार रेल परियोजना र विराटनगरमा एकीकृत जाँचचौकी निर्माणमा प्राप्त उपलब्धिको समीक्षा भएको थियो । भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनालाई द्रुत गतिमा अघि बढाउन दुवै देशले सहमति जनाएको छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१८ को भारत भ्रमणका बेला रक्सोल–काठमाडौँ विद्युतीय रेल लाइन, आन्तरिक जलमार्ग र कृषि क्षेत्रमा साझेदारी गर्ने सम्बन्धमा भएका नयाँ सहमति र तिनमा भएका प्रगतिप्रति आयोगले सन्तुष्टि व्यक्त गरेको छ ।

दुवै देशले व्यापार पारवहन र रेलसेवासम्बन्धी सन्धि सम्झौतालाई शीघ्र निष्कर्षमा पु¥याउन सहमति जनाएका छन् । दुई देशबीचका प्रमुख सीमा नाकामा व्यापार तथा पारवहनलाई सहज तुल्याउने भौतिक पूर्वाधारको मर्मतसम्भार एवं स्तरोन्नति गर्न दुवै देश सहमत भएका छन् । 

सीमा क्षेत्रमा रहेका जनताका निम्ति डुबान एक गम्भीर समस्याका रुपमा रहेको स्वीकार गर्दै संयुक्त आयोगले पानीको प्राकृतिक बहाबमा अवरोध र उपयुक्त निकासको व्यवस्था नहुँदा डुबान समस्यालाई सम्बोधन गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल–भारत सीमा क्षेत्रका डुबान प्रभावित भेगमा दुवै देशको संयुक्त प्राविधिक टोलीले दिएका सुझाव कार्यान्वयन गर्न दुवै देश सहमत भएका छन् । 

दुवै देशका परराष्ट्रमन्त्रीले सामाजिक र आर्थिक विकासका लागि पर्यटनको महत्वमा जोड दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा पर्यटन  क्षेत्रमा सहयोगको स्तर अभिवृद्धि गर्न सहमति जनाएका छन् । नेपालको अनुरोधमा अतिरिक्त हवाई प्रवेश उपलब्ध गराउन भारतसँग नेपाल सरकारले गरेको अनुरोधअनुरुप दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच छलफल जारी रहेकाले त्यसले वाञ्छित परिणाम निकाल्ने विश्वास दुवै देशले गरेका छन् ।

पशुपति दर्शन :

भारतीय विदेशमन्त्री एस जयशंकरले विहिबार बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् । जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको विरुवा रोपेका थिए । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ पुगेका थिए ।

राष्ट्रपतिसँग भेटवार्ता :

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरबीच आज बिहान भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणको आज दोस्रो दिन जयशंकरले राष्ट्रपति निवास शित्तल निवास पुगेर राष्टपति भण्डारीलाई भेटेका हुन् ।
सो भेटमा भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य, नेपालकाल अगी भारतीय राजदुत मन्जित सिंह पुरीलगायत कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो ।

नेपालमा खराब छबी :

भारतीय विदेशमन्त्री बनेका एस जयशंकरको नेपालमा भने खराब छबी रहेको छ । उनलाई भूकम्पपछि नेपालमा भारतले लगाएको नाकाबन्दीका प्रमुख योजनाकारको रुपमा लिने गरिन्छ ।  

नेपालले संविधान जारी गर्ने बेलामा भारतका तत्कालीन विदेशसचिव एस जयशंकर भारत सरकारको विशेष प्रतिनिधिको रुपमा नेपाल आएर संविधान घोषणालाई रोक्नका लागि नेताहरूलाई दबाब दिएका थिए ।

तर नेपाली नेताहरूले जयशंकरको चेतावनीलाई बेवास्ता गर्दै संविधान जारी गरेपछि भारतले नेपालमाथि चार महिनासम्म आर्थिक नाकाबन्दी लगाएको थियो ।

यस पटकको भ्रमणमा अहिलेसम्म जयशंकरको प्रस्तुति र छलफल अहिलेसम्म संयमित देखिएको छ । विस्तृत विवरण बाहिर आउन बाँकि रहेपनि उनको यो भ्रमण आफ्ना खराब छबीलाई सुधार्ने तर्फनै केन्द्रित रहेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

आफ्नो खराब छबी सुधार्न उनी कति सफल भए भन्ने त भविष्यले बताउला तर अहिलेको भ्रमण पहिला जस्तो उत्तेजित पर्ने जस्तो भने नदेखिएकै हो । अब त्यसको प्रमाण भारतको आफ्नै पहलमा गठन भएको इपिएजीको प्रतिवेदन बुझ्ने, आफुले प्रतिबद्ध जनाएका आयोजना समयमा सक्ने, तराइमा रहेका डुबानको समस्या सधैका लागि समाधान गर्ने, सीमामा रहेका विवाद आपसी छलफलबाट समाधान गर्ने पहल गरेमा उनको छबी खासमा सुध्रिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै