• २०८१ बैशाख ८ शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित

kharibot

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन् । उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका हुन् । 

उपकुलपति भण्डारीले स्वतःस्फूर्तरुपमा डाक्टरलाई बिरामी जाँच्न नदिने, पटकपटक धम्की दिने, विनाकारण स्पष्टीकरण सोध्ने मानसिक तनाव दिने जस्ता कार्य गरेको भन्दै उनहरु आन्दोलित भएका हुन् । आज बिहानैदेखि डाक्टरले अस्पतालमा बिरामी जाँच नगरी अस्पतालका प्रवेशद्वारामा धर्ना दिएर उपकुलपतिको विरुद्धमा आन्दोलन गरेका थिए । 

तत्कालीन उपक्षेत्रीय अस्पताल, प्रतिष्ठान बनेपछि उपकुलपति भण्डारीकै नेतृत्वले नियुक्त गरेका डाक्टर अहिले अस्पतालमा कार्यरत छन् । तर उपकुलपति र रजिष्टार रामप्रसाद प्याकुरेलले विनाकारण निकाल्न खोजेपछि आफूहरु आन्दोलनमा उत्रिएको डाक्टरले बताएका छन् । सबै डाक्टर आन्दोलनमा उत्रेपछि बिरामी अलपत्र परेका छन् । बिरामीको आग्रहमा डाक्टरले आज दुई घण्टा मात्रै उपचारमा खटिएको बताइएको छ । 

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले निकालेपछि उनीसँगै ११ जनाभन्दा बढी विशेषज्ञ डाक्टर आन्दोलित बनेका डाक्टरको भनाइ छ । डा यादवले बिरामीको ल्याब टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा यादवलाई भोलिदेखि नै अस्पतालमा नआउन भनेको बुझिएको छ । 

उपकुलपतिले डाक्टरलाई आजै निकाल्ने, भोलि नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको डाक्टर यादवले बताए । उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाइएको छ ।

डा मनोज यादव जिल्लाकै राम्रो डाक्टरका रुपमा परिचित बन्दै आएका छन् । राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धरासायी बनाउन खोजेको बिरामीले बताउँछन् । उपकुलपति भण्डारी र रजिस्टारले प्रतिष्ठानमा मनपरी गरेको त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले बताउँदै आएका छन् । 

अहिले त्यहाँ कार्यरत डाक्टर र उपकुलपति, रजिस्टारबीच वार्ता भए पनि त्यो निकर्षमा पुग्न नसक्दा डाक्टरले प्रतिष्ठानको विरुद्धमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बुझिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै