• २०८१ बैशाख ११ मंगलबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

kharibot

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै आज सामूहिक राजीनामा दिएका छन् । 

प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा  वसन्त लामिछाने, सर्जन डा  ईश्वरी भुसाल, याम.डि.जि.पी डा अमित लाम्गाडे,  डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहेका छन् । 

यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम,  डा धना केसी, डा प्रितम डिसी, डा  राजेन्द्र फुलारा, डा  आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहेका छन् । 

डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । 

दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । आज बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै