• २०८१ बैशाख ७ शुक्रबार

ओली र मेरो भनाभनलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझौं – माधव नेपाल 

kharibot

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षसँगको भानाभनलाई गम्भीर रुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सहयोगीनगर सामुदायिक समाजले शुक्रबार गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताले व्यक्त गरेको चिन्ताप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् । उनले भने, भने, ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो । यसबाट अत्तिनु पर्दैन ।’

नेता नेपालले विषयवस्तुको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाका रुपमा बुझ्न सुझाव दिए ।

उनले भने, ‘घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? यस्तै हो त्यो पनि’ उनले हाँस्दै भने, ‘कहिलेकाहीँ छोराछोरीसँग विवाद भयो भने बिहे गर्नु वेकार रहेछ, छोराछोरी जन्माउनु वेकार रहेछ भन्नु हुँदैन यो जीवनको यथार्थ हो ।’
सामाजिक जीवनमा अनेक समस्या आउने भन्दै त्यसलाई सामना गर्ने आँट गर्नुपर्ने बताए । ‘तपाईंमा आँट छैन, सामर्थ्य छैन भने यो जिन्दगीमा केही गर्न सक्नुहुन्न’ उनले भने ।

के हो नेपाल र ओलीबीचको भनाभन ?

नेकपा अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बिहीबार बिहान ८ बजे बोलाइएको सचिवालय बैठक ओली र नेता नेपालबीच चर्काचर्की परेको थियो । करिब ९ बजे सुरु भएको बैठकमा बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले आफू सिंगापुरमा भए पनि सम्पर्कमै रहने भन्दै अर्का अध्यक्ष प्रचण्डलाई एकीकरण र कार्यविभाजनको बाँकी काम टुंग्याउन बैठक डाकेर निर्णय गर्न अनुरोध गरे । तर, त्यस्तो निर्णय सर्वसम्मतिमा गर्न ओलीले आग्रह गरेका थिए । सर्वसहमतिमा निर्णय गर्ने भन्ने विषयमा माधवकुमार नेपालले आफ्ना कुरा राखे पछि दुवै नेताबीच चर्का चर्की भएको थियो । 

नेता नेपालले निर्णय सबै आफैले गर्ने अनि सहमतिमा गर्नु भनेको बारे विरोध गरेपछि ओलीले भने, 'पार्टीले निर्णय लिनुपर्ने विषयमा पर्याप्त छलफल भएकै छ । हाम्रा अर्का अध्यक्ष (प्रचण्ड)ले बैठक बोलाएर निर्णय गराउन सक्नुहुन्छ । म पनि आवश्यकताअनुसार सम्पर्कमै हुनेछु, निर्णयहरू सबैको सहमतिका आधारमा गर्नुहोला भन्ने मेरो आग्रह छ ।'

त्यसको जवाफमा नेपालले भने, 'सहमति नभए पनि निर्णय भइहाल्छ नि, मेरो सहमतिविनै अस्ति निर्णय गराउनुभएको होइन ? सहमति हुन नसके विधि र प्रक्रियाबाट भइहाल्छ । त्यसमा अनौठो केही छैन ।'

साथै नेता नेपाललाई ओलीले जवाफ दिदै भने,'अध्यक्ष तपाईं कि म ? म अध्यक्ष भएकोले मसँग सहमति लिने भनेको हो त । मैले तपाईंसँग पनि सहमति लिने भनेको छु र ?' 

त्यसपछि दुवै नेताबीच भनाभनको क्रम बढेको थियो । नेता नेपालले यहाँ अध्यक्ष र सचिवालय सदस्यको हैसियत बराबर हो भन्दै विधि र प्रक्रियाबाट निर्णय गर्दा सबैको एक भोट हो, सबैको मत बराबर हुन्छ भनेका थिए । 

दुवै नेताबीच विवाद बढेपछि अर्का अध्यक्ष प्रचण्ड र बामदेव गौतमले यसमा विवाद नगरौँ  भन्दै बैठक स्वास्थ्यलाभ र शुभयात्राको कामना गर्न बोलाइएको भन्दै साम्य पार्ने कोशिश गरेका थिए ।

नेता नेपालले आफ्नो शुभकामना छँदै छ नि भन्दै स्वास्थ्यलाभ गरेर छिटै फर्किनोस्, म पनि यही कामना गर्दछु भनेका थिए ।

त्यसपछि ओलीले नेपाललाई कडा जवाफ दिदै, 'तपाईंको कामना चाहिँदैन, तपाईं त मलाई मरोस् भन्ने ठान्नुहुन्छ । मेरो स्वास्थ्यबारे अफवाह फैलाउँदै हिँडिरहनुभा’छ, म तपाईंको शुभकामना लिन्नँ । तपाईंको शुभकामना मलार्ई लाग्दा पनि लाग्दैन ।' भनेका थिए ।

ओलीको सो भनाईपछि नेपालले अलि आक्रोशित हुदै भने, 'मैले कहाँ भनेँ त्यस्तो ? शतप्रतिशत गलत हो । तपाईंजस्तो निकृष्ट र आपराधिक सोच राख्ने मान्छे म होइन । यही बैठकबाट तुरुन्त छानबिन कमिटी बनाऊँ, कहीँ कतै त्यसरी बोलेको एउटा मात्रै प्रमाण देखाउन सक्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु । बरु (केन्द्रीय सदस्य) राजेन्द्र गौतमले मेराविरुद्ध सार्वजनिक रूपमै लेख्दै हिँड्नुभएको छ, बैठकले कारबाही गरोस् ।'

ओली त्यतिमा रोकिएनन्, उनले अगाडी भने,'मेराविरुद्ध पनि तपाईंले बुधबार साप्ताहिकमा के–के लेखाउँदै हिँड्नुभएको छ, त्यो पनि कारबाहीको विषय हो । तर, कसलाई गर्ने ?' 

नेता नेपालले मैले कहाँ, के लेखाउँदै हिँडेँ ? स्वास्थ्यविरुद्ध के–के बोलेँ दुवै नोट गरियोस्, तत्काल छानबिन गरियोस् भनेका थिए ।

दुवै बीचको यो संवादपछि नेकपामा एक किसिमको तरंग आएको छ । पार्टी एकीकरणका काम अब अन्तिम चरणमा पुग्न लागेका बेला दुई शिर्ष नेताको यस्तो बहसले सरकार र पार्टीलाई असर गर्ने तर्क गर्न थालिएको छ । यस पछि आजै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डलाई उनकै निवासमा भेट समेत गरेका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै