बालबालिकालाई प्रेम किन सिकाउने ?

खरीबोट

मलाई थाहा छ तपाइँले प्रेमलाई साँघुरो घेरामा बुझ्नु हुने छैन् । शारीरिक आशक्तिको रुपमा हेर्नु हुने छैन् । प्रेमको यति साघुरो घेरा पनि हुदैन् । प्रेमको संकुचित र आशक्तिबाट तपाईं माथी उठिसक्नु भएको छ । तपाईलाई थाहै छ प्रेम तीन खालको हुन्छ-- शारीरिक ,मानसिक र आत्मिक । मैले यहाँ दोस्रो र तेस्रो को कुरा गर्न खोजेको हुँ । जीवन,जगत,ज्ञान, बिज्ञान र प्रबिधिलाई प्रेम गरौँ र गर्न सिकाऊँ भन्न खोजेको हुँ ।

प्रेम शब्द नै पूर्ण छ । प्रेम भनेको प्रेम हो । भावना हो । यसलाई शब्दमा कैद गर्न सकिँदैन । हृदयको सच्चा समर्पण नै प्रेम हो । प्रेम सच्चा र यथार्थ भयो भने त्यसले सफलता र खुशी तानेर ल्याउछ । किनकी प्रेममा जादुमयी शक्ति हुन्छ । असिम शक्ति र शान्ति हुन्छ । हो, यहि प्रेम विद्यार्थीहरुलाई अभिभावक र गुरुहरुले जगाइदिने हो भने ज्ञानको ढोका खुलेर उनिहरुको जीवनमा सफलता र खुशी प्राप्त हुन्छ ।

प्रेमको कुनै नियम हुदैन् । ब्रह्माण्ड परिवर्तनशिल भएपनि प्रेम नै संसारमा यस्तो चिज हो जुन अपरिवर्तनिय हुन्छ । प्रेम गर्ने चिज पनि होइन यो हुने चिज हो । प्रेमिल भावनाहरु बिद्यार्थीहरुमा जगाइदिएर सारा जगतलाई प्रेम गर्न सिक्यो भने त्यो भन्दा ठूलो उपलब्धि के हुन्छ र ? प्रेमले उनिहरुलाई मार्गदर्शन गर्दा जीवनमा कुनै कुराको पनि अभाव महशुस हुने थिएन तर आजको यो समयमा कसले गर्ने सच्चा प्रेम?कसले अनुभूत गराउने ? भौतिकबादी, स्वार्थी, आत्मपरक र मतलवी दुनियाँमा ।

शिक्षक या अभिभावकले बिद्यार्थीका आँखामा आफूलाई देख्नु र बिद्यार्थीहरुले उहाँहरुको आँखामा आफूलाई देख्नु एक अर्को प्रतिको प्रेम हो । शिक्षकले बालकको  मनमा दिब्य प्रकाश पार्न सक्छ्न् । जुन बालकलाई गुरुको प्रेम,सहानुभूति र प्रोत्साहन मिल्छ उसमा आत्मविश्वासको संचार हुन्छ । बालकले जीवनमा केही फरकपनको महशुस गर्छ।बिस्तारै अस्तित्वको बोध तर्फको मार्ग खुल्न थाल्छ । 

हाँसीहाँसी जिउन,जीवनभर आनन्द प्राप्त गर्न,सुखी रहन,आत्मामा उर्जा भर्न र परमात्मा संग जोडिन बिद्यार्थीलाई यस्तो शिक्षा दिऊ कि उनिहरुले प्रेम गर्न सिकून्,प्रेम पाउन सिकून् ।

प्रेम गरून् । प्रेम लिउन् । प्रेमको बदलामा प्रेम नै मिल्छ । दिउन् । बालकलाई प्रेम, प्रोत्साहन र प्रसंशाको आवश्यकता हुन्छ । त्यो दिऊँ । आफूलाई नी यी तीन कुरा मिल्छ ।

न्यूटनले भने जस्तै--"हरेक क्रियामा बराबर तर बिपरित प्रतिक्रिया हुन्छ । "बालकलाई सुम्सुम्याउनुहोस् उसले तपाईं तर्फ प्रेमिल आँखाले हेर्दै मुस्कान छोड्छ ।  बच्चासंग प्रेम गर्नुभयो भने  उनीहरुले सम्मान र प्रेम फर्काउने छ। यो निश्चित छ कि हामीले प्रेम बाड्यौं भने हामीले पनि पाउँछौ । ओशोले भन्नुभएको छ--"जुन मानिसले आफ्नो जीवनमा प्रेमपूर्वक जति दिन्छ या बाड्छ,उसको जीवन सूवर्ण हुँदै जान्छ अनि जुन मानिस दिने कुरामा मुठ्ठी कस्छ त्यति नै माटो हुँदै जान्छ " । त्यसैले प्रेम बाड्यौँ सूवर्ण हौं ।

के हामी शिक्षकहरुसंग त्यो प्रेम छ?म छैन त भन्दिन तर नभएमा कसरी दिने?यो गम्भीर प्रश्न आफैलाई सोध्छु । समस्या त यो छ कि आफूसँग नभएको कसरी दिने ? दिनलाई त हुनुपर्योल नी! फेरि शिक्षकले बिद्यार्थीहरु कुटेका,पिटेका, झुण्डिएका,मारेका घटना भाइरल भएको सुन्नुभएकै छ । यसबाटै प्रमाणित हुदैन र ? के छ र के दिदैछन् भन्ने कुरा ? ध्यान मार्फत दिने हो । ध्यान नै छैन् प्रेम कसरी हुन्छ ? ध्यानको फूल हो प्रेम । फूलले नमागिकनै प्रेम पाउँछ । रोशनी जहाँ छ त्यहाँ त हुन्छ, हुन्छ दिने कुरा । तर भिखमग्गा भिखमग्गा भएपछी के गर्ने ? हुन पनि कुरा गहिरो छ । 

मैले धेरै पहिला गणित पढाउने शिक्षकलाई सोधेको थिए—सर ! गणित सिक्न के गर्नुपर्छ ? सरले सजिलो छ -"गणितलाई प्रेम गर । तिमीलाई प्रेम गर्न आउछ ?" भन्नुभएको थियो ।

त्यो सुनेर म अवाक भएको थिए । आउँछ -आउदैन केही भन्न सकिन कुरा केही बुझेको भए पो भन्नु ! सायद सानो भएर पो हो कि । प्रेमको केही ज्ञान थिएन् । थिएन् नै भनौ भने प्रेमलाई म अर्कै अर्थमा मात्र बुझ्थे । मैले धेरै कोशिश गरे । गणित सिक्नु थियो । नियालेर हेरीरहन्थे म गणितलाई घण्टौ घण्टा । ज्यामिती सिक्न मैले कोठा, किताब, दराज, झ्याल नापी रहन्थे । तर्क र प्रमाण खोजी गर्न थाले । नियालेर हेर्न थालेको थिए ज्यामितिय आकृती र संरचनालाई । किताब जतन गर्थे । मलाई त यति गाह्रो छ समस्या समाधान गर्न । झन गणितलाई कति यी समस्याहरूले सताउदा हुन भन्ने सोच्थे । त्यसैले मैले समाधान निकाल्नै पर्छ भनेर लाग्थे । बिस्तारै मलाई गणित मन पर्न थाल्यो।हिसाब मात्र गरिरहन्थे । त्यतिबेला समय र स्थान बिर्सन्थे । राती राती सम्म पनि हिसाब गर्थे । परिक्षामा राम्रो गरे । सरले गणितलाई प्रेम गरेछौ भन्नुभो । मैले प्रेम के हो भन्ने त्यतिबेला अलिकती बुझेको थिए । त्यसपछि जान अन्जान गणितमै समर्पित भएछु । अहिले गणितीय प्रेम निरन्तर विद्यार्थीहरुलाई बाड्ने कोशिश गर्दैछु । 

प्रेमले सफलता र खुसी दिन्छ भनेर बुझ्न प्रेम गर्नु जरुरी छ।मेरो अनुभव र अनुभूतिले भन्छ--ज्ञानमा प्रेम मिसाएर दिदा त्यो दिगो र चिरस्थायी हुन्छ । जब म दामोदर सरको नाम सम्झिन्छु सारा उहाँले पढाएका कुरा याद हुन्छन् । उहाँको ब्याक्तित्व ,बिचार, प्रेम र जगाइदिएको भावना ताजा भएर आउँछ । प्रेमिल तरङ्गहरु आनन्द लिएर आउछन् । मेरो शिर झुक्छ । नमन गर्छु । आभार ब्यक्त गर्दछु । अहिले पनि यो लेखिरहदा श्रद्धा गर्छु र यी शब्द, सर ! तपाइँको लागि समर्पित गर्छु । तपाइँले मलाई जीवनप्रति जुन मूल्य जगाइदिनु भो ।

त्यो धेरै शक्तिशाली छ । असीमित छ । तपाइँले जगाइदिएको प्रेम नै मेरो ज्ञानको जग हो । बुबाआमा र प्रकृतिले दिएको प्रेम नै मेरो अस्तित्व हो । हो, अहिले म प्रेम बाडेर प्रेम नै लिदै आनन्दमग्न छु ।

एउटा प्रसङ्गको कुरा गर्न चाहन्छु । शिवगुरु एक महान गुरु थिए । सारा दिन शिष्यहरुलाई शिक्षा, दीक्षा र उपदेशमा बिताउथे । शिष्यलाई परेको दु:ख आफ्नै ठान्थे र दुर गर्थे । अति प्रेम गर्थे । त्यही क्रममा बलदेबलाई उनले सडकबाट ल्याएर आफ्नै आश्रममा पालन पोषण शिक्षा दीक्षा र उपदेश गरेका थिए । प्रेम र सहानुभूति दिन्थे । बलदेवलाई आफ्नो एक मृगौला पनि दिएका थिए । जुन दिन बलदेवले बिहे गर्योन । उसलाई सहज होस भनेर केही सुनका असर्फी दिएर उनी नदिको किनारमा गएर बसे । ताकी बलदेवलाई आराम मिलोस । एक दिन बलदेवलाई जुवा खेल्न मन लाग्यो तर पैसा थिएन । ऊ गुरु कहाँ माग्न गयो तर गुरुसँग केही थिएन र सम्झाएर पठाए । बाटोमा ती पहिलाका असर्फी सम्झियो र गुरुलाई मारेर भएपनी ल्याउने सोचेर फर्कियो । गुरुलाई हेर्योा । गुरु ध्यानमा एकाग्र थिए । दिब्य ज्योति ऊ तर्फ आइरहेको देख्यो । प्रेमका शक्तिशाली तरङ्गहरुले उसलाई रिगटा लाग्यो । थचक्क बस्यो । सारा बिगत सम्झियो । ऊ एकाएक परिवर्तन भयो । आफैलाई धिकारो र प्रेम लिएर परिवर्तन भइ फर्कियो । बलदेवले सारा आफ्ना  कूकृत्यहरु  गुरुलाई सुनायो । तथापि गुरुले माफी दिए । प्रेमले धाप मारे । गुरुको प्रेमले ऊ सदाका लागि बदलियो । हृदयमा प्रेम जाग्यो । त्यसपछि बलदेव  संसार भर प्रेम बाड्दै हिड्न थाल्यो । 

प्रेममा मानिसलाई परिवर्तन गर्न बिशाल शक्ति हुन्छ । बलदेवको बिचार र जीवनलाई गुरुको प्रेमले बदलदियो ।

बिद्यार्थीहरुलाई ज्ञान, धारणा र सीप प्रदान गर्ने हो । यी बिशेष गरि मस्तिष्क पक्ष हुन् । यो बिचार, तर्क , बुद्धि प्रमाण सँग सम्बन्धित छ । प्रेम त हृदय पक्ष हो । यो दयाँ, करुणा,माँया, भावना, समर्पणसँग सम्बन्धित छ । किन आवस्यक हुन्छ हृदय पक्ष सिकाउन र जगाउन बिद्यालयमा ? ज्ञानमा प्रेम भएन भने त्यो सजिव र क्रियाशिल हुन् सक्दैन् । ज्ञानको प्रेमले उर्जा प्राप्त हुन्छ । प्रेमको उर्जाले ज्ञान र धारणामा परिवर्तन ल्याउछ । मनको शान्ति र आत्माको उर्जा प्रेमले दिन्छ । सिकारुलाई सिक्ने उर्जा प्रेमले दिन्छ । सफलताको लागि कामप्रती प्रेम चाहिन्छ । कामप्रती प्रेम भयो भने मानिसले असम्भव ठानिएका काम सहजै गर्न सक्छ । भनिन्छ,प्रेमको अगाडी मृत्यु पनि लगलग काम्छ ।

प्रेमपूर्ण सिकाई भयो भने थकाई हुदैन् । प्रेम भएन भने ज्ञान,धारणा र सिपले उर्जा पाउदैन् । बालकले सिक्न सक्दैन् । उसलाई झ्याउ लाग्छ । अल्छी लाग्छ । तनाव आउँछ । हाइ हाइ काड्छ । यसर्थ प्रेम सहित ज्ञान दिनु आवश्यक छ । यो कुरा शिक्षक र अभिभावकले गहिरो गरि बुझ्नुपर्छ ।

दु:ख के हो ? दु:खको सामना के ले कसरी गर्ने ? कारणहरुको निवारण कसरी गर्ने भन्ने कुरा स्कुलमा सिकाइनुपर्छ । सुखमात्र सिकाउदा दुख प्राप्त भएको छ । श्री रामकृष्ण परमहंसले भन्नुभएको छ् -"जतिपनी दु:ख प्राप्त हुन्छ जीवनमा सबै सुखको अभिलाषाले गर्दा नै हुन्छ ।“

बुद्धको आर्य सत्य अनुसार  दु:ख नासको एक मुख्य उपाय भनेको प्रेम हो । दु:ख नासको एकमात्र उपाय भनेको सबैमा प्रेम भावना जागृत हुनु हो । एकले अर्कोलाई प्रेम पूर्ण भावले सहयोग गर्ने हो भने संसारबाट दुखको अन्त्य हुन्छ । तर त्यसको लागि ब्यक्तिमा प्रेम गर्न जगाउनु पर्छ । संसारनै एक घर जस्तो, सबै मान्छे एक परिवार जस्तो हुनुपर्छ, बुद्धको अर्थमा यहि नै दुख नास गर्ने अन्तिम उपाय हो । दु:खको नास नै सुखको प्राप्ती हो ।

प्रेम जगाउने तरिकाहरु: 

प्रेम आफै जाग्छ । या जगाउन सकिन्छ । आ- आफ्ना बिश्वास हुन्छ्न् । अनुभूति हुन्छ्न् । लिने र अनुभूत गर्नेमा भर पर्छ । कसैले जीवनलाई स्वर्ग बनाउछ्न् कसैले नर्क । आ -आफ्नो हातमै छ । म भन्छु-- प्रेम जति जटिल र संबेदनसिल बिषय हो त्यति नै सरल र सहज पनि छ । प्रेम सिकाउन सकिन्छ । प्रेमका तरङ्गहरु मार्फत यो जगाउन पनि सकिन्छ । तर आफूसँग त्यो हुनुपर्छ । तपशिलका उपायहरूले प्रेम जगाउन सकिन्छ ।

१. इच्छित कार्य गरौँ, गराऊँ:

आफूलाई जुन काम गर्ने इच्छा छ।त्यो हृदयले गर भनी अर्हासएको छ भने त्यो कार्य गरौ र बुझेर गर्न लगाऊ ।

तर सबैभन्दा पहिला पहिचान गरौं कि कुन काममा इच्छा जान्छ।चाहना छ।हृदयको आवाज के छ ? इच्छित कार्यले  कार्यप्रती प्रेम जन्माउन सक्छ । जस्तो पढाईलाई पुजा तथा आरधना मानेर अध्ययन गर्दा जटिल मानिएको ज्ञान पनि सहजै ग्रहण हुन्छ । पढाइप्रती प्रेम जाग्छ ।

२. हृदय देखि नै क्षमा दिऊँ:

बालक होस या जो कोहि होस् गल्ती गर्नसक्छ्न्। गल्ती जान अन्जान हुन्सक्छ । बिद्यार्थीले जान्न सक्छ या नजान्न सक्छ । उसले गरेका गल्तीहरुमा हृदय देखि नै क्षमा दिनु पर्छ । जसले गर्दा उसलाई गल्तीको महशुस गर्ने उर्जा मिल्छ र आभार व्यक्त गर्छ ।

३. विश्वास गर्न र सहन सिकाऊँ:

सफलता र खुशी विश्वास गरेर नियमपूर्वक अभ्यास गर्दा मिल्छ । तर अलिकति पनि बिचलित हुनु हुदैन् । सहनसिलता र धैर्यताले बिचलित हुन दिदैन् । अझ यसमा प्रेम मिसाइदियो भने थप उर्जा मिल्छ । त्यसैले बिश्वास गर्न र सहन सिकाऊ ।

४.बालकका कुरा सुनौँ,पढौँ र बुझौं :

बालकलाई स्वीकार गरौँ।विद्यार्थीलाई बुझौँ र सम्मान गरौँ। इज्जत गरौँ । ऊ सँगै खेलौँ । नाच्यौँ । रमाऊ । रूओँ । दया गरौं । करुणा भावले हेरौँ । उसका समस्या समाधानमा लाग्यौँ । यदि मन जित्यौ भने गहिरो आत्मिक सम्बन्धको बिकास हुन्छ । प्रेम पलाउछ । त्यसबाट मानव ,ज्ञान,बिज्ञान ,प्रकृति र जगतलाई प्रेमले हेर्न सिकाऊ । प्रेम गर्न सिक्यो भने बाँकी सबै सिक्छ ।

५.प्रेम बाड्यौँ:

प्रेम यस्तो चिज छ जो जति बाड्यो त्यति नै बढ्दै जान्छ । त्यो असीमित र अपरिमीत भएर जान्छ । र पुनः बाड्ने मान्छेमा फर्किन्छ । यसमा दोहोरो आकर्षणको नियम लागू हुन्छ ।

बाड्न लगाऊँ प्रेम । हरेक बस्तुलाई प्रेमको नजरले हेर्न सिकाऊँ । हृदयको ढोका खोलेर हेर्न भनौं । जसरी प्रेमले गर्दा फूल सुन्दर देखिन्छ्न् । हरियालीले गर्दा बन शान्त र शोभाएमान छ । हिउँले गर्दा हिमाल जाज्वल्यमान छ । वासल्यले आमा महान छिन् । वंशजले बाबू महान् छ्न् । ज्ञानमा प्रेम मिसाएर दिशानिर्देश गर्ने गुरु महान छ्न्। त्यसरी नै ज्ञान र धारणालाई प्रेम गर्ने बिद्यार्थी महान छ्न् । प्रेम बाड्ने महान आत्माहरु अमर छ्न् । ओशो, महाबिर, रामकृष्ण परमहंस, बुद्ध र इसा महान छ्न् । प्रेमले नै उहाँहरुले बिश्वको मन जित्नु भयो । त्यसैले प्रेम बाड्न सिकाऊ महान बनौँ ।

६.अरुको भलाईमा लाग्यौँ:

सुख बाड्यौ बड्छ । दुख बाड्यौ घट्छ । जीव र जगतलाई प्रेम गरौँ । आनन्द आउँछ । दुखी, गरिव, असाहय, रोगी र अपांगलाई मद्द्त गरौ । सन्तुष्टि मिल्छ । गर्व महशुस हुन्छ ।

त्यसैले अरुको भलाईमा जीवनलाई समर्पित गर्न सिकाऊ । अरुको भलाई र हित गर्दा र समर्पित हुदा प्रेम प्राप्त हुन्छ। जीवनको सार्थकता प्रेम पाउनु र दिनुमा छ ।

७.अस्तित्व बोध गराऊँ:

ओशो भन्नुहुन्छ--"प्रेम आत्माको भोजन हो।ईश्वरको पनि ईश्वर हो । प्रेम आत्मामा लुकेको परमात्माको उर्जा हो । प्रेम आत्मामा निहित परमात्मामा पुग्ने मार्ग हो । यो बिना जो बाँच्छ ऊ भोकै मर्छ । हृदयको एकै शास्त्र छ त्यो प्रेम हो ।" प्रेममा सबै संसार बाधिएको छ । अस्तित्व र सम्बन्धको बोध गराऊँ । प्रेम बुझाऊँ । अनुभूत गरौँ र गराऊँ ।

८.समय र स्थान भन्दा पर लैजाऊँ:

सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । प्रेममा स्थान र समयको बोध हुन्न । समय ,स्थान र भौतिकताले प्रेम सँग हार्छ । प्रेमको सदैव जीत हुन्छ । आइनस्टाइनले सामन्य सापेक्षातावादको सिद्धान्त बुझाउदै भनेका थिए-- "जब म इतिहासको प्रोफेसरको भाषण सुनिरहेको हुन्छ । एक मिनेट एक घण्टा जस्तो लाग्छ । तर जब म कुनै सुन्दर स्त्रीको बाहुपासमा हुन्छु एक घण्टा पनि एक मिनेट जस्तो लाग्छ ।” 

९.मुस्कुराऊँ र प्रेमले धाप मारौँ: 

आफूसँग भएको सबै दिदा पनि दिने इच्छा मर्दैन भने त्यो प्रेम हो । सकभर सबै दिऊँ । दिन नसके मुस्कुराऊँ । गरिव र दुखीहरुलाई प्रेमले धाप मारौँ । प्रार्थना गरौँ । आशीर्वाद दियौँ । आभार व्यक्त गरौँ । प्रेमले रोग, अवस्था र असफलतामा अचुक औषधिको काम गर्छ । अज्ञानताको ढोका फोड्छ ।

संसारमा सबैभन्दा बढी लेखिएको र पढिएको बिषय हो प्रेम । प्रेममा असिमित उर्जा हुन्छ । असम्भव ठानिएका बिषयहरु प्रेमको अगाडी घुडाँ टेक्छ्न् । यति जटिल मनिएको, विधि र बिधान नभएको र अनुभूतिको बिषयलाई लेखेर पढेर ब्यक्त गर्न सकिन्छ र ? प्रेम जगाउदा जागी हाल्ने र नजगाउने नजाग्ने हो र ? प्रेम त न कहिल्यै हामी गुमाउछौँ न त प्राप्त गर्छौँ । यो त स्वत: हुन्छ हैन् र ? यहाँले अनुभूतिको स्तरमा बुझिदिनुहुनेछ । 

यो पनि बुझिदिनुहुनेछ--  प्रेम जरुर जीवन र जगतको शक्तिशाली उर्जा हो।यसमा फैलने शक्ति हुन्छ । बाँड्नुहोस, बड्दै जान्छ । ज्ञानको प्रेमील महासागरमा डुबुल्की मार्न बालकलाई गुरु तथा अभिभावकले सिकाउन् । बाँकी आफै सिक्छन् र अनुभूत गर्छन् अनि जीवनलाई पुण्य बनाउँछन् । यसर्थ प्रेम गरौँ । विशुद्ध प्रेम गरौँ र गर्न सिकाऊँ । त्यसपछि आशा गरौँ--प्रेम गर्न सिकून् बाँकी आफै सिक्छ्न् ।

(लेखक पाण्डे सुनपकुवा मा बि उर्लाबारी-२ मोरङका शिक्षक हुन्) 
 

सम्बन्धित समाचार

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी

जोकर म भएँ की जकिन फोनिक्स ?

काठमाडौँ । साथिले आफू एक्लै गएर जोकर फिल्म हेरेको, फिल्म राम्रो लागेको कुरा ट्विट गरिकन दोहोर्याएर हेरेको पनि ट्विट गर्न भ्याइसकेको थियो ! आफुले भने एकचोटी हेर्ने साइत पनि जुराउन

भ्रमण वर्ष २०२० मा पर्यटकलाई विशेष छुट अफर

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको २ महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित

चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता माग

दमौली । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा


z