• २०८१ बैशाख ८ शनिबार

बहसमा 'रवि' वाला पत्रकारिताको थ्योरी

kharibot

काठमाडौँ । कुनै एक संञ्चारगृहमा स्वस्थ्य बिटका लागि रिपोर्टरको खोजी हुँदैछ, त्यहाँ एउटा पत्रकारिता पढेको र अर्को स्वास्थ्य पढेको बिद्यार्थीको प्रतिस्पर्धा भयो भने जागिर कसले पाउला ?

आज भन्दा पाँच बर्ष अगाडी म पत्रकारिता क्षेत्रका प्रायः मानिससँग यो प्रश्न सोध्दै हिड्थें । धेरैको उत्तर हुन्थ्यो, स्वास्थ्य पढेको मान्छे । अवस्य नै, स्वास्थ्यको रिपोर्टिङ गर्न, स्वास्थ्य पढेको मानिस नै उपयुक्त हुन्छ । यदि मेरो आफ्नो संञ्चारगृह हुन्थ्यो भने पनि म त्यही गर्थें ।

उत्तर सजिलै प्राप्त हुँदा पनि मैले पत्रकारिता अध्ययनलाई छाडिन । अहिले पत्रकारिताकै स्नाकोत्तर तह अन्तिम सेमेष्टरको परिक्षासँगै थेसिसको तयारीमा छु ।

जागिर पाउने सम्भावना कम हुँदाहुँदै पनि पत्रकारिता अध्ययन गर्नुलाई त रुचिका बिषयमा लिन सकिएला तर यसमा पनि कुरा फरक छ । मैले पढेको पत्रकारिता र गरेको पत्रकारिताको सम्बन्ध समेत आकाश र जमिनकै छ । पढेका कुरा किताबमा मात्रै सिमित छ, गराई फरक छ । जसोतसो पत्रकारिताका केहि मुल मर्मलाई जोगाने प्रयास भने भईरहेकै छ ।

यस्तो अवस्थामा हामीले सिद्धान्तमा पढेको पत्रकारिता, व्यवहारमा गरेको पत्रकारिता र अहिलेको रविले गरेको पत्रकारिता तिन धारमा छुट्एिका छन् । रविको पत्रकारिताको परिभाषाले पत्रकारले जे–जे गर्न नहुने भनिएको छ, त्यहि गरेको छ । सायद त्यसैले पनि हुनसक्छ, पत्रकारिताको बिषय अध्ययन पश्चात पत्रकारिता गरिरहेकाहरुको आँखामा उनी बिझाउँछन् । कतिले त उनी पत्रकार हो र हैन भन्नेमै समेत पत्रकारिता गरिरहेका छन् ।

जे जस्तो तर्क बितर्क आएपनि प्रेस काउन्सिल नेपालले दिएको पत्रकारको परिभाषामा उनी अटाएका छन् । प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषामा उल्लेख गरिएको छ –‘कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस–क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’

यो परिभाषा अनुसार, हामी सबै नेपाली पत्रकार हौं । यति धेरै काम पत्रकारितामा पर्ने भएपछि, हामी सबैमा एक न एक गुण त छ नै । यो परिभाषा अनुसार, भविष्यवाणी गर्ने ज्योतिष हरीहर शर्मा देखि द भ्वाइस अफ नेपालका संञ्चालक सुशिल पौडेलसम्मका सबै पत्रकार हुन् ।

युट्युवमा पब्जीको लाइभ गर्नेहरु समेत सानसँग आफूलाई पत्रकार बोलाइरहेका बेला, तिनीहरुको भन्दा धेरै गुण मिलेका पत्रकार रवि लामिछाने पत्रकार हो या हैन भन्ने सवालै नउठ्नुपर्ने हो ।

खैर, यहाँ कुरा अर्कै छ । यतिधेरै मानिसहरु टेलिभिजनमा कार्यक्रम चलाउने पत्रकारलाई भगवान मानिरहेका छन् । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व तयार पारिएको भिडियोमा रवि लामिछानेको नाम जोडिएकाले उनी अहिले चितवन प्रहरी हिरासतमा छन् र उनका हजारौं शुभचिन्तक गाँस र बास छाडेर रवि बचाउ आन्दोलनमा होमिएका छन् । देश बिदेशबाट रवि बचाउन जनसागर उर्लिएको छ । उनको बारेमा नकारात्मकको ‘न’मात्रै देखेपनि उनका शुभचिन्तक मारौंला जसरी झम्टिन्छन् ।

यी सबै घटना नियालिरहेकी पत्रकारिताको बिद्यार्थी म खुशी हुने कि दुःखी ? के हामीले अध्ययन गरेका सबै सिद्धान्तहरु बकम्फुस्से हुन् ?  हामीले पढेका मोटा मोटा मास कम्युनिकेशन थ्योरी सबै काम नलाग्ने हुन् ? हामीले घोकेका पत्रकारिताका नम्स् एण्ड भ्यालुज्हरु सबै आलु हुन् ? के अब पत्रकारिताका बिद्यार्थीलाई 'रवि' वाला सिद्धान्त पढाउनुपर्ने हो ?

पत्रकारिताको सिद्धान्त परिवर्तन गर्नैपर्ने कुरा विगतमा पनि नदेखिएको भने होइन । उदाहरणका लागि रविन्द्र मिश्रको पत्रकारिता, ऋषि धमलाको पत्रकारिता, प्रेम बानियाँको पत्रकारिता आदि आदि र अहिले सबैलाई मात खुवाउने रवि लामिछानेको पत्रकारिता ।

हामीले पढेको पत्रकारितामा 'न्युज इज नट न्युज, इफ इट इज नट न्युज' ( समाचार त्यो होइन, जुन समाचार हैन) हुन्थ्यो भने अहिले न्युज इज नट न्युज इफ इट इज न्युज (समाचार त्यो होइन, जुन समाचार हो) भईरहेको छ ।

अचेल गाउँमा कुनै किसानको भैंसी करायो र कुनै पत्रकारले उक्त मोमेन्ट क्याच गर्न भ्यायो भने त्यो भैंसी रातारात भाइरल हुन्छ । हजारौं 'युट्युववाला पत्रकार' क्यामरा र बुम बोकेर उक्त भैंसीको अन्तरवार्ता लिन थाल्छन् । भैंसीले दुई चारओटा भिडियोमा काम समेत पाउँछ । उसलाई हरेक भिडियोमा अनौठो आवाज निकालेर कराउन भनिन्छ र त्यसलाई बेचेर लाखौं कमाइन्छ ।

अचेल मलाई भेट्नेजति सबैले सोध्छन्, के भएका होलान् है आजभोली पत्रकारहरु ?  पत्रकारले त देशै बर्बाद गर्ने भए ? पत्रकारको त मलाई विश्वासै लाग्दैन आदि आदि । यस्ता प्रश्न सोध्नेहरुमा प्रायः मिडियासँग जोडिइराख्ने मानिसहरु नै हुन्छन् जो क्यामरा र बुम देख्ने बित्तिकै दायाँबायाँ नसोची बकबक गर्नथाल्छन् । उनीहरुलाई दिने जवाफ म सँग हुँदैन ।

हामीलाई पढाउने समयमा भनिएको हुन्छ, यदि कसैसँग अन्तर्वाता लिन गइरहेका छौं भने अध्ययन अनुसन्धान पूर्ण रुपमा हुनुपर्छ । यहि कुरा उनीहरुलाई पनि म भन्न चाहन्छु, तपाई कस्तो मिडियामा अन्तवार्ता दिदैं हुनुहुन्छ, कोसँग कुरा गर्दै हुनुहुन्छ अनुसन्धान गर्नुस् ताकी पछि अन्तवार्ता सार्वजनिक हुँदा यस्तो हेडलाईन राखिदिएछ, राम्रो बकबक काटेर नराम्रो हालिदिएछ जस्ता गुनासो गर्न नपरोस् ।

हालसालै म ट्रेकिङका लागि सिन्धुपाल्चोकमा रहेको पाँच पोखरी गएको थिएँ । अन्य जतिपनि भ्रमण पत्रकार बनेको गरेको म त्यहाँ एक आम दर्शक, आम पाठक र आम श्रोता बनेर गएको थिए । त्यहाँ एक सय एक्काउन्न जना हाफ म्याराथुन धावकसँगै केहि राजनितीज्ञ, सुरक्षाकर्मी र युट्युव तथा अनलाइनका पत्रकारहरु पुगेका रहेछन् ।

त्यहाँ पुगेका हरेक बौद्धिक भनिएका मानिसको मुखमा आ–आफ्नो भडास थियो । मानिसहरु युट्युवमा हेरेका बिषयबस्तुका आधारमा एकअर्कामाथी खनिइरहेका थिए । दुई मिल्ने साथीको बीचमा बिचारको द्वन्द थेग्नै नसकिने अवस्थामा पुगेको देखिन्थ्यो । मानिसहरु पक्ष र बिपक्षमा आफ्ना मतहरु राखिरहेका थिए । सबैसँग बिचार थियो, एक अर्काको बिरुद्धमा । उनीहरु तयारीका साथ बैचारिक युद्धका लागि मैदानमा ओर्लिएका जस्ता देखिन्थे ।

त्यस्तो अवस्थामा मैले आफूलाई म पनि पत्रकारिताको बिद्यार्थी हुँ भनेर चिनाउनु उचित ठानिन र चुपचाप थन्किएर बसें । पछि केहि पत्रकार भनिने साथीलाई भेटेपछि सुनाएँ, म पनि पत्रकार हो नि ! उनीहरुले तलदेखि माथिसम्म स्क्यान गरे र इग्नोर गरे, सायद म पनि पत्रकार भनेर पत्याएनन् होला । किनभने मेरो हातमा क्यामरा र बुम थिएन । एक अर्काबिरुद्ध चर्काचर्की बहस गरिरहँदा म सुनिरहें, केहि बोलिन । केहि नबोल्नु त अचेलको पत्रकारको गुण हुनै सक्दैन भन्ने पनि उनीहरुलाई भयो होला ।

हामीलाई पढाउने प्राध्यापक सरहरुले भन्नुहुन्थ्यो, पत्रकार भनेका यस्ता जन्तु हुन्, जो सबै कुरा अरुलाई नै सोध्छन् तर सबैलाई जान्ने मै हुँ भन्ने भ्रम पार्न सफल हुन्छन् । दुईचारजना पत्रकार भेला भए भने यो कुरा सजिलै प्रमाणित पनि हुन्छ ।

जे होस् मेरो निस्कर्षमा, अब पत्रकारिताको बिद्यार्थीका लागि नयाँ कोर्स अफ स्टडीको खाँचो देखिन्छ । जुन कोर्स अफ स्टडीमा गाली गर्ने तरिका, गालीका शब्द छनोट, गाली गर्दाका हाउभाउ तथा प्रस्तुतीशैली समावेश हुनुपर्दछ । त्यस्तै, कस्तो बिषयलाई कसरी मोड्ने, आफ्नो बिचारले अर्काको बिचारलाई कसरी आक्रमण गर्ने, समाचारको बीचमा बिचार कसरी घुसाउने जस्ता बिषय पनि राख्दा राम्रै होला । मानिसलाई कसरी ब्ल्याकमेल गर्ने, कसरी समाचारलाई बढाइचढाई गर्ने जस्ता बिषय ऐच्छिकमा राख्दा ठिक होला कि, कि कसो ?

(यी लेखकका निजी विचार हुन्)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै