बर्दिया(गेरुवा) । बर्दियाको गेरुवा गाँउपालिका वडा नं ४ डङपुरमा बाघको आक्रमणमा परि बिहिवार मृत्यु भएकी ५६ बर्षिया रामकली शाहीको परिवारलाई तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ ।
बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कोष का कार्यालय प्रमुख श्याम थापाले बताए ।
हामीसँग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुने थापाले बताए। रकम हस्तान्तरण कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, गेरुवा गाँउपालिकाका प्रमुख जवानसिंह केसी र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतको उपस्थिति रहेको थियो ।
घटना दुःखद छ र अबका दिनमा वन्यजन्तुबाट यस्ता किसिमका घटना नहुन दिनका लागि तारबारलाई अझै व्यवस्थित गराउने साथै स्थानीय र गाँउपालिकाका प्रमुखसँग बसेर बृहत छलफल गरी वन्यजन्तुबाट हुने क्षतिलाई न्युन पार्न तत्काल नै पहलि कदम चालिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
दुःखद घटनाबाट हामी सबै बर्दिया बासि नै स्तब्ध भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । नगद ५० हजार हालको लागि राहतस्वरुप मात्र हो र क्षतिपूर्ति वाफत नेपाल सरकारबाट पाउने १० लाख रुपैयाँ छिटो उपलव्ध गराउनका लागि सामान्य कागजि प्रक्रिया पुरा हुने वित्तिकै मृतकका परिवारलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए।