• २०८१ बैशाख ६ बिहीबार

पतिको अगाध प्रेमबाट आजित पत्नीले मागिन् डिभोर्स, भनिन् कहिल्यै झगडा नै गर्दैनन्

kharibot

यूएई । पुरुष र महिलाबीच सम्पत्ति, खराब आचरण, शारीरिकसमस्या आदि विभिन्न बेमेलका कारण डिभोर्स हुने गरेको त थाहा छँदै छ । तर, एक महिलाले आफ्नो पतिसँग डिभोर्स माग्दा यस्तो कारण बताइन् जसले गर्दा सुन्ने हरेक व्यक्ति अचम्ममा परेका छन् । 

यूएईकी ती महिलाका अनुसार उनका पतिले उनीसँग यति धेरै प्रेम गर्दछन्, जसबाट दिक्क भएर उनले डिभोर्स गर्न लागेकी हुन् । यूएईको एक अदालतमा ती महिलाले डिभोर्सका लागि निवेदन दिएकी हुन् । उनको विवाह भएको केवल १ वर्ष भयो । 

त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार महिला आफ्नो पतिको प्रेमलाई सहन गर्न सकिरहेकी छैनन् । त्यसैले नै उनले डिभोर्स दिन चाहेकी हुन् । पतिले उनीसँग कहिल्यै ठूलो स्वरले समेत कुरा नगरेको, सधैं शान्त रहेको र आफूलाई कहिल्यै उदास हुन नदिएको उनको भनाइ छ । 

उनले अदालतलाई आफू पतिको प्रेम र स्नेहबाट दिक्क भएको बताइन् । पतिले घरको कामकाजमा पनि सघाउने र कहिलेकाहिँ खाना पनि बनाउने गरेको उनको भनाइ छ । उनका अनुसार विवाह भएको एक वर्षमा दुईबीच एक पटक पनि झगडा भएको छैन । 

समाचारका अनुसार महिलाले पति आवश्यकताभन्दा बढी उदार रहनुका साथै बढी नै प्रेम दिएकाले आफ्नो जीवन नरक बनेको बताएकी छन् । 

महिलाले भनिन्, ‘म एक झगडाको लागि पनि तड्पिरहेकी छु, तर मेरा रोमान्टिक पतिसँग झगडा गर्नु असम्भव जतिकै छ । किनकि, उनी हरेकपटक मलाई माफ गरिदिन्छन् र ममाथि गिफ्टको वर्षा नै गरिदिन्छन् । म उनीसँग वास्तवमा झगडा गर्न चाहन्छु, मैले गरेका गल्तीलाई उनले रोक्ने कोसिस गरुन्  भन्ने चाहन्छु । मलाई त्यस्तो जिन्दगी चाहिँदैन जसमा मेरा पतिले मैले भनेको सबै कुरा मानून् ।’

पतिलाई यसबारे सोध्दा उनले यसमा आफ्नो गल्ती पटक्कै नभएको बताए । उनले आफू केवल एक आदर्श पति बन्न चाहेको बताए । 

यहाँसम्म कि पतिले कोर्टलाई आफ्नी पत्नी फिर्ता दिन अपिल समेत गरेका छन् । कुनै पनि विवाहको निर्णय १ वर्षमै सुनाउन नहुने उनको भनाइ छ । हरेकले आफ्ना पूर्व गल्तीबाट नै सिक्नेमा उनले जोड दिएका छन् । अदालतले भने यस विषयलाई आपसमा सुल्झाउन भनी मुद्दालाई स्थगित गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै