• २०८१ बैशाख ४ मंगलबार

के हो चितवनको संदेश ?

kharibot

काठमाडौँ । पछिल्ला केहि साता चितवन निकै चर्चित रह्यो । पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेपछि चितवन एका एक चर्चामा आएको थियो ।  

साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकर्ड गरेर आत्महत्या गरेका थिए । सोही भिडियोको आधारमा रविसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अब चितवन जिल्ला अदालतले रविलाई ५ लाख, युवराजलाई ३ लाख र अस्मितालाई साधारण तारिखमा रिहा गरेको छ । अदालतले सोमबार रिहा गरेपछि टिभी प्रस्तोता रवि लामिछानेले मंगलबार चितवनको नारायणी किनारमा धन्यवाद सभाको आयोजना गरे ।
अहिले पुडासैनीको मृत्यु प्रकरण पछि चितवनमा रविको समर्थनमा भेला भएका लाखौ मानिसहरु किन र कसरी भेला भए भन्ने बारेमा राष्ट्रिय रुपमा नै बहस भइरहेको छ ।

पछिल्लो समय देशमा सामाजिक संजाल र डिजिटल मिडियाको प्रभाव बढी रहेको छ । यसको प्रमाणको रुपमा चितवनको यस समग्र प्रकरणलाई लिन सकिन्छ । राष्ट्रिय मिडियाले खासै स्थान नदिएको पुडासैनीको मृत्यु प्रकरणलाई डिजिटल मिडिया र सामाजिक संजालले तरंगित हुने गरि नै साथ दिए ।

चितवनमा मंगलबारको सभापछि धेरैले अब रवि लामिछाने राजनीतिमा आउने अनुमान गरेका छन् । यस प्रकरणमा चितवनमा गणतन्त्र विरोधीदेखि राजाको समर्थनमा नारा समेत नलागेका होइनन् । हाल सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि चितवनबाटै चुनाव जितेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका विरुद्धमा समेत नारा लागे । चितवनमा भेला भएका आम मानिसहरुमा एक किसिमको आक्रोश देखिन्थ्यो । उनीहरुको स्वस्फुर्त विचारमा सरकारका कामबाट चरम असन्तुष्टि देखिन्थ्यो, झल्किन्थ्यो । उनीहरुमा देशमा बढेको भ्रष्ट्राचार, कुशासन, हिंसाप्रति सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले हरेक दिन गर्ने गरेका बाचाप्रति विश्वास थिएन । चितवनमा उपस्थित बुढा बा आमा पनि 'रवि दाइ' भन्दै नारा लगाइरहेका थिए, यो दृश्य सच्चै सोचनीय थियो । यसले नेपालको समग्र राजनीतिमा नै निकै ठुलो असर गर्ने वा प्रभाव पार्ने अनुमान अहिले लगाउन सकिन्छ ।

एउटा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने प्रस्तोताका लागि आम जनताको यस्तो अपार समर्थन नत यो रवि स्वयंले सोचेको विषय थियो नत अहिले सत्तामा हुनेहरुले नत अन्य कसैले । जे भयो यो नसोचेको भयो । राजनीतिक नेतृत्वहरु चितवनमा गणतन्त्र विरोधी नारा लाग्दा गणतन्त्र आएको यति छिटो यसको विरोधमा किन नारा लाग्यो होला भने चिन्तन मनन गरेनन बरु सर्वदलीय बैठक बोलाएर यसको एक भएर सामना गर्ने बताए । 

त्यस्तै चितवनको यस प्रकरणपछि भिडले सबै कुरा नियन्त्रण गर्यो भन्नेहरु पनि छन् । तर यस्तो भन्नु भन्दा अगाडी यसरी जनतामा निराश आउने वातावारण कसरी र किन बन्यो । अहिलेको हाम्रो राजनीतिक नेतृत्वले समयमै यो विषयमा सोच्न जरुरी छ । सत्तारुढ दलका अध्यक्ष एवं अहिलेको राजनीतिका प्रमुख व्यक्ति प्रचण्डको घरमै भएको एक किसिमको यो जनताको विद्रोह हो । यस भिडले न्यायका लागि भन्दै रविको पक्षमा वकालत गरेपनि सिंहदरबारमा बस्नेहरुका लागि दुई तिहाइको आडमा जे पनि गर्ने छुट छैन, तिमीहरुको सत्ता जति तिहाई भएपनि सुरक्षित् छैन भन्ने प्रष्ट संदेश हो ।

चितवनको घटनालाई गुठी प्रकरणसँग पनि जोड्न सकिन्छ । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा काठमाडौँबासीले गरेको विद्रोहले सरकार ब्याकफुटमा पुगेर विधेयक नै फिर्ता गरेको थियो । केहि महिना पछि नै चितवनमा लाखौ मानिस सडकमा आएर एउटा टिभी प्रस्तोताका लागि अपार समर्थन देखाए र सरकारलाई खबरदारी गरे । यी दुई घटनाले हाम्रो राजनीतिक नेतृत्व र अहिलेको आम युवाबीच एक किसिमको कम्युनिकेसन ग्याप भइसकेको छ । आम जनताको चाहना र सरकारको काम गर्ने तरिकाबीच तालमेल भएको छैन । जसको असर एक समयपछि समग्र राजनीतिक दलहरु र व्यवस्था माथि नै पर्ने देखिएको छ ।

मंगलबारको चितवनको जनताको उपस्थिति पछि राजनीतिक दल प्रतिक्रिया विहिन बनेका छन् । उनीहरुले लाखौ खर्च गरेर जम्मा गर्न नसकेको भिड सामाजिक संजाल र सामान्य सूचनाको आधारमा लाखौ मानिस जम्मा भएका छन् । पुडासैनी प्रकरणमा रवि दोषी हुन या होइनन यो अब विषय अदालतको विषय हो तर जनताको अपार समर्थन देखिनुले हाम्रो कानुन र काम गर्ने तरिकामाथि प्रश्न भने उठाएको छ ।

यो भिड रविको या एउटा टेलिभिजनकर्मीको समर्थनमा मात्र आएको होइन यो सरकारको निराशाजनक परफरमेन्स, बोलाई र गराईबीचको भिन्नताका कारण आएको हो । यसर्थ चितवनलाई एउटा घटना मात्रको रुपमा नलिएर यस घटनाले दिएको संदेशलाई देशका सबै पक्षले मनन गर्नु अत्यन्त जरुरी छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै