• २०८१ बैशाख १३ बिहीबार

भक्तपुरमा समेत १२ जनामा डेङ्गु 

kharibot

भक्तपुर । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि  उच्च जोखिममा पारेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए ।  

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिए ।  

यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए ।  

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।   

कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै