• २०८१ बैशाख ८ शनिबार

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दक्षिण कोरिया प्रस्थान

kharibot

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया प्रस्थान गरेका हुन् ।

भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति गर्ने छन् । प्रस्तुति मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना,  कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकतामा केन्द्रित हुनेछ ।

सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् ।

सरकारले काठमाडौं उपत्यका भित्रका साँखु, बुङमती र खोकना सहितका ६ वटा बस्तीहरुलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी पुनर्निर्माण प्राधिकरणमार्फत वृहत्तर गुरुयोजना तयार पार्दैछ । ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनर्निर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही ३ लाख रुपैयाँका अतिरिक्त थप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्तीहरु पहिचान गरिएको छ । 

शहरी योजनाका विज्ञ समेत रहनु भएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेखित सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ सहर विस्तारबारे पनि प्रस्तुति गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

यसका अतिरिक्त सम्पदा बस्तीहरुको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्याण्ड,  मिनिस्ट्री अफ फरेन अफेयर्सको सहयोगमा इन्टरनेशनल कन्ट्रयाक्टर एशोसियसन कोरियाले कार्यक्रम आयोजना गरेको हो ।

ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै