‘किबीका राजा’ पाइजा

खरीबोट

गलकोट । धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफै उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा अपवाद हुन् । उनी अध्यक्षमा निर्वाचित भए पछि पनि कृषि कर्ममा समर्पित छन् ।  

विसं २०५८ मा एक हजार ५०० रुपैयाँमा खरिद गरेका पाँच वटा किबीका बोटबाट किबी खेती शुरु गर्नुभएका पाइजाको बारीमा अहिले ५०० किबीका बोट छन् । आधाजसो बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबीको फल लाग्दैछ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय पाइजा कृषि कर्ममा लाग्दा लाग्दै गाउँपालिका अध्यक्ष भएका थिए । गाउँपालिकाको काम सकेर बिहान बेलुका खेतबारीमै काम गर्छन उनी । सिङ्गो गाउँपालिकालाई नै किबीमय बनाउने उनको योजना छ । उनी अध्यक्षमा निर्वाचित भएर आएदेखि यता वर्षेनी सयांै किबीका बिरुवा किसानलाई वितरण गर्छन् ।

कृषि क्षेत्रमै अध्ययन अनुसन्धान गरेका कारण उनले अन्य कृषकलाई पनि नगदे बालीमा जोड दिन सल्लाह दिन्छन् । “गाउँपालिका अध्यक्ष भएपछि केही व्यस्त हुन पुगेको छु,” अध्यक्ष पाइजाले भने– “काम सक्दा घर, खेतबारी मै व्यस्त हुन्छु ।” दाम्पत्य जीवनमा जस्तै उहाँलाई कृषि कर्ममा पनि श्रीमती मनकुमारीको दरिलो साथ छ । दुई छोरा भने कामको सिलसिलामा बाहिरै हुन्छन् । 

समुद्री सहतदेखि २ हजार ३०० फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा उहाँले किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेदका बोट रोपेका छन् । “मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर गिज्याउँथे लामो समय नफल्ने बोट लगाएको भनेर, मकै कोदो हुने बारी मास्यो, बौलायो पनि भने,” उनले भने– “अहिले तिनै गाउँलेहरुले कोदो मकैको ठाउँमा किबी खेती गर्न थालेका छन्, विस्तारै परिवर्तन हुँदै गएको छ ।” 

उनको किबी खेती देखेर गाउँकै जीतबहादुर पाइजा, लालमया बुढासहित ४० भन्दा बढीले किबी खेती गर्न थालिसकेको पाइजाले जानकारी दिए । पाइजालाई गाउँलेले ‘किबीका राजा’ समेत भन्ने गरेका छन् ।

बडिगाड गाउँपालिकालाई किबी खेतीमा जिल्लाभरमै अब्बल बनाउन गाउँपालिकाले आर्थिक वर्ष २०७६-७७ मा रु ५ लाखको बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले कृषकहरुलाई किबीका विरुवा वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । “अध्यक्षज्यूको व्यावसायिक कृषिमा निकै जोड छ, आफै कृषि कर्ममा सक्रिय भएका हिसाबले पनि बजेट प्राथमिकीकरणमा कृषि नै भन्नुहुन्छ,” सुवेदीले भने– “यसले गाउँपालिकालाई कृषिबाट समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

गाउँपालिकाले छुट्टाएको बजेटबाट कृषकहरुलाई तीन हजार ५०० किबीका बिरुवा वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । 

फस्टाएको एक बोटबाटै एक पटकमा २०० केजीसम्म फल लिन सकिने लाभदायी फल किबीलाई विस्तार गर्न सके राम्रो आम्दानी समेत गर्न सकिन्छ । यो फललाई विदेश निर्यात गर्न सकिने यथेष्ट सम्भावना पनि रहेको सुवेदी बताउछन् ।

अध्यक्ष पाइजाको यो वर्ष मात्र १० हजार केजी किबी बिक्री गर्ने लक्ष्य छ । “यस अघिका वर्ष तीन लाखदेखि चार लाखसम्म आम्दानी गर्दै आएको थिएँ,” पाइजाले भने– “यो वर्ष २० लाख रुपैयाँको भन्दा बढी किबी बिक्री गर्ने लक्ष्य छ ।” उनका अनुसार किबी प्रतिकेजी ५०० रुपैयाँमा बिक्छ । धेरै मेहनत गर्न नपर्ने तर, राम्रो आम्दानी दिन भएर अहिले बडिगाडलगायत बागलुङ जिल्लाका कृषकहरु किबी खेतीतर्फ अग्रसर भएका छन् । परनिर्भरता हटाउने भए किबी खेती गर्न पाइजा सल्लाह दिन्छन् । हावापानी मिलेमा बोट लगाएको तीन वर्षमै किबीले फल दिन थाल्ने पाइजाको अनुभव छ । किबीको फलबाट सलाद, वाइन, जुस समेत बनाउन सकिन्छ । “किबी फलको फाइदा तथा महत्व बुझ्दै गएका छन् गाउँलेले,” उनले भने– “किबी फलको सेवनबाट क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, यौन दुर्बलता जस्ता समस्या हट्ने भएकाले स्वास्थ्यका हिसाबले समेत निकै उपयोगी छ ।”

पाइजाले नगदेबालीका अलावा माहुरी, भैंसी, खरायो, बाख्रा, कुखुरा समेत पालेका थिए । “कृषि पेशाले सबैसामु चिनायो, कृषकहरुलाई सल्लाह र साथ दिँदै आएको छु,” उनले भने– “कृषि कर्मबाट सबैले चिनेकै कारण गाउँपालिका अध्यक्ष भएँ । परम्परागत खेती प्रणालीमा सुधार गरेर गाउँपालिकाका कृषकलाई आत्मनिर्भर बनाउने योजनामा छु ।” गाउँपालिकाले यस वर्ष मात्र उत्पादनमा आधारित अनुदान दिन एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले एक घर दश फलफूल बिरुवाका दश लाख बजेट विनियोजन गरेको छ ।

पाँच वर्षदेखि किबी खेती गर्दैआउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका कृषक अनन्त बहादुर खड्का किबी थोरै मेहनतमा धेरै आम्दानी गर्न सकिने खेती भएको बताउछन् । खड्काको बारीमा अहिले ५० वटा बोटमा लटरम्म किबीको फल लागेको छ । यस्तै, तित्याङ्का प्रेम केसी र हीरा केसीले समेत परीक्षण स्वरुप किबी खेती थालेका छन् ।

सम्बन्धित समाचार

परीक्षामा रंगेहात पक्राउ पर्दा...

जिन्दगी के हो, परीक्षा या नतिजा ? परीक्षा केका लागि जिन्दगीका लागि या नतिजाका लागि ? नतिजा के का लागि जिन्दगीमा पास हुन या जागिरमा पास हुन ? यहि प्रश्नको

आधुनिकतासँगै कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा

खोटाङ । कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा परेको

दुवै हात नभएकी सङ्घर्षशील सम्झना : ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु !’

खोटाङ । दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिईन् । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताए । नेपाली काँग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको जय


z