• २०८१ बैशाख १४ शुक्रबार

मेलम्ची आयोजना छिटो सक्न संसदीय समितिको निर्देशन

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।

आयोजनाका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिए । गत पुसमै इटालियन निर्माण व्यवसायी कम्पनी सिएमसीले ठेक्का तोडी काम छोडेर हिँडेपछि आयोजना अझै अलपत्र छ । 

बैठकमा सांसद लेखराज भट्टले मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको पाइप फुटेर सडकमा पानीले असर गर्दा पनि व्यवस्थापन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । जनताले धारा जडान गरेबापत महसुल तिरिराखे पनि ट्याङ्करबाट पानी किनेर पिउन बाध्य हुनुपर्ने अवस्थाका बारेमा सरोकार भएका निकाय सचेत हुनुपर्ने उनको भनाइ थियो । 

सांसद राजेन्द्रकुमार केसीले सिएमसीले नै राखेका ‘सव कन्ट्याक्टर’लाई कामको जिम्मेवारी दिने भए नौ महीनासम्म के हेरेर बसेको भनी प्रश्न राखे । सिएमसीले काम छोडेर हिँडेपछि काम सम्पन्न भएको तथ्याङ्क फरकफरक प्रस्तुत भइरहेकाले वास्तविक कति हो भन्ने जिज्ञासा पनि उनले राखेका थिए । 

सांसद विरोध खतिवडाले सडकमा बिछ्याएको पाइपमा मेलम्चीबाट पानी आउँदा चापमा आउने भए पनि हाल सामान्यरुपमा मात्र हालेर परीक्षण भइरहेकाले पछि हुनसक्ने समस्याका बारेमा अहिल्यै ध्यान दिनेतर्फ सचेत गराए । सांसद शरद्सिंह भण्डारीले प्राविधिकले जनसप्रिय नाराका रुपमा मेलम्चीको पानी आउने समय अनुमान गर्दा पटकपटक समस्या आएकाले अब मिति घोषणा गर्दा विचार गर्न माग गरे । 

सांसद पार्वतीकुमारी विशङ्खेले आफूले दैनिक तीन जार पानी रु १५० का दरले महीनामा रु छ हजार ५०० पानीमै खर्च गर्ने गरेको सुनाईन । 

“मेरो त सांसदको तलब भत्ता आउँछ, तिरौँला, सामान्य जनता, विद्यार्थीले कसरी निर्वाह गर्छन्, अन्यत्रको पानी खाँदा स्वास्थ्यमा सङ्कट आउँछ, जनस्वास्थ्यको यो गम्भीर विषयमा सरोकार भएका निकायको ध्यान जानु जरुरी छ”, उनले भनिन ।

सांसद धर्मशीला चापागाईंले राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्चीका बारेमा समन्वय नहुँदा काममा ढिलाइ भइरहेको बताईन । सांसद सूर्य पाठकले आफू १६ वर्ष हुँदादेखि मेलम्ची खानेपानी आयोजनाका बारेमा सुने पनि ४४ वर्ष पुग्दासमेत सम्पन्न हुन नसकेको सुनाए ।

सांसद मीना सुब्बाले मन्त्रालयका सचिवले भन्नुभएअनुसार सातदेखि १० महीनामा मेलम्चीको पानी राजधानीमा आओस् भनी प्रार्थना गरिरहने बताईन । धरानमा नेपाल खानेपानी संस्थान र एशियाली विकास बैंक (एडिबी) बीचको लडाईंले जनता काकाकुल भइरहेकोतर्फ उनले मन्त्रालयको ध्यानाकर्षण गराईन ।

सांसद प्रेम आलेले सिएमसीले बिछ्याएको खानेपानीको पाइप गुणस्तरहीन भएकाले इटालियन निर्माण कम्पनी सिएमसीले ठेक्का तोडेको हो भन्ने चर्चासमेत चलेकाले वास्तविकता के हो भनी जिज्ञासा राखे । 

बैठकमा सांसद पुष्पाकुमारी, मीना पाण्डे, मीना बुढाथोकीले मेलम्ची आयोजनाका कार्यकारी निर्देशककै ट्याङ्कर उद्योग रहेकाले काममा ढिलाइ भइरहेको समाचार सार्वजनिक भएकाले के हो भनी प्रश्न राखेका थिए ।

सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले समग्र आयोजनाको ९५ प्रतिशत काम सकिएको बताए । आयोजनामा भइरहेको ढिलाइका बारेमा प्राविधिक समिति गठन भएकाले त्यसले दिएको प्रतिवेदनका आधारमा काम अघि बढाइने उनको प्रतिबद्धता थियो । “सुरुङको काम ९७ प्रतिशत सकिएको छ, ‘फिनिसिङ’को काम बाँकी छ, ‘हेडवर्क’ को काम पूरै बाँकी छ, अबको १० महीनासम्ममा सबै काम सक्ने मन्त्रालयको योजना छ”, सचिव बेल्वासेले भने ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले सिएमसीसँग ठेक्का रद्द भएको आठ महीनापछि नयाँ प्रक्रिया शुरु भएको जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले यस वर्ष पनि सुन्दरीजलस्थित वाग्मती नदीबाट वर्षाको पानी मेलम्चीको पानी प्रशोधन गर्न निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी वितरण एवं पाइप परीक्षणको काम भइरहेको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै