• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलिया बलियो अवस्थामा : स्मिथको दोहोरो शतकले तोड्यो कैयौ रेकर्ड

kharibot

काठमाडौं । जारी एशेज सिरिजको चौथो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

खेलको दोस्रो दिन सकिदा अस्ट्रेलियाले ८ विकेट गुमाउदै ४९७ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको छ । त्यस्तै आफ्नो पहिलो इनिंग सुरु गरेको इङल्याण्डले एक विकेट गुमाउदै २३ रन बनाएको छ ।

चौथो खेल अहिलेसम्म अस्ट्रेलियाका स्टिभ स्मिथको नाममा रह्यो । उनले लगातार आफ्नो उच्च फर्म देखाउदै २११ रनको पारी खेलेर आउट भए । यो उनको टेस्ट क्यारियरको २६औ शतक हो भने तेस्रो दोहोरो शतक समेत हो ।

त्यस्तै यस सिरिजमा स्मिथको यो तेस्रो शतक हो । यस अघि पहिलो टेस्टमा १४४ र १४२ रनको पारी खेलेका थिए । स्मिथले आफ्नो क्यारियरका तिनै दोहोरो शतक इङल्याण्डविरुद्ध बनाएका छन् । पहिलो २०१५ र दोस्रो २०१७ मा बनाएका थिए ।

यस शतकसँगै स्मिथले कैयौ रेकर्ड समेत तोडेका छन् । उनले आफ्नो १२१ टेस्ट पारीमा २६ शतक बनाउदै सचिन तेन्दुलकर र सुनिल गावस्करको रेकर्ड समेत तोडेका छन् ।

यस अघि सचिन र गावस्करले आफ्नो १३६ टेस्ट पारीमा २६ शतक पुरा गरेका थिए । अब स्मिथभन्दा अगाडी अस्ट्रेलियाकै सर ड्न ब्रेडम्यान छन् जसले ६९ पारीमा आफ्नो २६ शतक पुरा गरेका थिए ।

त्यस्तै एशेज सिरिजमा स्मिथको यो ११औ शतक हो । एशेजमा धेरै शतक बनाउने खेलाडीको रुपमा उनले आफ्नै देशका स्टिभ वागलाई जितेका छन् । स्टिभ वागले एशेजमा १० शतक बनाएका थिए । अब उनी भन्दा अगाडी ज्याक हब्सले १२ र ब्रेडम्यानले १९ एशेज शतक बनाएका छन् ।

अस्ट्रेलियाको इनिंगमा कप्तान टिम पानेले ५८ रनको परी खेले भने मार्नस लाबुसचाँगेले ६७ रन बनाएका थिए । त्यस्तै मिचेल स्टार्कले अविजित ५४ रन बनाए भने नाथन लियोनले अविजित २६ रन बनाए । त्यस्तै ट्राभिस हेडले १९, म्याथ्यु वाडेले १६ रन बनाए । त्यस्तै पाट कमिन्स ४ रनमा आउट भए भने मार्क्स ह्यारिस १३ तथा डेविड वार्नर शुन्यमा आउट भएका थिए ।

इङल्याण्डका बलर स्टुअर्ट बोर्डले सर्वाधिक ३ विकेट लिए भने ज्याक लीच र क्रेग ओभरटनले २-२ विकेट लिए । त्यस्तै जोय रुटले एक विकेट लिएका थिए ।

आफ्नो पहिलो इनिंग शुरु गरेको इङल्याण्डका जोय डेनली ४ रन बनाएर आउट भए भने रोरी बर्न्स १५ तथा क्रेग ओभरटन ३ रन बनाएर खेलिरहेका छन् ।

अस्ट्रेलियाका पाट कमिन्सले एक विकेट लिएका छन् ।

यसअघि ५ खेलको सिरिजमा दुवै टिमले १-१ जित हासिल गरेका छन् बहने एक खेल बराबरीमा सकिएको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै