काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
नेपालले दिएको १६० रनको लक्ष्य पछाएको श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
श्रीलंकाका लागि कामील मिशराले सर्वाधिक ५५ रन बनाए भने आहन बिक्रमसिन्घेले ३० रन बनाएका थिए । त्यस्तै आविष्का थरिन्दुले २५ तथा कप्तान निपुन धनन्जयले १८ रन बनाएका थिए ।
नेपाली बलर राशिद खानले २ विकेट लिए भने पवन सराफ, कमल सिंह ऐरी र सगर ढकालले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।
नेपालका लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेलेका थिए । उनले ७३ बलमा चार चौका प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । रितले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।
नेपालले आफ्नो इनिंगमा सुरुवातका दुई विकेट छिटो गुमाएको थियो । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ ४ रनमा आउट भएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने रशिद खानले अविजित १५ रन बनाएका थिए । त्यस्तै हरिबहादुर चौहानले १२, भिम सार्कीले १, कुशल मल्लले २, कमल ऐरीले २ तथा सगर ढकालले १ रन बनाएका थिए ।
श्रीलंकाका बलर दिलसान मधुशंक र नवोद दिनुस्रीले ३-३ विकेट लिए भने रोहण सिल्भा र अशियन डेनियलले एक एक विकेट लिएका थिए ।
नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । नेपालले अब अर्को खेल आइतबार बंगलादेशसँग खेल्दै छ ।