• २०८१ बैशाख ८ शनिबार

कुलतमा फसेका किशोरीसँगको त्यो दिन

kharibot

१९ वर्षकी, केटाको जस्तै कपाल काटेकी एउटी किशोरी, सुभाना । उनले घाँटीको देब्रे भागमा बिच्छिको ट्याटु खोपेकी छिन् । ओठको तल्लो भागमा भर्खरै गहना निकालिए जस्तो देखिने डोब अनि शरीरभरि दागैदाग छ तर अनुहार भने निकै सुन्दर । यसो हेर्दा लाग्छ, उनी पूर्णिमाको जून हुन् तर कालो बादल उनीमाथि मडारिइरहेको छ । 

बुढानिलकन्ठ भन्दा थोरै माथि रहेको एक महिला दुर्व्यसनीका लागि बनाईएको सुधारगृहमा भेटिएकी हुन् सुभाना । उनीसँग भेट हुँदा सुधारगृह आएको १५ दिन मात्रै भएको रहेछ । त्यसैले पनि होला उनको शरीर फूर्तिलो बन्न सकिरहेको थिएन । 

नयाँ मानिसहरुसँग घुलमिल हुन त्यति मन नपराउने उनी, हामी दुवैको सेम हेयर स्टाइल भनेपछि मात्रै मुसुक्क हाँसेर बोल्न सुरु गरिन् । मसिनो स्वरमा उनले भनिन्, ‘अलिक सन्चो छैन, बिरामी भइराकी छु, त्यही भएर कुरा गर्न मन छैन । कुरा गर्न मन नभए पनि उनले आफू त्यहाँसम्म आइपुगेको कारण सुनाइन् । 

पोखराको धनी परिवारमा उनको जन्म भयो । उनीहरुको आफ्नै होटल छ, थियो । बाबुआमा दुवै बिहान उठेदेखि राति १२ बजेसम्म होटलमा व्यस्त हुने । छोरीलाई एक्लोपनको आभाष नहोस् र नबिग्रियोस् भनेर उनले काठमाडौंको होस्टलमा राखेर पढाए । उनी होस्टल बसेर पढ्न सुरु गर्दा ८ वर्षकी थिइन् । 

त्यहाँ प्रत्येक हप्ता उनका साथीका आमाबुबा भेट्न आउँथे, मिठामिठा खानेकुरा ल्याउँथे, धेरै मायाँ गर्थे र जान्थे । सुभाना पनि प्रत्येक हप्ता आमाबुबाको प्रतिक्षामा हुन्थिन् तर उनका बुबाआमाको दुई महिनामा एकपटक फोन मात्रै आउँथ्यो । आउन नभ्याएको, व्यस्त भएको, अर्कोपटक जसरी पनि आउने झुटो बाचा उनले धेरै सुनिन् । उनले भनिन्, ‘मामु बाबाको झुटले मैले पनि झुट बोल्न जानेँ । 

होस्टलभित्रकै साथीहरुसँग उनको घुलमिल हुन थाल्यो । साथीहरुबाटै वीड (गाँजा) जस्ता चिज प्रयोग गर्न जानिन् । उनले भनिन्, ‘सुरुसुरुमा त साथीहरुले फ्रि मै खुवाउँथे, बिस्तारै मैले पनि खुवाउन थालेँ ।’ 

सुभानालाई पैसाको कुनै हर्ज (कमी) थिएन । एकपटक फोन गर्दा उनलाई बाबुआमाले किन भन्ने प्रश्न नसोधेरै हजारौं रुपैयाँ पठाउँथे । उनले केहीबेर गमेर भनिन्, ‘कक्षा ९ मा पढ्दा हामी ४ जना केटीको ग्याङ (समूह) होस्टलबाट भाग्यौं र इन्डिया गयौं ।  हामीले पहिल्यै सामान बेच्ने इन्डियाका दाजुहरुलाई चिनेका थियौं, हाम्रो कामै इन्डियादेखि नेपालसम्म माल ओसार्ने र त्यसबाट आएको पैसाले सामान किनेर खाने भयो । उनले मुखमा आएको केही नराम्रो शब्दलाई कन्ट्रोल गर्दै भनिन्, ‘कहाँबाट मेरो बाउआमाले थाहा पाएछ र यहाँ ल्याएर राखिदियो ।’ उनी सुधारकेन्द्रमा खुसी छैनन् । दायाँबायाँ हेर्दै भनिन्, ‘एकचोटी यहाँबाट निस्कन त पाम् न, मैले जान्या छु ।’ 

सुभाना जस्तै अर्की पात्र पनि त्यही सुधारगृहमा भेटिईन् । उनको नाम हो जुलिया । उनी सुधारकेन्द्र पुगेको करिब ६ महिना पुगिसक्यो । हिजोआज निकै मिठो कुरा गर्ने उनी डोल्पाकी हुन् । उनले भनिन्, ‘मेरो घर डोल्पाको विकट ठाउँमा भए पनि जन्म भने काठमाडौंमै भयो र यहाँ नै पढेँ । 

उनको कथा भने अलि फरक छ । जुलिया निकै सोझी थिईन् रे । उनले भनिन्, ‘कक्षा ६ सम्म मेरो पढाइ एकदमै राम्रो थियो, म बिहानै उठ्ने, पूजापाठ गर्ने र भाइबहिनीलाई पढाउने गर्थेँ । तर अचानक धेरै ट्याजेडी एकसाथ बेहोर्नुपर्यो । उनले भनिन्, मैले एक केटालाई मन पराउँथें, उसले वास्तै गरेन, बाबा र मामुको पनि डिभोर्स भयो अनि स्कुलका साथीहरुले पनि हेपे । यी तीन कुरा खप्न नसकेर आफू कुलतमा फसेको उनले बताइन् । 

उनले त्यस क्षण सम्झँदै भनिन्, ‘मलाई केही केटी साथीले साह्रै नराम्रोसँग हेपे, अनि म ट्वाईलेटमा बसेर धेरैबेर एक्लै रोइरहेकी थिएँ । त्यसै समयमा सँगै पढ्ने एकजना साथी मेरो नजिक आइन् र नरोऊ भनेर सम्झाइन् । उनले भनिन्, ‘त्यो साथी टमब्वाई टाइपकी थिई, पाँचजना दाजुहरुकी एक्ली बहिनी भएकाले बोली पूरै केटाको जस्तै थियो, लवाइखवाइ, हिँडाइ सबै केटाको जस्तै थियो, उसैले दाइहरुले ड्रग्स खाएको देखेकी रहिछ । मलाई उसले तँ धेरै सोझी भएर हो सबले हेपेको भनेर इन्करेज गरेपछि मैले रुँदै दिदी मलाई पनि तपाईं जस्तै बनाइदिनु न भनेर रिक्वेष्ट गरेँ । 

उनले थपिन्, ‘सुरुमा त उनी धेरै हाँसिन्, ‘पछि ल हुन्छ भनेर मलाई समान खान सिकाइन् ।’ उनले अनुहार हँसिलो पार्दै भनिन्, ‘त्यसपछि त मेरो गेटअपदेखि बानीव्यवहार सबै फरक भइहाल्यो, कसैले मलाई एक शब्द भने चार शब्द फर्काउने भएँ ।’ 

जुलिया कक्षा नौमा पढ्दा नै एकपटक रियावमा बसिसकेकी रहिछिन् । उनले भनिन्, ‘चितवनको रियावमा बसेकी थिएँ, त्यहाँका साथीहरुसँग पनि छिट्टै घुलमिल भईहालेँ ।’ दिनहरु मस्तले बितिरहेको थियो, मलाई त्यहाँबाट निस्कन पनि मन थिएन तर मामुले फेरि निकाल्नुभयो र गाउँ डोल्पामा लगेर राखिदिनुभयो । 

उनी भन्दै गइन्, ‘गाउँमा गएर बसे पनि मामुले मलाई ट्रस्ट नै गर्नुभएन, अनि धेरै रिस उठ्यो र चितवनको रियावमा चिनेका सबैलाई जम्मा पारेर सामान खुवाइदिएँ र मैले पनि खाएँ । उनले बहादुरीका साथ भनिन्, ‘डोल्पाको त्यस्तो विकट ठाउँमा भए पनि मैले च्यानल मिलाएर सामान खाएँ । त्यहीँबाट पनि थाहा भयो मनले चाहे सबैथोक पोसिबल हुँदोरहेछ ।’ 

जुलियाको गफ ध्यान दिएर सुनिरहेकी थिईन् दिब्याले । दिब्या अहिले १७ वर्षकी भईन् । अघिल्लो वर्ष एसईई परीक्षा दिएकी हुन् उनले । नजिता निस्कियो, उनी ए ग्रेडमा पास भईन् । एसईई पछि उनी भर्ना हुनुपर्ने त कक्षा ११ मा हो तर त्यसो भएन । दिव्याले भनिन्, ‘मलाई ममीले तिम्रा साथी संगी खराब भए, अब होस्टल बसेर पढ्नुपर्छ भन्नुभयो, म अब झनै मोज हुनेभयो होस्टलमा भन्दै आएकी थिएँ तर यो त रियाव पो रहेछ । 

जब उनले होस्टल हैन, रियाव आइपुगेको थाहा पाइन् उनको रिसको सिमै रहेन । उनले सुनाइन्, ‘मलाई त ममी देखेर लास्टै रिस उठेको थियो, डन्ट ओरी दिव्या, एक न एक दिन त तेरो पनि पालो आइहाल्छ नि, ममी बाबासँग बदला लिएरै छाड्छु भनेर आँखाको डिलमा आएको आसु पनि सोसेर राखेकी थिएँ ।’   

दिव्या कसरी फसिछन् त कुलतमा ? उनले भनिन्, ‘म ममीसँग एकदमै नजिकिएकी थिएँ, ममी नभए संसारै अधुरो लाग्थ्यो ।’ त्यही समयमा मलाई काठमाडौं मामाको घरमा राखेर पढाउनुभयो । सुरुसुरुमा त ममीसँग दिनमा दुई तीन पटकसम्म कुरा गर्थेँ । ममीले राम्रोसँग पढ भनेर सम्झाउनुहुन्थ्यो र ममीले भनेको मान्थेँ पनि । मेरो मामाका दुई छोरीहरु थिए, ती दुई दिदीहरु लुकेर ब्याल्क चुरोट खाँदा रहेछन्, मैले त्यो थाहा पाएपछि भन्दिन्छु भनेँ तर मामाका छोरीहरुले मलाई पनि ट्राई गर्न लगाए । 

मेरो ब्वाइफ्रेन्ड पनि थियो तर मभन्दा केही वर्ष एजेड । दिव्याले भनिन्, ‘ऊ पनि कहिलेकाहीँ ड्रग्स लिँदोरहेछ । उसैले ड्रग्स लिने दाइहरुसँग मेरो पनि चिनजान भयो र हामी राम्रो साथी बन्यौं ।  दाइहरु ड्रग्स खाने, बेच्ने गर्नुहुँदोरहेछ । उहाँहरु साथी बनेपछि मैले पनि ड्रग्स खान सुरु गरेँ र उहाँहरुको काममा सहयोग गर्न थालेँ । 

अनि ब्वाइफ्रेन्ड कता भन्ने जिज्ञासामा दिव्याले सजिलै भनिन्, ‘सबैले तिमीभन्दा कतिधेरै एजेड भन्थे, मलाई पनि अलि एजेडै लाग्यो अनि ब्रेकअप दिएँ । 

दिब्यालाई ड्रग्स खान भने कहिल्यै समस्या परेनछ । उनले भनिन्, ‘काठमाडौंमा पाइने ड्रग्सको क्वालिटी नहुने भएकाले बाहिरबाट मगाउँथ्यौं । बुटवलमा हामीलाई ड्रग्स सप्लाई गर्ने मानिस थिए । दिव्याले गर्विलो आवाजमा भनिन्, ‘त्यहाँ हामीलाई एक केटाले ड्रग्स अप एन्ड डाउन गराउँथ्यो, केटो ह्यान्डसम पनि थियो अनि मलाई यो केटोलाई ब्वाइफ्रेन्ड बनाउन पाए त ड्रग्स खान समस्यै पर्दैन भन्ने लाग्यो र उसैलाई ब्वाइफ्रेन्ड बनाएँ ।

यी सबै किशोरी माझ एक युवती पनि थिईन् । उनलाई त्यहाँ भएका सबैले दिदी भनेर बोलाइरहेका थिए । उनी त्यहाँको सुप्परभाइजर समेत बनेकी रहिछन् । उनको नाम हो शुष्मा । शुष्मा धरानकी हुन् । धरानको लाहुरे परिवारमा जन्मिएकी उनलाई जिन्दगीदेखि निकै नरमाइलो लाग्यो । बाबुआमाले आफ्नो कुरा नबुझेको, गर्न खोजेका काममा साथ नदिएको भन्दै उनी निराश बनिन् । कतिपटक त आत्महत्याको कोसिस पनि गरिन् । 

उनले भनिन्, ‘मलाई जिन्दगी यति धेरै रमाइलो छ, विनाड्रग्स पनि खुसीका साथ जीवन बिताउन सकिन्छ भन्ने भान अहिलेभन्दा अघि कहिल्यै भएन । 

परिवारको कचकच र आफूले गर्न खोजेका काममा असफलता हात लागेपछि उनी कुलतमा फसिन् । शुष्माले भनिन्, ‘मैले चुरोट, गाँजा हुँदै अल्कोहलसम्म लिएँ । 

गाउँमै ड्रग्सको नशा लागिसकेको छोरीको चाल देखेर उनका परिवार डराए र विदेश पठाइदिए अस्ट्रेलिया । त्यहाँ पुगेपछि त झनै शुष्मालाई रोक्ने कोही भएन । उनी प्राइमरी स्कुलमा टिचिङ गर्थिन् । टिचिङ गर्दा महिनामा मात्रै स्यालरी आउँथ्यो, ड्रग्स खान पैसाको समस्या परेपछि उनले पार्ट टाइम काम जता मिल्यो उतै गर्न थालिन् । उनले भनिन्, ‘मैले आवरका हिसाबले पैसा पाउँथे त्यसैले जतिबेलासम्म ड्रग्स किन्ने पैसा पुग्दैनथ्यो काम गर्थेँ, जब यति भए आजलाई पुग्यो भन्ने हुन्थ्यो, हिँडिदिन्थेँ । 

ड्रग्स लिएर पढाउन जाँदा कतिपटक उनले एउटै कोर्स विद्यार्थीलाई दोहोर्याइदिएकी छिन् । उनले भनिन्, ‘कहिलेकाहीँ त कम्प्लेन पनि आउँथ्यो, त्यस्तो बेलामा विद्यार्थीले याद गरेको छ कि छैन भनेर रिवाइन्ड गरेको भनेर ढाँटिदिन्थेँ । उनले थपिन्, एकपटक हेरोइन खाएर विद्यार्थीलाई पढाउन गएकी थिएँ, एक विद्यार्थीले थाहा पायो, किनभने हेरोइन लिएपछि म ओभररियाक्ट गर्थेँ । त्यो विद्यार्थीले थाहा पाएपछि भने मैले हेरोइन लिन छाडेँ । विदेशमा हुँदा सबै साथीसँग उधारो मागेर हैरान पारिसकेकी थिएँ । ‘कहिले बाउलाई बिरामी पारेर पैसा मागेँ, कहिले नेपालमा अति चाहियो रे भनेर मागेँ, त्यो समयमा धेरै झुट बोलें,’ उनले थपिन् ।

एक दुःखद् घटना घटेकाले नेपाल आएको बताउने उनले भनिन्, ‘नेपाल आयो कि विभिन्न तनाव भइहाल्ने । यो पटक नेपाल आउँदा भने बिहे गर्नैपर्छ भन्दै उनका परिवारहरु पछि परेछन् । उनले लजाउँदै भनिन्, ‘अब ड्रग्स नखाने केटो पर्यो भने मलाई पनि खान दिँदैन भनेर मैले ब्वाइफ्रेन्ड छ भने र सँगै ड्रग्स खाने पार्टनरलाई बुबाममी अगाडि लगेँ । पार्टनरलाई पनि घरमा बिहेको प्रेसर बढी नै रहेछ । दुवै परिवारको कुरो मिलिसकेको थियो तर बिहे भने हुन पाएन । उनले थपिन्, ‘पार्टनरका बारेमा मेरो फ्यामिलीलाई थाहा भएछ, अनि खोज्दै जाँदा म पनि एडिक्ट भन्ने थाहा पाएर रियाव ल्याइदिनुभयो, पार्टनर म यता आएपछि झनै धेरै अल्कोहल पिउँछ रे ! उनले लामो श्वास तान्दै भनिन् ।

सुधारगृहमा फसेका ति किशोरीहरुसँगको एक दिनले मेरो धेरै दिन बिथोलिदियो । पछि अध्ययन गर्दा थाहा भयो, काठमाडौंमा मात्रै करीव ८० हजार युवायुवतीहरु लागूऔषधको कुलतमा फसेका रहेछन् । जसमा महिलाको संख्या कुल १५ देखि २० हजार रहेको गृह मन्त्रालय लागू औषध कानुन कार्यान्वयन शाखाको तथ्यांकले देखाउँछ । 

नार्कोनन् नेपालकी संस्थापक पुजा कुँवर पुरुषको तुलनामा महिलालाई दुर्व्यसनीबाट मुक्त गराउन निकै समस्या हुने बताउँछिन् । उनका अनुसार, महिलाको शरिर लागुऔषधका कारण पुरुषको जस्तै बनेको हुन्छ । महिलामा हुनुपर्ने गुणहरु सबै हराउँदै जाने भएकाले ड्रग्स छोडाएर मात्रै समस्या समाधान नहुने उनको तर्क छ । उनी भन्छिन्, महिलामा जुन प्राकृतिक गुण हुन्छ, ति सबै फर्काउनुपर्ने भएकाले महिलालाई सुधार्न निकै कठिन छ । 

त्यसैले घटना घट्नुभन्दा अगाडी नै सावधानी अपनाउन जरुरी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै