• २०८१ बैशाख ७ शुक्रबार

झाँक्रीपानीमा पूर्वाधार निर्माण : एक ठाउँबाट अनेक दृश्यावलोकन

kharibot

म्याग्दी । उत्तरतर्फ मुसुक्क मुस्कुराएजस्तै देखिने धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमालका लहर । सूर्योदय र सूर्यास्त एकै ठाउँबाट देख्न सकिने । दक्षिण र पूर्वतर्फ ठूलाठूला पहाड र लमतन्न फैलिएको घना जङ्गल । पश्चिमतर्फ सुन्दर गाउँका साथै म्याग्दीका दर्जनौँ ग्रामीण क्षेत्रको एकै ठाउँबाट अनेका दृश्यावलोकन गर्न पाइने रमणीय ठाउँ हो बरङ्जाको झाँक्रीपानी ।
 
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीबाट चारैतिर वनजङ्गल, तल म्याग्दी नदीको नागबेली दृश्य, अग्लाअग्ला पहाड, ग्रामीण परिवेश, छरिएर रहेको बस्ती, ढङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडीबुटी, चैत वैशाखमा राताम्यै फुल्ने लालीगुराँस देख्न सकिन्छ । 
 
सडक सञ्जाल पुगेपछि नयाँ गन्तव्यको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको झाँक्रीपानीबाट जिल्लाका अन्य पर्यटकीयस्थलसहित निरन्तर बगिरहेको म्याग्दी नदीसमेत देखिन्छ । संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, गणेश हिमाललगायतका हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङको ताराखोला गाउँपालिकासहित पर्वतको केही गाउँ देखिने पर्यटकीय एवं रमणीयस्थल झाँक्रीपानी धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार २५० मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले समय बितेको पत्तै हँुदैन । म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमा करीब साढे दुईघण्टामा पुगिने तथा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत पैदलयात्रामा करीब साढे तीन घण्टामा पुगिने उक्त स्थानमा फागुनदेखि वैशाख महीनासम्म जङ्गलमा राताम्मे लालीगुराँससमेत देखिन्छ । 

त्यस ठाउँमा जुनसुकै समयमा पनि वनभोजमा पुग्नेलाई स्थानीयले भव्य स्वागत गर्ने गरेका छन् । “पर्यटक हाम्रो लागि ठूलै सम्पत्ति हो, पर्यटकलाई स्वागत गर्न आतुर छौँ”, स्थानीय राममाया रोकाले भनिन् । उनले केही वर्ष अगाडिसम्म सुनसान हुने स्थानमा पछिल्लो समय पर्यटकको आगमनले धेरै उत्साह थपिएको बताउँदै पूर्वाधार विस्तारसहित पुरानो भजनबाटै पर्यटकलाई स्वागत गर्ने गरेको बताइन् । 
 
उनले स्थानीय आमा समूह, सुरक्षित मातृत्व समूहले स्वागतसहित गाउँको बारेमा जानकारी गराउने गरेकाले पर्यटक उत्साहित भएर फर्किने गरेको जानकारी दिइन् । पर्यटकीयस्थलमा घुम्न आउनेलाई खुशी बनाएर पठाउने स्थानीयले स्वागत तथा सत्कारलाई अन्य पर्यटकीयस्थलको तुलनामा मौलिक रुपमा प्रस्तुत गर्ने गर्दछन् । कलिला बालबालिकादेखि वृद्धवृद्धासम्मले पर्यटकलाई स्वागतमै समय खर्चिने, सस्तोमा अर्गानिक खानाको सुविधा दिने गरेकाले म्याग्दीको पर्यटनको विकासमा झाँक्रीपानी नयाँ गन्तव्य भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए । पर्यटकलाई पूर्वाधारसँगै स्थानीयको स्वागतले प्रभावित बनाउने भएकाले स्वागतलाई आम्दानीसंग नजोड्ने यहाँको नयाँ अभ्यास रहेको छ । 

म्याग्दीको सदरमुकाम नजिक रहेको ज्यामरुककोट, भकिम्ली हँुदै पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका जोड्ने वैकल्पिक पदमार्गको अवधारणा आएको बताउँदै पदयात्रामा रमाउनेलाई एकदिनको बसाई झाँक्रीपानी बनाउन सकिने सङ्घका द्धितीय उपाध्यक्ष शाक्यले बताए ।

मङ्गला गाउँपालिका र गण्डकी प्रदेशबाट पूर्वाधारसहित घरवासका लागि बजेटको व्यवस्था भएकाले स्थानीयले पर्यटकलाई घुम्न आउने निम्तो दिने गरी तयारी गरिरहेका छन् । मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले झाँक्रीपानीमा भित्रिने पर्यटकले गाउँपालिकाको व्यापक प्रचार हुने भएकाले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन गरी पूर्वाधार विस्तार भइरहेको जानकारी दिए । कुनै समय नाङ्गो डाँडा भएपनि अहिले पर्यटकीय गन्तव्यको रोजाइमा परेपछि घुम्न आउनेलाई पूर्वाधार विस्तार गरी थप आकर्षित गरिने उनको भनाइ छ । उनले एकदिनसम्म झाँक्रीपानीमै बस्ने वातावरण बनाउने गरी पाँच वर्षभित्र आकर्षक पूर्वाधार थपिने दाबी गरे । 

गाउँकै सिरान र घना जङ्गल आसपासमा रहेको झाँक्रीपानीमा दुर्लभ वन्यजन्तु, वनस्पति जडीबुटीको भण्डार रहेकाले पहिचान गरी आम्दानीको स्रोत बनाउने र गाउँ आसपासमा भेटिने वन्यजन्तुको संरक्षणका लागि तालीम दिइने अध्यक्ष रोकाले बताए । जङ्गली जीवजन्तुको संरक्षण गरी जङ्गल सफारीको योजनासमेत बनाइएको उनले जानकारी दिए । विगतमा पर्यटकीयस्थल बनाउन स्थानीयले दर्जनौँ प्रयास गरेपनि पूर्वाधारका कारण सफल नभएको अवस्थामा पूर्वाधारमा गाउँपालिकाले चासो देखाएपछि स्थानीयले जनश्रमदान तथा आन्तरिक स्रोतको पहिचान गरी गाउँमै रहेको पर्यटकीयस्थललाई जिल्लाकै आर्कषक गन्तव्य बनाउन तल्लीन छन् । 

धमाधम पूर्वाधार विस्तार

झाँक्रीपानीमा स्थानीयले पदमार्ग, दृश्य अवलोकन स्थल र एकीकृत सामुदायिक भवनलगायतका पूर्वाधार निर्माण गरिरहेका छन् । प्राचीन समयमा त्यस ठाउँमा झाँक्री बस्ने गरेका र पानीको कुनै स्रोत नहुँदा काकाकुल बनेका झाँक्री खलकलार्ई मूल झाँक्रीले तान्त्रिक विधिद्वारा आफ्ना इष्ट देवतालाई खुशी बनाई पानी निकालेको किंवदन्तीका आधारमा नामकरण गरिएकाले यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा चिन्ने गरिन्छ । पर्यटकको चलहपहल शुरु भएपछि करीब रु २२ लाखको लागतमा दृश्य अवलोकन स्थल बनेको छ भने एकीकृत भवन निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी प्रवेशद्वारदेखि दृश्य अवलोकन स्थल रहेको स्थानसम्म पुग्ने पदमार्गमा सोलिङ गरिएको छ भने वरिपरि तारजाली लगाउने योजना रहेको दृश्य अवलोकन स्थल निर्माण समितिका सचिव कोमल थापाले बतापए । सचिव थापाका अनुसार एकीकृत सामुदायिक भवनका लागि गाउँपालिकाले प्राथमिकता दिएकाले भ्रमणसँगै एकीकृत भवनमा बैठक कक्ष, सामुदायिक वनको कार्यालय, युवा क्लब र आमा समूहको कार्यालय रहने छ । आन्तरिक एवं बाह्य पर्यटकका लागि अत्यन्त रोमाञ्चकारी मानिने झाँक्रीपानीमा स्थानीयले पर्यटन तालीमको तयारी गरेका छन् ।  

धेरै पहिले झाँक्रीको बसोबास रहेको भएपनि अहिले झाँक्रीपानीमा मगरको बस्ती रहेको छ । एक घर बाहुन, एक घर विक र ५७ घर मगर समुदायको गरी जम्मा ५९ घरधुरी यहाँ रहेका छन् । 

तीन तले ‘भ्यूटावर’ 

म्याग्दीको मङ्गला गाउँपालिका–३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीमा दृश्य अवलोकन स्थल ९भ्यूटावर० निर्माण भएको छ । गाउँपालिकाको रु ११ लाख, सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत रु १० लाख र स्थानीयको छ लाख बराबरको श्रमदानमा तीनतले भ्यूटावर निर्माण गरिएको हो ।

जमीनमा पिल्लर राखेर १४ मिटर अग्लो दृश्य अवलोकन स्थलको तीनवटै तलामा रेलिङ राखेर दृश्यअवलोकन गर्न सकिने पूर्वाधार बनाइएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । दृश्य अवलोकन स्थल निर्माणपछि झाँक्रीपानीमा पर्यटकको लागि आकर्षण थपिएको छ । यस वर्ष नै गण्डकी प्रदेश सरकारको घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट रु आठ लाख ९२ हजार लागतमा पदमार्ग निर्माण भएको हो ।

सडक सञ्जालले जोडिएको झाँक्रीपानी क्षेत्रमा जाने पर्यटकको सहजताको लागि सडकलाई फराकिलो बनाउने र स्तरोन्नतिसँगै हरियाली सडकको लागि वृक्षरोपणलाई जोड दिइएको अध्यक्ष रोकाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै