• २०८१ बैशाख १३ बिहीबार

नेपाल-चीन विदेशमन्त्रीस्तरीय बैठकमा मुख्य तीन बुँदामा सहमति

kharibot

काठमाडौँ । नेपाल-चीन विदेशमन्त्रीस्तरीय भेटवार्तामा विभिन्न तीन बुँदामा सहमति भएको छ ।

आज अपराहन्न काठमाडौँको याक एण्ड यति होटलमा भएको भेटवार्तामा चीनले नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।

त्यस्तै चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी थिए ।  

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले भेट्ने कार्यक्रम छ ।

यी मंगलबार आफ्नो तीन दिने भ्रमण पुरा गरि स्वदेश फर्किने छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै