• २०८१ बैशाख १२ बुधबार

बुटवलका अस्पतालमा विरामीको चाप बढ्यो, एउटै बेडमा तीनसम्म राखेर उपचार

kharibot

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार एउटै बेडमा तीन जनाको उपचार गरिँदै । तस्वीर : निरा गौतम

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् । 

दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउनुभएकी मुर्गीया निवासी भीमकला भण्डारी बेड नभएपछि फर्किईन । “अस्पतालमा ठाउँ छैन भन्छन्, सबै ज्वरो र डेङ्गुका बिरामी छन् रे”, ह्विलचियरमा छोरासँग अस्पताल आएकी भण्डारीले भनिन् । बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ । कपिलवस्तुको महाराजगञ्जबाट नवजात शिशुको उपचारका लागि आएकी एक दिनकी सुत्केरीले समेत भुइँमै बसेर शिशुको उपचार गराइरहेकी छन् । 

“राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यही बस्न भनिएको छ”, सुत्केरी आस्मा खातुनले भनिन् । भाइरल ज्वरो र डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन् । ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्ने काम भइरहेको छ ।

एउटै बेडमा तीनसम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । “राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु” डेङ्गुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका बुटवल हाटबजारका रोशन कुमारले भने । ठाउँको अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । “ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन”, अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले दुखेसो गरे ।

अस्पतालमा दैनिक एक हजार १०० बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक २०० को उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण खनालले जानकारी दिए । “अस्पतालमा बिरामीको चाप हुँदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छौ", डा खनालले भने, “अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हुँदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ ।”

भदौको शुरुआतदेखि जिल्लामा डेङ्गु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ । पछिल्लो एक हप्तामा डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ । 

“अस्पतालमा बिरामीको चाप बढी छ, दैनिक ३० देखि ४० भाइरल ज्वरोका बिरामी आउँछन्”, मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल शर्माले भने । बुटवलका अन्य निजी अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीहरुको चाप छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै