• २०८१ बैशाख १३ बिहीबार

नेपालमा पहिलो पटक चल्यो बिजुली बस

kharibot

काठमाडौँ । नेपालमै पहिलो पटक विद्युतीय बस सञ्चालनमा आएको छ । सुन्दर यातायातले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन भएसँगै अब बिजुलीबाट चल्ने सार्वजनिक यातायात शुरु भएको हो । 

रु एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । विद्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ । 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले झण्डै नौ महीनासम्मको निरन्तर सङ्घर्षपछि बस सञ्चालनमा ल्याउन सकिएको बताएका छन् । बस सञ्चालनका लागि विभिन्न चुनौती भए पनि त्यसलाई चिरेर अघि बढ्ने योजना प्रालिको छ । विद्युतीय बससम्बन्धी छुट्टै नीति नहुनु समस्याका रूपमा रहेको उनले औँल्याएका छन् । उनले भने, “हामीले नीति चाँडो बनाउनुप¥यो भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई भनिरहेका छौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने मन्त्रालयको कार्ययोजना रहेको बताए । नेपालमा विद्युत्को उत्पादन बढिरहेकाले सरकारले आन्तरिकरूपमा नै विद्युत्को खपत बढाउँदै जाने लक्ष्य लिएको छ । अरू उद्यमीले पनि विद्युतीय सवारीसाधन भित्र्याएर सरकारको उक्त योजनामा सहयोग पुर्याउनुपर्नेमा उनको जोड छ । उनले भने, “विद्युत्को खपत हामीले यातायात, खाना पकाउने इन्धन लगायतका रूपमा प्रयोग बढाउँदै जान सक्छौँ ।”

सामाजिक अभियन्ता महावीर पुनले विद्युतीय बस आर्थिक र वातावरणीय हिसाबले पनि आवश्यक रहेको बताए । 

सेवा विस्तार गरिँदै

विद्युतीय बस विस्तार गर्दै जाने सुन्दर यातायातले बताएको छ । कम्पनीले अहिले दुई वटा बस शुरुआत गरेकामा थप ११ बस भित्र्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यही वर्षभित्रमा ५० वटा बस भित्र्याउने लक्ष्य रहेको बताइएको छ । ८१ जना शेयर सदस्य रहेको प्रालिले काठमाडौँ उपत्यकासँगै प्रदेश नं १ र ५ मा पनि बस विस्तार गर्दै जाने योजना बनाएको छ । 

बस किन्ने तयारी गर्दै साझा 

तीनै तहको सहकार्यमा साझा यातायातले विद्युतीय बस खरीदको तयारी गरेको छ । तीन सय बस खरीदका लागि दुई महीना पहिले नै नेपाल सरकारले रु तीन अर्बको र प्रदेश ३ ले रु ३० करोडको साझाको शेयर खरीद गरेका थिए । त्यस्तै काठमाडौँ महानगरपालिकाले रु १० करोड बराबरको साझाको शेयर खरीद गरेको थियो । सो रकमबाट बस खरीद गर्दा कस्ता बस, कति क्षमताको किन्नेलगायत विविध प्राविधिक विषयमा अध्ययन भइरहेको साझाले जनाएको छ । आगामी वैशाखसम्ममा थोरै सङ्ख्यामा भए पनि बस भित्र्याउने तयारी भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । 

इतिहास बन्यो ट्रली बस 

काठमाडौँ उपत्यकामा एक दश पहिलेसम्म सञ्चालनमा रहेको ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ । चीन सरकारको सहयोगमा काठमाडौँमा ट्रली बस सञ्चालन भएको थियो ।

नेपालमा २०३२ साल पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो । तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । त्यतिबेला बस काठमाडौँबाट मध्यपुर थिमि हुँदै सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको थियो । २०५२ सालमा दाताको सहयोगमा १० बस थपिएको भए पनि एक दशक पहिले सेवा बन्द हुँदा नौ वटा मात्र चालू अवस्थामा थिए ।

सञ्चिता घिमिरेको रिपोर्ट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै