• २०८१ बैशाख ७ शुक्रबार

प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य

kharibot

काठमाडौं । दक्षिण कोरिया र भारतमा रहेका करिव २१ हजार नेपालीहरुको खाता खोल्नका लागि प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य भएको छ ।

दुई संस्थाबीच भएको सहकार्य अनुसार, बैंकले बचत खाताका सथै नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नु पर्ने छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरअघि बोल्दै शेरचनले बैंकले विदेश गएका नेपालीहरुको 'पोर्टफोलियो' ब्यवस्थानका लागि उनीहरुलाई बैदेशिक रोजगार बचतपत्र खरीद गर्न प्रोत्साहन गरिने जानकारी दिए ।

उनले बीमा बारे सुसुचित गराएर बीमालेख खरीदका लागि प्रोत्साहित गर्नेसमेत बताए । उनले बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारको ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशिलता विकास गर्नेसमेत जानकारी दिए । 

यो परियोजनाका लागि सक्षमले १० करोड रुपैयाँ सहयोग गरेको छ। परियोजना १८ महिनाभित्र पुरा हुनेछ ।

कार्यक्रममा आएका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले रेमिटेन्स भित्र्याउँदा कुल रकमको १.७ प्रतिशत खर्च लाग्ने गरेको जानकारी दिए । यसलाई घटाउँदै औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन सबैले भूमिका खेल्नु पर्ने उनले बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष देबिप्रकाश भट्टचनले सक्षमसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन थप सजिलो भएको बताए । सक्षमका टोली प्रमुख दाहालले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउनका लागि बैंकसँग सहकार्य गरेको बताए ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौता अनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि. को लागि संचालन गरेको कार्यक्रम हो ।

प्रभु बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वित्तीय संस्था हो । यसले स्थापनको कयौं वर्ष पार गरी सकेको र सो को दौरान विभिन्न सात वटा वित्तीय संस्थाहरुलाई समेटेर अघि बढी रहेको छ । यस बैंकले देशको सबै भौगोलिक क्षेत्रहरुलाई समेट्ने गरी विभिन्न स्थानहरुमा १९४ वटा शाखाहरु, २९ वटा विस्तारित काउन्टरहरु र १५२ वटा ए.टि.एम हरुको माध्यमद्वारा १० लाख भन्दा बढी व्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै