प्रदेश २ मा डेंगुले एकको मृत्यु, अहिलेसम्म ७३ सङ्क्रमित

खरीबोट

महोत्तरी । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । 

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । 

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेंगु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात-सात, महोत्तरीमा तीन र धनुषामा  एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् ।  सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको सङ्क्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले  २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक सङ्घसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।

डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका  गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फूल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् । घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ । 

त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फूल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए ।
 

सम्बन्धित समाचार

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय

डेंगुका कारण आपतकालीन अवस्था छैन – स्वास्थ्यमन्त्री यादव

काठमाडौं । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिलतायुक्त अवस्थामा नरहेको

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेंगु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएको छ । बिरामीमध्ये आधा अर्थात् ५००

चितवनमा डेंगु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो


z